१९ माघ, २०८१ शनिबार
03:32:38 AM
२० साउन, २०७९
काठमाण्डौं । राजस्व चुहावटको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलबाट रुपन्देही स्थायी ठेगाना भएका साझा रेष्टुरेन्टका प्रोपाइटर प्रकाश यादव र सोही ठाउँका विष्णु यादव विरुद्ध मुद्दा दायर गरिएका राजस्व अनुसन्धान विभागले जानकारी दिएको हो ।
उनीहरूले आयकर तर्फ ५१ लाख ४१ हजार ९०२ रुपैयाँ र मूल्य अभिवृद्धि कर तर्फको ५६ लाख ९४ हजार ६२१ रुपैयाँ गरी एक करोड आठ लाख ३६ हजार पाँच सय २३ रुपैयाँ राजस्व छली गरेको विभागले जनाएको छ ।
उक्त रकम बराबरको शत प्रतिशत बिगो माग दाबीसहित उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरिएको हो ।
प्रकाश यादव र विष्णु यादवले आफ्नो फर्मका सम्पूर्ण कारोबार अनुसारको विवरण पेस नगरी नियमानुसार मूल्य अभिवृद्धि करमा दर्ता भई कारोबार गर्नु पर्नेमा सो नगरेको पाइएको विभागले जनाएको छ ।
विभागका अनुसार मूल्य अभिवृद्धि कर दाखिला गर्नुपर्नेमा सो नगरी कारोबार समेत लुकाई कारोबारबाट प्राप्त रकम मध्ये केही रकम आधिकारिक कारोबारमा समावेश गर्ने तर ठूलो परिमाणको विक्रीलाई कारोबार भन्दा बाहिर राखी आयकर तथा मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको उनीहरूलाई आरोप छ ।