९ मंसिर, २०८१ आइतबार
03:54:37 PM
२२ साउन, २०७९
काठमाण्डौं । प्रमुख प्रतिपक्षी दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाभियोग प्रस्ताव नियतबस लम्वाईएको आरोप लगाएका छन् भने सत्तापक्षका सांसदहरुले महाभियोग प्रस्तावको बचाउ गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा महाभियोग प्रस्तावमाथिको छलफलमा भाग लिदै एमालेका सांसद भीम रावलले देश निर्वाचनमा जान लागेको बेला समयमा नै महाभियोगको प्रस्ताव अघि बढ्न नसकेको बताउनुभयो ।
उहाँले प्रधानन्यायाधीशमाथिको छानविन समितिको औचित्यमाथि पनि प्रश्न उठाउनुभयो । उहाँले देशको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा विकृतिको थुप्रो लाग्नु देशका लागि राम्रो नभएको जिकिर गर्नुभयो ।
त्यस्तै एमालेका अर्का सांसद महेश बस्नेतले महाभियोगलाई लम्वाउनका लागि धेरै पनि सदनमा छलफल गर्न खोजिएको आरोप लगाउनुभयो । उहाँले न्यायलयलाई धज्जी उडाउने काम कार्यपालीकाले गर्नु गम्भीर बिषय भएको बताउनुभयो ।
त्यस्तै एमालेका अर्का सांसद खगराज अधिकारीले गठबन्धनले अदालतलाई कार्यपालिकाको नियन्त्रणमा राख्ने गरि महाभियोग प्रस्ताव ल्याएको जिकिर गर्नुभयो ।
बैठकमा कांग्रेसका सांसद मीन विश्वकर्माले प्रधानन्यायाधीशले आफ्नो पद अनुसारको काम गर्न नसकेको, बिचौलियाको प्रयोग गरेर फैसलालाई प्रभावमा पार्न खोजेका कारण महाभियोग ल्याउनुपरेको बताउनुभयो ।
त्यस्तै कांग्रेसका अर्का सांसद डिला संग्रौलाले नैतिक बिचलन र कार्यक्षमताका कमी भएको व्यक्ति न्यायपालिकामा बस्न नमिल्ने भएकाले महाभियोगलाई अघि बढाइएको जिकिर गर्नुभयो ।
त्यस्तै अन्य सत्तापक्षका सांसदहरुले न्यायालयलाई भ्रष्टाचारको अखडा बन्न नदिन महाभियोग ल्याउनुपरेको धारणा राखेका थिए ।
गत फागुन १ गते कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।