१९ माघ, २०८१ शनिबार
02:39:53 AM
२४ साउन, २०७९
१) सेयर बजारमा उच्च अंकको गिरावट, २ अर्ब ८१ करोड बढीको कारोबार
साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार भारि गिरावट आएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.४२ अकंले घटेर २०६०.७३ बिन्दुमा बन्द भएको छ । यस दिन २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार कारोबार भएका कम्पनीमध्ये ९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १७१ वटा कम्पनीको सेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज हिमालयन हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर छ ।
यस दिन सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको कारोबार भएको छ । कम्पनीको १५ करोड १० लाख भन्दा बढीको कारोबार भएको छ । मंगलबार गणपति लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सबैभन्दा बढी घटेको छ ।
२) वाणिज्य बैंकहरूको निष्क्रिय कर्जाको अनुपात सात वर्षयताकै कम
वाणिज्य बैंकहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात घटेको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात सात वर्षयताकै कम देखिएको हो । नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात १.१५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६। ७७ मा वाणिज्य बैंकहरूको यस्तो कर्जा अनुपात १.२५ प्रतिशत रहेको थियो ।
सन् २०२० मा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले कर्जा नवीकरणको गलत अभ्यासले जोखिम बढाइरहेको निष्कर्ष निकालेको थियो । विश्व बैंकको तथ्यांकअनुसार सात वर्षअघि मात्रै निष्क्रिय कर्जाको अनुपात १.७ प्रतिशत थियो । आइएमएफकै तथ्यलाई आधार लिने हो भने त्यसअघि यस्तो अनुपात २ प्रतिशतभन्दा बढी नै देखिन्छ ।
गत आर्थिक वर्षमा बैंकहरूको खुद नाफा ७४ अर्ब ८० करोड रुपैयाँ र वितरणयोग्य नाफा ५९ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। गत आर्थिक बर्षसम्म बैंकहरूको कुल कर्जा ४१ खर्ब ७५ अर्ब रहेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।
बैंकहरुको आर्थिक वर्ष ०७१।७२ मा कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात १.६८ प्रतिशत रहेको थियो त्यस्तै, आर्थिक वर्ष २०७२।७३ मा १.७० प्रतिशत, आर्थिक वर्ष २०७३।७४ मा १.५६ प्रतिशत, आर्थिक वर्ष २०७४।७५ मा १.६६ प्रतिशत र आर्थिक वर्ष २०७५। ७६ मा १.६८ प्रतिशत रहेको थियो ।
३) रुरु जलविद्युतको नाफा ३० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
रुरु जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जलविद्युतले सार्वजनिक गरेको उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा कम्पनीले ९ करोड ३० लाख ९० हजार रुपैयाँ नाफामा कमाएको छ । जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ३०.५२ प्रतिशले बढि हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड १३ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८.२२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १४ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा उक्त रकम बढेर १६ करोड १९ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १३ करोड ८२ लाख ६६ हजार रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २०.७६ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८३ पैसा पुगेको छ ।
४) असमान तलव वृद्धिकाविरूद्ध नासुहरु आन्दोलित
असमान तलव वृद्धिका विरूद्धमा निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। अर्थ मन्त्रालयले बजेट घोषणा विपरीत असमान ढंगले उच्च तहको कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै नायव सुब्बा कर्मचारी आन्दोलित भएका हुन् ।
