१९ माघ, २०८१ शनिबार

03:30:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजारमा हरियालीदेखि बङ्गलादेशमा ५१.७ प्रतिशतले इन्धनको मूल्य बढ्योसम्म

Nepal Business

२२ साउन, २०७९

प्रमुख समाचारः सेयर बजारमा हरियालीदेखि बङ्गलादेशमा ५१.७ प्रतिशतले इन्धनको मूल्य बढ्योसम्म

१) साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली

साताको पहिलो दिन आइतबार सेयर बजार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)का अनुसार सेयर बजार १०.२७ अंकले बढेर नेप्से परिसूचक २१ सय २३.८२ विन्दुमा बन्द भएको छ ।

सेयर बजार बढ्दा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँको कारोबार भएको छ भने ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच भएका छन् । 

आइतबार १२ वटा उपसूचकमा हरियाली छाएको छ भने लाइफ इन्स्योरेन्स उपसूचक घटेको छ । 

कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थामा सकरात्मक सर्किट ब्रेक लागेको छ भने तेह्रथुम पावर कम्पनी ९.६५ प्रतिशत र उपकार लघुवित्त वित्तीय संस्था ९.१३ प्रतिशतले बढेको छ । 

२) रसुवागढी र तातोपानी नाकाबाट २८ महिनामा ६८ अर्ब २२ करोड बढीको वस्तु नेपाल आयात

पछिल्लो २८ महिनामा रसुवागढी र तातोपानी नाका हुँदै चीनबाट नेपालमा ६८ अर्ब २२ करोडबढीको वस्तुहरु आयात भएको छ । सो अवधिमा रसुवागढी र तातोपानी नाका हुँदै नेपाली वस्तु चीनतर्फ गएको छैन ।

भन्सार विभागले सनर्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २८ महिना (२०७६ चैतदेखि २०७९ असार मसान्तसम्म) मा तातोपानी र रसुवागढी नाकाबाट ६८ अर्ब २२ करोड ५४ लाख ८ हजार रुपैयाँको वस्तु चीनबाट नेपाल आएको छ ।

गत आर्थिक वर्ष २०७८।७९ मा मात्र रसुवागढी र तातोपानी नाकाबाट ४० अर्ब ६५ करोड २६ लाख ६० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । रसुवागढीबाट २६ अर्ब ६२ करोड ८९ लाख ४० हजार रुपैयाँ र तातोपानीबाट १४ अर्ब २ करोड ३७ लाख २० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको विभागले सार्वजनिक गरेको तथ्याङ्क उल्लेख छ ।

आर्थिक वर्ष २०७७। ७८ मा रसुवागढीबाट १७ अर्ब १ करोड ४८ लाख ४९ हजार रुपैयाँ र तातोपानीबाट ५ अर्ब ८४ करोड ९१ लाख ८६ हजार रुपैयाँ गरी २२ अर्ब ८६ करोड ४० लाख ३५ हजार रुपैयाँको वस्तु नेपाल आयात भएको थियो ।

आर्थिक वर्ष २०७६। ७७ को चैत, वैशाख, जेठ र असार महिनामा रसुवागढीबाट ७ करोड ७८ लाख २१ हजार रुपैयाँ र तातोपानीबाट ४ अर्ब ६३ करोड ८ लाख ९२ हजार रुपैयाँ गरी ४ अर्ब ७० करोड ८७ लाख १३ हजार रुपैयाँको वस्तु नेपाल आयात भएको थियो ।

३) विकास बैंकहरुको नाफा २५.९४ प्रतिशतले बढ्यो

विकास बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् उक्त विवरण अनुसार एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको तुलनामा विकास बैंकहरुको नाफा बढि देखिएको छ । 

विकास बैकहरुको नाफा गत आर्थिक वर्षमा २५.९४ प्रतिशतले बढेको छ । सोही अवधिमा वाणिज्य बैंककहरुको नाफा २३.१४ प्रतिशत भएको छ । 

गत आर्थिक वर्षमा विकास बैंकहरुले ६ अर्ब ६२ करोड ७८ रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरुले ५ अर्ब २६ करोड २६ लाख ६३ हजार रुपैयाँ नाफा कमाएका थिए ।

गत आर्थिक वर्षमा देखिएको लगानीयोग्य रकम (तरलता अभाव), बढ्दो ब्याजदर, ब्याजदर बढ्दा वाणिज्य बैंकसँगै ब्याजदरमा गरेका विकास बैंकहरुको नाफामा भने उल्लेख्य सुधार देखिएको छ ।

४) तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन एमालेको माग

नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाउनुभएको छ ।

भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै उहाँले आपत्ति जनाउनुभएको छ ।

मूल्य बढाउने र भाउ घट्दा मूल्य नघटाएर नेपाल आयल निगमप्रति जनताको विश्वास घटाएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयातको जिम्मा दिने तयारी सरकारले गरेको सांसद ज्ञवालीले आरोप लगाउनुभयो ।

५) रेलको भाडा दर कायमका लागि एक हप्ता अघि सूचना जारी गर्नुपर्ने

सरकारले नेपालको संविधान अनुसार बनाएको रेल्वे ऐन राजपत्रमा प्रकाशित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि संसदबाट पास भएको रेल्वे ऐन आइतबार राजपत्रमा प्रकाशित भएको हो ।

उक्त रेल्वे ऐन अनुसार रेल यात्राको भाडा दर कायम गर्दा एक हप्ता अगाडि नै सूचना जारी गरेर मात्र टिकट वा रेलको भाडा दर कायम गर्नुपर्ने छ।

यस्तै रेल चालकको हकमा चालकले मान्यताप्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिई कम्तीमा माध्यमिक तह (दश जोड दुई) उत्तीर्ण वा मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स वा अटोमोवाइल विषयमा कम्तीमा डिप्लोमा तह उत्तीर्ण गरेको योग्यता हुनुपर्ने छ ।

मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चालकको तालिम लिई रेल चलाउन योग्य भएको प्रमाण पत्र प्राप्त गरेको, २५ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको र कम्तीमा तीन बर्ष रेल सहचालकको रुपमा काम गरेको हुनुपर्ने उल्लेख छ ।

ऐन अनुसार उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि शारीरिक वा मानसिक अस्वस्थताको कारण रेल चलाउन योग्य नभएको, आँखाको देख्ने शक्ति कमजोर भई चस्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको, साधारण आवाज सुन्न वा संकेत देख्न र सुन्न नसक्ने अवस्था भएको, रातो, हरियो, पहेलो रंगहरु तुरुन्त छुट्याउन नसक्ने गरी दृष्टिदोष (कलर ब्लाइन्डनेश) भएको व्यक्ति चालक बन्न नसक्ने उल्लेख छ। त्यस्तै रतन्धो भएको, हात वा खुट्टा शक्ति हिन भई काम दिन नसक्ने भएको व्यक्ती समेत चालक बन्न अयोग्य हुनेछ ।

यसैगरी नेपालमा रेल्वेको विकास र विस्तार गर्न तथा सुरक्षित, स्तरीय, नियमित र भरपर्दो रुपमा रेल्वे सेवाको संचालन गर्ने गराउने सम्बन्धमा तत्काल कानुनी व्यवस्था गर्न गठित भएकाले संघीय संसदले यो ऐन बनाएको हो । अबदेखि यही रेल्वे ऐन अनुसार रेल संचालन कार्यलाई निरन्तरता दिनुपर्नेछ ।

६) भदौमा पनि बैंकहरूको ब्याजदर नबढाउने सहमति

भदौ महिनामा पनि बैंकहरूको ब्याजदर नबढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि समीक्षाका लागि बसेको बैंकर्स संघको बैठकमा ब्याजदर नबढाउने सहमति भएको हो ।

मौद्रिक नीतिमा राष्ट्र बैंकले नीतिगत दरहरु (बैंक रेट, पोलिसी रेट, सीआरआर,एसएलआर आदि) बढाएकाले भदौदेखि निक्षेपको ब्याजदर बढ्ने र त्यसले कर्जाको ब्याजदर पनि बढाउने अपेक्षा गरिरहेका बेला बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका हुन् ।

भदौमा पनि वाणिज्य बैंकहरूले एक वर्षे मुद्दती निक्षेपमा अधिकत ११.०३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । तर, एक वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत रहनेछ ।

यसअघि चैत्र, वैशाख, जेठ, असार र साउन महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेको थिएन । फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशतले बढाएका थिए।

यो वर्ष राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा २ प्रतिशत विन्दुले कम ब्याज दिन निर्देशन दिएको छ ।

७) सरकराले कोरोनाको बीमा रकम भुक्तानी गर्न वेवास्ता गरेको मन्त्री भट्टराईको आरोप

नेकपा एमालेका सांसद तथा पूर्व पर्यटन मन्त्री योगेशकुमार भट्टराईले  ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न सरकारले वेवास्ता गरेको आरोप लगाउनुभएको छ । 

