१९ माघ, २०८१ शनिबार

02:32:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजेट घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुन्छः अर्थमन्त्री शर्मा

२३ साउन, २०७९

 बजेट घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुन्छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने आश्वासन दिनुभएको छ ।  असमान तलव वृद्धिका विरूद्धमा निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका बेला अर्थमन्त्री शर्माले कर्मचारीहरुलाई बजेटमा गरिएको व्यवस्थाबमोजिम नै कर्मचारीहरुको तलब लागू हुने आश्वासन दिनुभएको हो । सोमबार अर्थमन्त्री र निजामती कर्मचारी युनियनका पदाधिकारीहरुबीच भएको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।

५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’ गठन गरेर मिलाउने प्रतिबद्धता जनाउनुभएको हो ।

चालु आर्थिक वर्षको बजेटमा सबै राष्ट्र सेवक कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख छ। तर, साउन १ गतेदेखि लागू हुने कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि भएको विवरणसहितको एक दस्तावेज बाहिर आएको छ।  

सोही दस्तावेजमा असन्तुष्टि जनाउँदै नायबसुब्बा र खरिदारसरहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। देशैभरका नायव सुब्बा कर्मचारीले  भोलि मंगलबार बिदामा बस्ने घोषणा समेत गरेका छन् । नासु र खरिदारका माग सम्बोधन नगरे कर्मचारीहरुले सामूहिक राजीनामा दिन सक्ने युनियनले चेतावनी समेत दिएको छ।