१९ माघ, २०८१ शनिबार

03:40:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजार राताम्मेदेखि बढ्यो भारतमा रिपोको ब्याजदरसम्म

Nepal Business

२० साउन, २०७९

प्रमुख समाचारः सेयर बजार राताम्मेदेखि बढ्यो भारतमा रिपोको ब्याजदरसम्म

१) सेयर बजार राताम्मे

यस साताको कारोबारको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्स चेञ्ज (नेप्से)का अनुसार शुक्रबार सेयर बजार ३४.८५ अंकले घटेर नेप्से परिसूचक २१ सय १३.३० विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा २ अर्ब ६२ करोड ६१ लख ५४ हजार ९४८ रुपैयाँको कारोबार भएको छ भने ६४ लाख १६ हजार ६२९ सेयर कित्ता किनबेच भएका छन् । 

आज म्युचल फण्ड बाहेक १२ उपसूचकहरु राताम्मे छन् । कम्पनीहरुमा जोशी हाइड्रोपावर कम्पनी ५.९१ प्रतिशत, ग्लोबल आइएमई सम्मुनत ३.९४ प्रतिशत र उपकार लघुवित्त वित्तीय संस्था ३.१४ प्रतिशतले बढेका छन् । 

२) त्काल ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । नेपाल बैंकर्स एसोसिएन (एनबीए) को शुक्रबार बसेको बैठकले साउनका लागि यसअघि तोकिएको ब्याजदरलाई नै यथावत राख्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउनुपर्ने सन्देश दिएपनि बैंकहरुले तत्काल ब्याजदर नबढाउने निर्णय गरेका हुन् ।

अहिलेलाई ब्याजदर नबढाउने सहमति भएको छ तर भदौ महिनाको ब्याजदरका बिषयमा भने अहिले कुनै निर्णय नभएको एनबीएका अध्यक्ष अनिलकुमार उपाध्यायले बताउनुभयो । उहाँले बैठकमा अहिले चालु महिनामा बैंकको ब्याजदर नबढाउने सहमति भएको छ तर भदौ महिनाका लागि के गर्ने भन्ने बिषयमा अहिले कुनै निर्णय भइनसकेको जनाउनुभएको छ ।

३) ३ लाख ग्राहक पुर्याउने र कारोबार संख्या ६ लाख पुर्याउने नियम हटेसँगै २७ वटा पीएसपीहरु दर्ता

गत वर्षको मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (पीएसपी)को रुपमा अनुमति पाएका संस्थाले २०७८ असार मसान्तसम्ममा कम्तिमा ३ लाख ग्राहक नपुर्याएमा र मासिक औषत कारोबार संख्या कम्तिमा ६ लाख नपुगेमा त्यस्ता संस्थाको अनुमति खारेज गर्न गर्ने नीति ल्याएको थियो ।

उक्त नीति आएसँगै सुस्ताएर बसेका भुक्तानी सेवा प्रदायकहरुले मौद्रिक नीतिले तोकेको नम्बर पुर्याउन लागेका थिए । उनीहरुले आफ्नो एपको डाउनलोड बढाउन र कारबोरबा वृद्धि गर्न विभिन्न क्याम्पिएन शुरु गरेका थिए ।

भुक्तानी सेवा प्रदायक सञ्चालक एक व्यक्तिका अनुसार हरेक डाउनलोडमा रकम नै उपलब्ध गराउर डाउनलोड वृद्धि गरेका छन् । एपको डाउन लोड र वार्षिक ६ लाख कारोबार संख्या पुर्याउन पुगेसम्मको बल लगाएका केही भुक्तानी प्रदायकलाई भने चालु आर्थिक वर्षको मौद्रिक नीतिले भने रातह दिएको छ ।

तर यस वर्षको मौद्रिक नीतिले भने गत वर्षको नियमलाई हटाएको छ । राष्ट्र बैंकका अनुसार नेपालमा हाल २७ वटा भुक्तानी सेवा प्रदायक (पीएसपी)हरु दर्ता भएका छन् । दर्ता भएका सबै पीएपीहरु सञ्चालनमा आइसकेका छन् ।

४) बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको सेवा सुविधालाई सम्बोधन गरेर मात्र मर्जर प्रक्रिया अगाडि बढाउनु पर्छः फियुन

नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुन)ले बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा लगायतका विषयमा सम्बोधन नभई मर्जर प्रक्रिया अगाडि बढाउन नहुने बताएको छ। 

शुक्रबार संघले संस्थामा कार्यरत कर्मचारीहरुको पद, तह र सेवासुविधाको समायोजन लगायत जनशक्ति ब्यवस्थापनका सम्पुर्ण खाका पेश गरे पश्चात मात्र सैद्धान्तिक स्वीकृति दिई मर्जर तथा प्राप्ति प्रक्रियालाई अगाडि बढाउन आग्रह गर्दै बीमा समितिका अध्यक्षलाई पत्राचार गरेको हो । 

हाल बीमा समितिले सैद्धान्तिक सहमति दिएको पत्रमा एक लाइनमा मात्र ‘कर्मचारीहरुको खाइपाई आएको तलब सुबिधा नघट्ने गरि ब्यवस्थापन गरिने छ’ भन्ने उल्लेख छ । तर यो  शब्दले बर्षौँदेखि कार्यरत संस्थाका कर्मचारीहरुको उचित ब्यवस्थापन होला भन्ने कुरामा विश्वस्त हुन नसकिने संघले जनाएको छ । संघले यस बारे विभिन्न ४ बुंदे माग आगाडी सारेको छ  ।

