१९ माघ, २०८१ शनिबार
03:35:21 AM
१९ साउन, २०७९
१) दोहोरो अंकले घट्यो सेयर बजार
साताको पाँचौं कारोबारको दिन आज (बिहिबार) सेयर बजार दोहोरो अंकले घटेको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.६१ अकंले घटेर २१४८.१६ बिन्दुमा बन्द भएको छ । यस दिन २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँको कारोबार भएको छ ।
बिहीबार कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १६१ वटा कम्पनीको सेयरमूल्य घटेको छ । यस दिन बलेफी हाइड्रोपार लिमिटेडको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर छ । बिहीबार शिवम् सिमेन्टको सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज २५ करोड २२ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै,यस दिन युनाइटेड इमीमर्दी आरबी हाइड्रोपारको सेयरमूल्यमा सबैभन्दा बढी घटेको भएको छ । यस कम्पनीको सेयरमूल्य ९.५२ प्रतिशत भन्दा बढीले घटेको हो ।
शुक्रबारको कारोबार छिट्टै बन्द हुने भएको छ ।
# शुक्रबारको सेयर कारोबार बन्द हुने
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सहायक प्रबन्धक निरञ्जन फुयाँलले शुक्रबारको सेयर कारोबार छिट्टै बन्द हुने बताउनुभएको हो । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज बिहीबार काठमाडौंमा आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषय अन्तर्क्रिरयामा फुयाँलले नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने तयारी गरेको बताउनुभएको हो ।
यसअघि सेयर कारोबार हप्तामा ५ दिनमात्रै कारोबार हुने गरेको थियो । तर सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयपछि सेयर कारोबार आइतबार बन्द गरी शुक्रबार सञ्चालन भएको छ।
सरकारले पुनः सातामा दुई दिन बिदा दिने निर्णय खारेज गर्दै शनिबारमात्रै सार्वजनिक बिदा दिने निर्णय गर्यो। तर सेयर बजार भने हप्ताको ६ दिन कारोबार हुने गरेको थियो । तर अब शुक्रबारको कारोबार बन्द गर्ने तयारीमा नेप्से रहेको छ ।
२) २ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा
नेपाल राष्ट्र बैंकले २ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । २ वाणिज्य बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेकोले कारबाही गरीएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा स्ट्यान्डर्ड चाटर्ड बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडलाई नगद जरिवाना गरेको छ । राष्ट्र बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा र एनसीसी बैंकलाई ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा जरिवाना तिराएको हो ।
३) नेपालले भारतबाट चिनी तथा गहुँ आयत गर्न पाउने
नेपालले आवश्यक परे जति चिनी तथा गहुँ भारत दिन तयार भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १० गते गहुँ आयातमा सहजीकरण गर्नका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतको उद्योग तथा वाणिज्य मन्त्रालयलाई पत्राचार गरेको थियो ।
सो पत्रचारको जवाफमा भारतले नेपाललाई कति चिनी र गहुँ चाहिन्छ भनि तथ्यांक मागेको छ । नेपालले अब आफूलाई आवश्यक पर्ने परिणामको तथ्यांक भारतलाई बुझाउनु पर्नेछ । गहुँका लागि भने मिति तोक्नुपर्ने छैन भने चिनीका लागि अक्टोबर ३० गतेसम्म कति परिमाणमा चिनी आवश्यक पर्छ खुलाउनु पर्नेछ । यस्तै नेपाली कम्पनीले भारतको कुन स्थानबाट चिनी खरिद गर्ने हो, सोको विवरण समेत खुलाउनु पर्नेछ ।