कर्मचारीको तलबमान असमान ढंगले बढाउन खोजिएको भन्दै मंगलबार काठमाडौं उपत्यकाका नायब सुब्बाले सिंहदरबारभित्र धर्ना दिएका छन् । बजेट वक्तव्यमा भएको व्यवस्थाविपरीत र कर्मचारीभित्रै विभेद हुने गरी तलब बढाउन खोजिएको उनीहरूको भनाइ छ ।
सोमबार असमान तलव वृद्धिका विरूद्धमा निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका बेला अर्थमन्त्री शर्माले कर्मचारीहरुलाई बजेटमा गरिएको व्यवस्थाबमोजिम नै कर्मचारीहरुको तलब लागू हुने आश्वासन दिनुभएको हो ।
सोमबार अर्थमन्त्री र निजामती कर्मचारी युनियनका पदाधिकारीहरुबीचको भेटमा अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने आश्वासन दिनुभएको थियो । ५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’ गठन गरेर मिलाउने प्रतिबद्धता जनाउनुभएको थियो ।
कर्मचारीको विरोधपछि तलबसँग सम्बन्धित विषय आयोग गठन गरेरै टुंग्याउने निर्णयमा अर्थ मन्त्रालय पुगेको छ । प्रस्तावित तलबमान कायम नगर्ने भनेर मन्त्रालयले प्रतिबद्धता जनाए पनि कर्मचारीले विरोध कार्यक्रम जारी राखेका हुन् ।
५) करिब ३ खर्बको पश्चिम सेती र सेती ६ जलविद्युत भारतीय कम्पनीलाई दिने समझदारीपत्र स्वीकृत
काठमाडौं । लगानी बोर्डले १२०० मेगावाटको पश्चिम सेती र सेती नदी ६ जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने भएको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा उक्त आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने समझदारीपत्र (एमओयू) को मस्यौदा स्वीकृत गरेको हो ।
बोर्डका अध्यक्ष देउवाको अध्यक्षतामा लगानी बोर्डको ५२ औँ बैठकले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी ६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको हो ।
यी दुई आयोजना बनाउन २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर अर्थात हालको डलर मूल्यअनुसार करिब ३ खर्ब रुपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । पश्चिम सेतीको मात्र करिब एक खर्ब ५० अर्ब रुपैयाँ अर्थात १ अर्ब ४८ करोड डलर र सेती नदी ६ एक खर्ब रुपैयाँ अर्थात ९२ करोड ७० लाख डलर लाग्ने बोर्डले जनाएको छ ।
६) नक्कली बिल बनाइ भ्रष्टाचार गरेको आरोपमा खनालविरूद्ध मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोट जिल्लाका तत्कालीन एलएपीए कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमल प्रसाद खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गर्दा खनालले भ्रष्टाचार गरेको ठहर गर्दैै अख्तियारले मंगलबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
साविक जिल्ला विकास समितिको कार्यालय कालिकोटबाट आर्थिक बर्ष २०७०।७१ मा सञ्चालन भएका बिभिन्न कार्यक्रमको प्रचारप्रसार कार्यक्रममा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि अख्तियारले खनालमाथि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा आर्थिक वर्ष २०७०।७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गरेको भनी नक्कली भरपाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिने कार्य गरेको खुल्न आएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अनुसन्धानका क्रममा खनालले ३ लाख २६ हजार ४९७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।
७) नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको संरचनाका बारेमा काठमाडौं महानगरपालीकाले अध्ययन गर्ने भएको छ ।
सार्वजनिक जग्गाको संरचना हटाउन दिएको निर्देशनको अवस्था बुझ्न मंगलबार अस्पताल पुग्नुभएका महानगरका मेयर बालेन्द्र शाहले दुई पक्षको प्राविधिक राखेर अध्ययन समिति बनाउने बताउनुभएको हो ।
