२३ बैशाख, २०८१ आइतबार

08:42:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लोप हुँदै रैथाने अन्नबाली, बढी उत्पादन दिने अन्नबालीमा आकर्षण

Nepal Business

२ माघ, २०७८

लोप हुँदै रैथाने अन्नबाली, बढी उत्पादन दिने अन्नबालीमा आकर्षण

पाल्पा,

रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनत अनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पालगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत रैथानेबाली हराउन थालेको छ । जलवायु परिर्वतनले उत्पादनमा कमी आएसँगै किसानको परमपरागत अन्नबाली खेतीमा आकर्षणसमेत घटेको हो । 

रैथाने अन्नबालीको उत्पादन वृद्धि प्रोत्साहनको अभावमा लोप हुने  अवस्थामा पुगेकाले सरकारले विशेष चासोका साथ बीउ संरक्षण गरी उत्पादन वृद्धिमा चासो दिनुपर्ने छ

बगनासकाली गाउँपालिका–८, बगनासकी जेम कुमारी हिताङ्ग अहिले कोदो र फापरखेतीमा व्यस्त हुनुहन्छ । पहिला तीन चार मुरी कोदो र फापर उत्पादन हुने गरेकामा अहिले २०/२५ पाथी मात्र उत्पादन हुन्छ । कोदो, फापरलगायत रैथानेबालीको माग गाउँ तथा सहरी क्षेत्रमा भने बढ्दो छ । 
पहिला निकै मेहनतका साथ उत्पादन गरिने भएकाले कोदो, फापरलगायत बाली प्रशस्त उत्पादन हुँदै आएको थियो । मेहनत गर्ने मानिसको अभाव, जलवायु परिर्वतन र शहरीकरणले गर्दा परम्परागत अन्नबाली लोप हुँदै गएको कृषक हिताङ्ग बताउनुहुन्छ  ।कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन । समुदायका आश्रित व्यक्तिमा काम गर्ने क्षमता छैन । गोरुले जोत्ने खेतबारीमा अहिले ट्र्याटरबाट  खनजोत हुन्छ । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ  । परम्परागतरुपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै  आएका छन् ।
पुराना अन्नबाली फापर, कोदो, जौ, तिल, भटमास, सिलामलगायत अन्नबाली वर्षेनी सङ्कटमा परेको तानसेन नगरपालिका छापकी नरिसरा गाहा बताउनुहुन्छ । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन, बुढापाका पुस्ताका मानिसले मात्र रैथानेबाली कोदो, फापर, गहुँ उत्पादन गरिरहेको उहाँको भनाइ छ । पछिल्ला वर्ष छिटो आम्दानी दिने उन्नत जातका अन्नबालीप्रति किसानले चासो बढाउन थालेका छन् । रैथाने अन्नबालीको उत्पादन वृद्धि प्रोत्साहनको अभावमा लोप हुने  अवस्थामा पुगेकाले सरकारले विशेष चासोका साथ बीउ संरक्षण गरी उत्पादन वृद्धिमा चासो दिनुपर्नेमा स्थानीयवासी  कमल भण्डारी जोड दिनुहुन्छ । 
दश बाह्र वर्षअघिसम्म कोदो र फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनकोे उत्पादनमा कमी भए पनि बजारमा माग भने बढ्दो छ । निकै स्वादिलो परिकारका रुपमा कोदाको रोटी र ढिलोलाई लिइन्छ । रैथाने अन्नबालीको उत्पादन बढाउन सके स्वदेशका ठूला होटल तथा विदेशमा समेत निर्यात गर्न सकिनेमा उहाँ जोड दिनुहुन्छ ।