१९ माघ, २०८१ शनिबार

02:33:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः बजेट घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धिदेखि भारतमै आइफोन १४ को उत्पादनसम्म

Nepal Business

२३ साउन, २०७९

प्रमुख समाचारः बजेट घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धिदेखि भारतमै आइफोन १४ को उत्पादनसम्म

१) बजेट घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुन्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने आश्वासन दिनुभएको छ । असमान तलव वृद्धिका विरूद्धमा निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका बेला अर्थमन्त्री शर्माले कर्मचारीहरुलाई बजेटमा गरिएको व्यवस्थाबमोजिम नै कर्मचारीहरुको तलब लागू हुने आश्वासन दिनुभएको हो ।

सोमबार अर्थमन्त्री र निजामती कर्मचारी युनियनका पदाधिकारीहरुबीच भएको भेटमा उहाँले यस्तो बताउनुभएको हो । ५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’ गठन गरेर मिलाउने प्रतिबद्धता जनाउनुभयो । 

चालु आर्थिक वर्षको बजेटमा सबै राष्ट्र सेवक कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख छ । तर, साउन १ गतेदेखि लागू हुने कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि भएको विवरणसहितको एक दस्तावेज बाहिर आएको छ ।  

सोही दस्तावेजमा असन्तुष्टि जनाउँदै नायबसुब्बा र खरिदारसरहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

देशैभरका नायव सुब्बा कर्मचारीले  भोलि मंगलबार बिदामा बस्ने घोषणा समेत गरेका छन् । नासु र खरिदारका माग सम्बोधन नगरे कर्मचारीहरुले सामूहिक राजीनामा दिन सक्ने युनियनले चेतावनी समेत दिएको छ ।

२) सेयर बजारमा दोहोरो अंकको गिरावट 

साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको सेयर बजार आज सोमबार दोहोरै अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १७.६७ अंकले घटेर नेप्से परिसूचक २१ सय ६.१६ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा आज २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँको कारोबार भएको छ भने ६५ लाख २७ हजार ४१४ कित्ता सेयर किनबेच भएका छन् ।

यस्तै ११ उपसूचक राताम्मे छन् भने २ उपसूचक सामान्य प्रतिशतले बढेका छन् । कम्पनीहरुमा गुँरास लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावर कम्पनीमा सकरात्मक सर्किट ब्रेक लागेको छ भने युनिलिर्भर नेपाल ५.५९ प्रतिशतले बढेको छ ।

३) गत आर्थिक वर्षमा यी बैंकले कमाए १ अर्बदेखि ५ अर्बसम्म नाफा

लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन् । गत शनिबारसम्म २६ वटै वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

अघिल्लो आर्थिक वर्षमा ६० अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका बैंकहरूले गत आर्थिक वर्षमा २३ .२७ प्रतिशतले नाफा बढाएका छन् । यो नाफामध्ये पनि  सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत बर्ष राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी, ग्लोबल आईएमई बैंकले ५ अर्ब २० करोड नाफा कमाएको छ , नबिलले ४ अर्ब ९७ करोड, एनआईसी एसिया बैंकले ४ अर्ब ५२ करोड र नेपाल इन्भेष्टमेन्टले ४ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएका छन् ।

त्यस्तै, बैंक अफ काठमाडौंले १ अर्ब ८१ करोड, सिभिल बैंकले १ अर्ब ३८ करोड, लक्ष्मी बैंकले १ अर्ब ६० करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ६३ करोड र सेञ्चुरी कमर्सियल बैंकले १ अर्ब ३५ करोड नाफा कमाएका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सेञ्चुरी बैकको नाफा १६२ र सिभिलको नाफा ११५ प्रतिशतले बढेको छ । कृषि विकास बैंकको नाफा २६ प्रतिशत , हिमालयन बैंकको नाफा १७ प्रतिशत र सानिमा बैंकको नाफा १ प्रतिशतले घटेको छ ।
 