बीमा क्षेत्रलाई सवल, सक्षम, पारदर्शी, विश्वसनीय, व्यवसायिक र पूर्ण प्रतिस्पर्धी बनाई यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको सर्वोपरी हित चिताई उनीहरुको सेवाको सुरक्षा र सेवाशर्तको रक्षाको लागि स्पष्ट निर्देशन जारी गर्नको लागि समितिका अध्यक्षलाई संघले आग्रह गरेको छ।

५) राजस्व छलीको आरोपमा दुई जना विरुद्द मुद्दा दायर 

राजस्व चुहावटको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलबाट रुपन्देही स्थायी ठेगाना भएका साझा रेष्टुरेन्टका प्रोपाइटर प्रकाश यादव र सोही ठाउँका विष्णु यादव विरुद्ध मुद्दा दायर गरिएका राजस्व अनुसन्धान विभागले जानकारी दिएको हो । 

उनीहरूले आयकर तर्फ ५१ लाख ४१ हजार ९०२ रुपैयाँ र मूल्य अभिवृद्धि कर तर्फको ५६ लाख ९४ हजार ६२१ रुपैयाँ गरी एक करोड आठ लाख ३६ हजार पाँच सय २३ रुपैयाँ राजस्व छली गरेको विभागले जनाएको छ ।

उक्त रकम बराबरको शत प्रतिशत बिगो माग दाबीसहित उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरिएको हो । प्रकाश यादव र विष्णु यादवले आफ्नो फर्मका सम्पूर्ण कारोबार अनुसारको विवरण पेस नगरी नियमानुसार मूल्य अभिवृद्धि करमा दर्ता भई कारोबार गर्नु पर्नेमा सो नगरेको पाइएको विभागले जनाएको छ ।

६) सुर्य लाइफ इन्स्योरेन्स ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने

सूर्या लाइफ इन्स्योरेन्सको विशेष साधारणसभाले ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने समितिको निर्णयलाई स्वीकृत गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार कम्पनीको विशेष साधारणसभाले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको हो । 

सोही निर्णयको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, सेयर कारोवार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको सञ्चालक समितिको निर्णयको अनुमोदन गर्ने निर्णय समेत कम्पनीले गरेको छ ।

कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य गर्नका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने गरी सञ्चालक समितिबाट भएको निर्णय पनि साधरणसभाले अनुमोदन गरेको छ ।

साधरणसभाले कम्पनी एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यकता अनुसार बीमांकीय मूल्यांकनका लागि परामर्शदाता, मूल्यांकनकर्ता लगायत कानुनी परामर्शदाता र अन्य विज्ञ नियूक्त गर्ने अख्तियारी सञ्चालक समितिलाई दिएको छ ।

७) सरकारले निक्षेप सुरक्षणको सीमा तीन लाखबाट पाँच लाख पुर्यायो 

सरकारले निक्षेप सुरक्षणको सीमा तीन लाखबाट बृद्धि गरि पाँच लाख पुराउने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जापान सरकारका प्राप्त हुने करिव १४ अर्व ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय पनि गरिएको जानकारी दिनुभयो।

बैठकले मध्य भोटेकोशी प्रसारण लाईन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्ने समिति गठन गर्ने निर्णय गरेको छ । राजपत्राङ्कित विशिष्ट श्रेणीका (सचिव) यादवप्रसाद कोइरालासहित ६ जना अधिकृतको पनि सरुवा गर्ने निर्णय गरेको कार्कीले जानकारी दिनुभयो । 

८) महंगी र भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले हस्ताक्षर अभियान सुरु

महंगी र भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले हस्ताक्षर अभियान सुरु गरेको छ । दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमालेले हस्ताक्षर अभियान सुरु गरेको हो ।

अभियान तीन दिनसम्म चल्ने एमालेले जनाएका छन् । अभियानका क्रममा सवै वडा कमिटीहरुले हस्ताक्षर संकलन गरेका छन् । महंगी र भ्रष्टाचारका कारण नागरिकहरुले दुख पाउनुपरेको भन्दै अभियानमा सहभागिता जनाउन एमालेले आह्वान पनि गरेको छ । 

९) बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौं महानगरपालिका १६ बालाजु बस्ने बागलुङ काठेखोला गाउँपालिका ५ घर भएका ४६ वर्षीय जायश्वर घिमिरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटनको गत असार २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १४ लाख रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाण्डौं महानगरपालिका २ लैनचौंरबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

घिमिरेले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड गोंगबु शाखा कार्यालय काठमाडौं रहेको खाताबाट रकम भुक्तान हुने भनी उक्त पीडितलाई  झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै  अदालतले उक्त फैसला गरेको थियो ।

१०) भारतमा बढ्यो रिपोको ब्याजदर

भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इन्डिया (आरबीआई) ले रिपोको ब्याजदर बढाएको छ। आरबीआईका गभर्नर शक्तिकान्त दासले ४.९० प्रतिशत रहेको रिपोदरलाई बढाएर ५.४० प्रतिशत पुर्याएको जानकारी दिनुभयो । केन्द्रीय बैंकले बैंकलाई तरलता दिनको लागि दिने रकमलाई रिपो भनिन्छ ।

आरबीआई गभर्नर दासले चालु वर्षमा भारतको आर्थिक वृद्धिदर ७.२ प्रतिशत हुने तथा चालु खाता घाटाबाट चिन्ता लिनु नपर्ने बताउनुभयो । रिपोको ब्याजदर ०.५० प्रतिशतले बढाएपछि बैंकबाट ऋण लिएर घर तथा गाडी किन्नेले मासिक रुपमा तिर्नुपर्ने इएमआई बढ्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सहरी क्षेत्रमा मागमा सुधार देखिएको तथा चालु वर्षमा बैंकहरुको कर्जाको वृद्धिदर १४ प्रतिशतले हुने आरबीआईले जनाएको छ ।