मेयर शाह अस्पताल पुग्दा अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले अस्पतालले कानून अनुसार जग्गा भाडामा लिएको र अक्सिजनसहितका सामग्री भण्डारण गरिएको बताउनुभएको थियो । त्यसपछि मेयर शाहले अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय गर्ने बताउदै फर्कनुभएको थियो ।
अस्पतालका अध्यक्ष सिंहले आफुहरुले सार्वजनिक जग्गा नमिचेको र महानगरले कुरै नबुझी भवन भत्काउन २४ घण्टे अल्टिमेटम दिएको बताउनुभयो । यसअघि काठमाडौं महानगरपालिकाका साहले अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन दिनुभएको थियो । अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरले बताउदै आएको छ ।
८) राष्ट्र बैंकले फेरि आफैं खरिद गर्यो ट्रेजरी बिल
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफैंले जारी गरेको ट्रेजरी बिल आफैले खरिद गरेको छ । राष्ट्र बैंकले हिजो (साउन २३ गते सोमबार) ९१ दिने ७ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल गरेको थियो।
उक्त ट्रेजरी बिल खरिदको लागि २७ बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ८१ करोडको लागि बोलकबोल पेश गरेका थिए । तर, राष्ट्र बैंकले जम्मा ५९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बैंकहरुलाई दिएर ६ अर्ब ५१ करोड आफैंले खरिद गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बोलकबोलमा उच्च ब्याजदर माग गरेपछि राष्ट्र बैंक आफैँले ट्रेजरी बिल खरिद गरेको हो । राष्ट्र बैंकले सोमबारको ट्रेजरी बिलको डिस्काउन्ट रेट न्यूनतम १०.४७४९ प्रतिशत र अधिकतम १०.५०९० तथा औसत १०.४७७९ प्रतिशतमा स्वीकार गरेको छ ।
यसअघि राष्ट्र बैंकले साउन १७ गते ९१ दिने अवधिको ५ अर्ब १० को ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएको थियो । सो समयमा पनि राष्ट्र बैंकले १२ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बैंकहरुलाई दिएर ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल राष्ट्र बैंक आफैंले खरिद गरेको थियो । सोही दिन १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी विल नविकरणको लागि बोलकबोलमा ल्याएकोमा १० करोड मात्रै बैंकहरुलाई दिएर ४ अर्ब ९० करोड राष्ट्र बैंकले नै खरिद गरेको थियो । ब्याजदर बढ्न नदिन राष्ट्र बैकले आफैँले ट्रेजरी बिल खरिद गरिएको जनाइएको छ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
९) सरकारी कर्मचारीको तलबमा सरकारले बिभेद गर्नु गलतः सांसद त्रिपाठी
सांसद हृदयेश त्रिपाठीले सरकारी कर्मचारीको तलबमा बिभेद गर्नु गलत भएको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद त्रिपाठीले राजपत्र अनङ्कित कर्मचारी १५ प्रतिशत र राजपत्र अङ्कित कर्मचारीका लागि २४ देखि २६ प्रतिशत तलब वृद्धि गरेर सरकारले बिभेद गरेको बताउनुभएको हो ।
आफुहरुलाई बिभेद गरेको भन्दै आन्दोलनरत कर्मचारीहरुको माग सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद त्रिपाठीले संविधान जारी भएपछि सबैभन्दा पहिला निजामती ऐन जारी हुनुपर्ने बताउँदै समयमै ऐन जारी नभएका कारण पनि निजामती सेवामा केही समस्या हुने गरेको उहाँले बताउनुभयो ।
१०) पेट्रोलियम पदार्थमा ५० प्रतिशतले मूल्यबृद्धि भएपछि देशव्यापी प्रदर्शन
बंगलादेशमा पेट्रोलियम पदार्थमा ५० प्रतिशत बढी मूल्यबृद्धिको देशव्यापी विरोध भएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार यो मूल्यवृद्धि ‘अहिलेसम्मकै उच्च’ हो ।
सरकारले केही दिनअघि पेट्रोल र डिजेलको मूल्यमा ५० प्रतिशत बढी वृद्धि गरेको थियो । आक्रोशित प्रदर्शनकारीहरूले अप्रत्याशित मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बंगलादेशभर इन्धन स्टेसनमा घेरा हालेका छन् ।
मंगलबार शेख हसिना सरकारले पेट्रोलियम पदार्थको मूल्य ५१.७ प्रतिशतले वृद्धि गरेको छ । यो बंगलादेश स्वतन्त्र भएपछि अहिलेसम्मकै इन्धनमा उच्च मूल्यबृद्धि भएको जनाइएको छ ।