४) २० दिनमा ९५ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप

साउन महिनाको २० दिनमा वाणिज्य बैंकहरुको  कूल निक्षेप ९५ अर्ब रुपियाँले घटेको छ ।  नेपाल बैंकर्स संघ (एनबीए) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन २० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ९५ अर्ब रुपियाँले घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित रहेको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो।

वाणिज्य बैंकहरुको निक्षेप साउनको पहिलो साता ६३ अर्ब रुपैयाँ, दोस्रो साता २८ अर्ब रुपैयाँ र तेस्रो साता ४ अर्ब रुपैयाँले घटेको एनबीएले जनाएको छ। साउन लागेता वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ९ अर्ब रुपैयाँले घटेको छ।

योसँगै साउन २० गतेसम्म बैंकहरुको कुल कर्जा लगानी घटेर ४१ खर्ब ६६ अर्ब रुपैयाँमा पुगेको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो। यो अवधिमा वाणिज्य बैंकहरुको सीडी रेसियो ८७.६९ प्रतिशत रहेको छ।

५) ७ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ७ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि सो रकम बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल कार्तिक २२ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज (साउन २३ गते, सोमबार) दिउँसो ३ बजे बोलकबोल भएर भोलि (साउन २४ गते, मंगलबार) बिक्री हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

६) ३ इन्जिनियरसहित ५ जना विरुद्द भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका तत्कालिन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, लेखा अधिकृतसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सोमबार आयोगले उनीहरु विरुद्ध गैर कानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो । 

भ्रष्टाचार गर्नेमा रौतहटका तत्कालिन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, इन्जिनियर राम किशोर साह, सव–इन्जिनियर प्रेमचन्द्र झा, लेखा अधिकृत महम्मद दाउद र सडक मर्मत तथा ग्राभेल निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष राज कुमार महतो रहेका छन् । 

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसूरमा ऐ.ऐ दफा ८ को उपदफा (४) बमोजिम बिगो १६ लाख ५९ हजार ९ सय ७२ रुपैयाँ कायम गरी सोही दफामा उल्लेख भए अनुसार सजाय हुन माग दावी गरिएको आयोगले जनाएको छ ।

७) यी बैंकहरूको निष्क्रिय कर्जा बढ्यो

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म वाणिज्य १३ बैंकहरूको निष्क्रिय कर्जा बढेको छ । नबिल बैंकको निष्क्रिय कर्जा सर्वाधिक प्रतिशत विन्दुले बढेको हो । अघिल्लो वर्ष ०.८४ प्रतिशत रहेको नबिल बैंकको निष्क्रिय कर्जा ०.७० प्रतिशत विन्दुले बढेर १.५४ प्रतिशत पुगेको हो । 

नबिलले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ती गरी असार २७ गते देखि एकिकृत कारोबार सुरु गरिसकेको छ । 

नबिल बैंकसँगै प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक , बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक र सनराइज बैंकको समेत निष्क्रिय कर्जा बढेको हो ।

८) हुण्डी कारोबार गर्ने नुवाकोटका नवराज ढुंगानासहित ४ जना विरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा नुवाकोटका नवराज ढुंगाना, फणिन्द्र प्रसाद ढुंगाना, प्रज्वल ढुंगाना र सुवासजंग पाण्डे विरुद्ध मुद्दा दायर गरेको छ । 

सोमबार विभागले विज्ञप्ती जारी गर्दै उनीहरुलाई अभियुक्त बनाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 

विभागका अनुसार काठमाण्डौंमा विभिन्न पेशा गरीबस्ने फणिन्द्र प्रसाद, नवराज र सुवासजंगसँगको मिलेमतोमा हाल जापानमा रहेका प्रज्वल ढुंगाना समेतले विदेशी मुद्राको अवैध कारोबार गरी अपराध गरेको अनुसन्धानबाट खुलेको छ । 