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सरकार जनताप्रति उत्तदायि नभएको आरोप लगाउनुभएको हो । 

स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले व्यवसायिक बीमा कार्यक्रम जस्तो बनाएर जनतालाई धोका दिएको बताउनुभयो । 

उहाँका अनुसार स्वास्थ बीमा नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने हो । बीमाको दायरा पनि बढाए १ लाखबाट अब १० लाख बनाउनुपर्ने उहाँले बताउनुभयो। 

८) मनाङमा थपिए ४९ नयाँ उद्योग

हिमाली जिल्ला मनाङमा नयाँ उद्योग थपिने क्रममा छन् । आर्थिक वर्ष २०७८।७९ मा मनाङमा ४९ नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलका अनुसार एक वर्षको अवधिमा जिल्लामा ३१ कृषि तथा वन पैदावरमा आधारित नयाँ उद्योग थपिएका छन् ।

जिल्लामा १७ पर्यटन उद्योग र सेवा मुलक उद्योग एउटा थपिएको उहाँले बताउनुभयो ।

हाल मनाङवासी निजी उद्योग दर्तातर्फ आकर्षित भएका छन् । सो अवधिमा जिल्लामा ३६ जिल्ला निजी उद्योग दर्ता भएका छन् भने साझेदारी उद्योग १३ दर्ता भएका छन्।

जिल्लामा ५३ उद्योगको नवीकरण, पाँच उद्योगको नामसारी, छ उद्योगको पूँजी वृद्धि, तीन उद्योगको नाम परिवर्तन, दुई वटाको लगतकट्टा र छ उद्योगको प्रतिलिपि बनाइएको पौडेलले जानकारी दिनुभयो ।

वाणिज्यतर्फ पाँच नयाँ दर्ता, सात नवीकरण, दुई नामसारी, तीनको पूँजी वृद्धि, एकको नाम परिवर्तन, एकको प्रतिलिपि, एकको लगतकट्टा गरिएको छ ।

आर्थिक वर्ष २०७८।७९ मा जिल्लामा उद्योगतर्फ कूल ४ सय ८५ र वाणिज्यतर्फ कूल ९३ सञ्चालनमा रहेको घरेलु कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७।७८ मा उद्योगतर्फ कूल ४ सय ३६ र वाणिज्यतर्फ कूल ८८ सञ्चालनमा रहेका थिए ।

घरेलु कार्यालयले आर्थिक वर्ष २०७८।७९ मा उद्योगतर्फ रु ३ लाख ८ हजार १ सय ५० राजश्व सङ्कलन गरेको छ ।

त्यस्तै सोही अवधिमा वाणिज्यतर्फ रु १९ हजार ८ सय २५ राजश्व सङ्कलन गरेको छ । अन्यबाट रु २ हजार ८ सय २० गरी कूल ३ लाख ३० हजार ७ सय ९५ राजश्व सङ्कलन भएको प्रमुख पौडेलले बताउनुभयो ।

९) गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हुम्लाको अदानचुली–१ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं. ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा उनीहरुले २१ लाख ४७ हजार ४९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले आज मुद्दा दायर गरेकामा टकदत्त प्याकुरेल, इन्जिनियर मकरध्वज शाही, असिस्टेण्ट सव–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारी रहेका छन् ।
उनीहरु सबैसँग २१ लाख ४७ हजार ४९२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

१०) बङ्गलादेशमा ५१.७ प्रतिशतले इन्धनको मूल्य बढ्यो 

बङ्गलादेश सरकारले इन्धनको मूल्य ५१.७ प्रतिशतले बढाएको छ । सन् १९७१ मा देश स्वतन्त्र भएपछि पहिलोपटक खुद्रा इन्धनको मूल्यमा उच्च वृद्धि भएको हो ।

बङ्गलादेश सरकारले शुक्रबार राति देखि लागू हुने गरी इन्धनको मूल्य ५१.७ प्रतिशतले बढाएको हो । 

ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले जारी गरेको मूल्य सूचनाअनुसार अहिले एक लिटर अक्टेनको मूल्य ८९ टाकाबाट बढेर टाका पुगेको छ ।

डिजेल र मट्टितेलको मूल्य पनि ४२.५ प्रतिशतले बढाएर प्रतिलिटर ११४ टाका कायम भएको छ  भने पेट्रोलको मूल्य ४४ टाकाले बढेर १३० पुगेको छ ।