१९ माघ, २०८१ शनिबार

03:57:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रेल्वे ऐन राजपत्रमा प्रकाशित, भाडा दर कायमका लागि एक हप्ता अघि सूचना जारी गर्नुपर्ने (पूर्णपाठसहित)

Nepal Business

२२ साउन, २०७९

रेल्वे ऐन राजपत्रमा प्रकाशित, भाडा दर कायमका लागि एक हप्ता अघि सूचना जारी गर्नुपर्ने (पूर्णपाठसहित)

काठमाण्डौं । सरकारले नेपालको संविधान अनुसार बनाएको रेल्वे ऐन राजपत्रमा प्रकाशित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि संसदबाट पास भएको रेल्वे ऐन आइतबार राजपत्रमा प्रकाशित भएको हो ।

उक्त रेल्वे ऐन अनुसार रेल यात्राको भाडा दर कायम गर्दा एक हप्ता अगाडि नै सूचना जारी गरेर मात्र टिकट वा रेलको भाडा दर कायम गर्नुपर्ने छ। 

यस्तै रेल चालकको हकमा चालकले मान्यताप्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिई कम्तीमा माध्यमिक तह (दश जोड दुई) उत्तीर्ण वा मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स वा अटोमोवाइल विषयमा कम्तीमा डिप्लोमा तह उत्तीर्ण गरेको योग्यता हुनुपर्ने छ ।

मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चालकको तालिम लिई रेल चलाउन योग्य भएको प्रमाण पत्र प्राप्त गरेको, २५ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको र कम्तीमा तीन बर्ष रेल सहचालकको रुपमा काम गरेको हुनुपर्ने उल्लेख छ ।

ऐन अनुसार उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि शारीरिक वा मानसिक अस्वस्थताको कारण रेल चलाउन योग्य नभएको, आँखाको देख्ने शक्ति कमजोर भई चस्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको, साधारण आवाज सुन्न वा संकेत देख्न र सुन्न नसक्ने अवस्था भएको, रातो, हरियो, पहेलो रंगहरु तुरुन्त छुट्याउन नसक्ने गरी दृष्टिदोष (कलर ब्लाइन्डनेश) भएको व्यक्ति चालक बन्न नसक्ने उल्लेख छ। त्यस्तै रतन्धो भएको, हात वा खुट्टा शक्ति हिन भई काम दिन नसक्ने भएको व्यक्ती समेत चालक बन्न अयोग्य हुनेछ ।

यसैगरी नेपालमा रेल्वेको विकास र विस्तार गर्न तथा सुरक्षित, स्तरीय, नियमित र भरपर्दो रुपमा रेल्वे सेवाको संचालन गर्ने गराउने सम्बन्धमा तत्काल कानुनी व्यवस्था गर्न गठित भएकाले संघीय संसदले यो ऐन बनाएको हो । अबदेखि यही रेल्वे ऐन अनुसार रेल संचालन कार्यलाई निरन्तरता दिनुपर्नेछ ।