विशेष सूचनाको आधारमा प्रहरीले नुवाकोट ककनी गाउँपालिका वडा नंम्बर ३ घर भएका नवराज ढुंगानालई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ सहित पक्राउ गरेपछि यो हुण्डी कारोबारबारे जानकारी खुलेको हो । 

जापानबाट हुण्डी कारोबार मार्फत उक्त रकम प्रज्वल ढुंगानाले पठाएको खुलेको हो । उनीहरुले विदेशी विनिमय ऐन २०१९ विपरित कार्य गरेको किटान गरी विभागले मुद्दा दायर गरेको छ ।

निजहरुले गरेको कसुर अनुसारको कारवाही र बरामदित रकम जफत गरी पाउँ भनि मागदावी सहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

९) नारायणगढ–मुग्लिन÷मुग्लिन–पोखरा सडक खण्डको कामलाई तीव्र बनाउन सरकारलाई समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणगढ–मुग्लिन÷मुग्लिन– पोखरा सडक खण्डको स्तरोन्नतिको कामलाई तीव्र बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले राष्ट्रिय गौरव लगाएत अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तरोन्नतिको कार्यमा भइरहेको ढिलासुस्ती तथा न्युन प्रगतिलाई ध्यानमा राखि उक्त सडकखण्ड स्तरोन्नतिको कामलाई तीव्र बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले सडक अतिक्रमण गरि विना स्वीकृति बनाइएका घर तथा सडकमा रहेका विधुत पोलका कारण सडकमा पहिरो झर्दा तत्काल पन्छाउन जटिल देखिएकाले सडक सीमाभित्र रहेका संरक्षा हटाउने आवश्यक व्यवस्था मिलाउन भौतिक पूर्वाधार मन्त्रालय र उर्जा मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले वातावरण मैत्री, प्रविधिमैत्री र गुणस्तरिय निर्माणका लागि विकासको उपयुक्त मोडल अवलम्वन गर्ने कार्य तत्काल अध्ययन गरि कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

१०) एप्पलले आइफोन १४ को उत्पादन भारतमै गर्ने

एप्पलले आफ्नो नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादन भारतमै गर्ने भएको छ । एक रिपोर्ट अनुसार आइफोन १४ को उत्पादन सँगै विश्वभर आपूर्ति पनि भारत र चीनबाट गरिनेछ ।

अहिलेसम्म भारतमा केवल आइफोन ११, आइफोन १२ र आइफोन १३ को उत्पादन भैरहेको छ । आइफोन १४ सँगै भारतमा एप्पलको हाइ इण्ड आइफोन पनि उत्पादन हुने जनाइएको छ । 

उक्त आइफोनहरु चेन्नइस्थित फक्सकन प्लान्टमा उत्पादन हुने गरेका छन् । एप्पलका लागि आइफोन बनाउने फक्सकनले नै पहिलोपटक भारत र चीन दुवै देशबाट आइफोन १४ को आपूर्ति सुरु गर्ने बताइएको छ ।

सेक्योरिटी विश्लेषक मिंग ची कुओलेका अनुसार एप्पलले चीनसँगै भारतबाट पनि पछिल्लो हाइइण्ड फोनको उत्पादन तथा आपूर्ति सुरु गर्नेछ । उहाँले आफ्नो पछिल्लो सर्भेको आधारमा यस्तो जानकारी दिनुभयो । 

एप्पलले सेप्टेम्बरमा आफ्ना आइफोन १४ सिरिजका आइफोन सार्वजनिक गर्दैछ । यसबीचमा आइफोन १४ को मूल्य तथा फिचर्सका बारेमा विभिन्न सूचनाहरु सार्वजनिक भैरहेका छन् ।

आइफोन १४ को मूल्य आइफोन १३ को तुलनामा १०० डलर बढी हुनेछ । अर्थात् आइफोन १४ को सुरुआती मूल्य ८९९ डलर हुनेछ । आइफोन १४ मा ६.१ इन्चको स्क्रिन हुनेछ भने एप्पलको ए१५ बायोनिक प्रोसेसर रहनेछ ।