१९ माघ, २०८१ शनिबार

02:35:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विज्ञहरुको प्रतिवेदन आउनसाथ नदीलाई प्रदुषित गर्ने उद्योगहरुलाई कारवाही गर्ने प्रकिया सुरु हुन्छः मन्त्री यादव

Nepal Business

२३ साउन, २०७९

विज्ञहरुको प्रतिवेदन आउनसाथ नदीलाई प्रदुषित गर्ने उद्योगहरुलाई कारवाही गर्ने प्रकिया सुरु हुन्छः मन्त्री यादव

काठमाण्डौं । वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

दक्षिण एसिया देशहरुमा रहेका नदी तथा समुन्द्रलाई प्लाष्टिक प्रदुषण मूक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज सोमबार आयोजना गरेको सरोकारवाला, परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष वृहत कार्यशालामा बोल्नु हुँदै मन्त्री यादवले नेपाललाई प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न आफु लागि परेको बताउनुभएको हो ।

‘प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्या मध्ये एक हो, यसको समाधान खोज्न हामीले ढीलो गर्नु हुँदैन्’, मन्त्री यादवले भन्नुभयो ।

मन्त्री नियुक्त भए पश्चात छोटो समयमै धेरै कामहरुको सुरुवात गरेको दावी गर्दै उहाँले ४० माइक्रोन भन्दा कम मोटाईको प्लाष्टिकको प्रतिबन्धलाई कडाईका साथ कार्यान्वयन गर्न आफुले निर्देशन दिएको जानकारी दिनुभयो । 

यादवले केही दिन अगाडि मात्रै मन्त्रालयबाट एउटा सूचना जारी गर्दै ४० माइक्रोनभन्दा कम मोटाईको प्लाष्टिक प्रतिबन्धलाई कडाईका साथ लागू गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको थियो ।

त्यसैगरी उहाँले प्लाष्टिकजन्य पुष्पगुच्छा तथा माला आयात, विक्रीवितरण र भण्डारणमा पनि आफूले मन्त्रीस्तरीय निर्णय गर्दै प्रतिबन्ध लगाएको जानकारी दिनुभयो ।

प्रतिबन्धले प्रदूषण न्युनिकरण गर्नुका साथै देशमा प्राकृतिक फूल उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने र व्यापार घाटासमेत कम गर्ने उहाँको विश्वास छ । आगामी भदौ १ गतेदेखि प्लाष्टिक प्रदूषण मुक्त बनाउन थप कामहरु भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी वीरगञ्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदुषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्वपूर्ण कामहरु भइरहेको उहाँले बताउनुभयो । 

‘वीरगञ्जको सिर्सिया नदीलाई प्रदुषणमूक्त बनाउन म लागी परेको छु, मन्त्रालयबाट खटेको एउटा विज्ञहरुको टोलीले त्यहाँ अनुगमन गर्दैछ, अनुगमनको प्रतिवेदन आउनसाथ नदीलाई प्रदुषित गर्ने उद्योगहरुलाई कारवाही गर्ने प्रकिया सुरु हुन्छ’, उहाँले भन्नुभयो ।

 आफूहरुले राष्ट्रियस्तरबाट प्लाष्टिकजन्य फोहर र प्रदूषण कम गर्न निरन्तर काम गरिरहेपनि अन्तराष्ट्रियस्तरको सहयोग बिना त्यो अपर्याप्त हुने उहाँको भनाई थियो ।

‘प्लाष्टिक प्रदूषण मूक्त बनाउन हामी एक्लैले चालेका कदमहरु अपर्याप्त हुन सक्छन । अन्तर्राष्ट्रिय स्तरबाट सहयोगको पनि आवश्यकता छ, हाम्रो अभियानमा सबैको साथ र सहयोग हुनुपर्दछ’, उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव डा. पेम नारायण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा सासोपका महानिर्देशक एमडी मसुमुर रहमान, विश्व वैंकका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।