अब उद्योगीले वाणिज्य मन्त्रालयले तयार गरेको निवेदन भरी बुझाउनु पर्नेछ । यो विवरण वाणिज्य मन्त्रालयले भारतलाई बुझाउनेछ । सोही आधारमा नेपाली उद्योगीले चिनी र गहुँ आयात गर्न पाउनेछन् । मन्त्रालयका अनुसार चिनीका लागि एनेक्स ‘ए’ फारम भर्नुपर्नेछ भने गहुँका लागि एनेक्स ‘बी’ फारम भर्नुपर्नेछ । फारम मन्त्रालयको वेवसाइटमा राखिएको छ। भारतले गत वैशाख ३० बाट गहुँ र चिनी निर्यातमा रोक लगाएको थियो ।
४) २ वर्षका लागि थप १० कम्पनी कालोसूचीमा
समयमा काम सम्पन्न नगर्ने थप १० कम्पनीलाई कालोसूचीमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले थप १० वटा कम्पनीलाई कालोसूचीमा राखेको हो ।
साउन १८ गतेको निर्णय अनुसार आज (साउन १९ गते बिहीबार) देखि लागु हुने गरी अनुगमन कार्यालयले निमार्ण व्यवसायी र आपूर्तिकर्ताहरुलाई १ देखि २ वर्षसम्म कालोसूचीमा राखेको हो । कालोसूचीमा रहेका कम्पनीले राखिएको अबधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ ।
५) पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग राख्दैे विरोध प्रदर्शन
अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग राख्दैे विरोध प्रदर्शन गरेको छ । काठमाण्डौंमा बिहीबार क्रान्तिकारीको केन्द्रीय समितिले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा भारी मात्रामा मूल्य घट्दा पनि नेपाल आयल निगमले मूल्य घटाउन आनाकानी गरेको भन्दै क्रान्तिकारीले नेपाल आयल निगमको कार्यालय अगाडि दबाब मुलक बिरोध प्रदर्शन गरेको हो । आयल निगमले भने भारतबाट मूल्य घटेर आएपनि निगमको घाटा कायमै रहेकोले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने जनाएको छ ।
६) कोरोना बीमाको दाबी भुक्तानी छिटै हुने
अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्करले कोरोना बीमाको दाबी भुक्तानी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा सचिव पुष्करले उक्त जानकारी गराउनुभएको हो । कोरोना बीमाको दाबी भुक्तानी दिनु चुनौति रहेको उहाँको भनाइ छ ।
यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा अर्थमन्त्रालयले अन्तिम चरणमा पुर्याएको सचिव पुष्करले जानकारी दिनुभएको छ । स्रोत साधन सहित निकर्षमा पुगिसकेकाले अब छिटै दाबी भुक्तानी वापतको रकम निकास हुने उहाँले बताउनुभयो ।
कारोना बीमा भुक्तानीको लागि अर्थमन्त्रालयले बीमा समितिसँग विभिन्न मोडालिटीमा छलफल गरेको जानकारी गराउदै उनले त्यस विषयमा छिटै निर्णय हुने बताएका हुन् । बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १५ अर्ब ४२ करोड २३ लाख रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ । त्यस मध्ये ५१ हजार ६८७ वटा दाबी मार्फत ४ अर्ब ९८ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । कुल दाबी रकम मध्ये ६७.७० प्रतिशत अर्थात १० अर्ब ४४ करोड रुपैयाँ बराबरको १ लाख १३ हजार ३९० वटाको भुक्तानी गर्नुपर्ने देखिन्छ ।
७) संघ र प्रदेशको चुनाव मंसिर ४ गते एकै चरणमा गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति जुटाएको थियो ।
८) पुँजी वृद्धि नगर्ने बीमा कम्पनीको कारोबार रोक्का हुने
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले तोकेको समयसीमाभित्र पुँजी वृद्धि नगर्ने कम्पनीको कारोबार रोक्का हुने बताउनुभएको छ ।
राष्ट्रिय बीमा कम्पनीको बुधबार राजधानीमा आयोजित नवौँ वार्षिकोत्सव समारोहमा अध्यक्ष सिलवालले तोकिएको समयसीमाभित्र तोकिएको पुँजी नपुर्याउने सरकारी र निजी क्षेत्रको जुनसुकै कम्पनीलाई पनि कानुनी दायरामा ल्याउने बताउनुभएको हो ।
९) वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि उहाँलाई ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो ।
अधिकारी निलम्बनको विरुद्धमा सर्वोच्च अदालत पुग्नुभएको थियो । अदालतले असार २३ मा अधिकारीमाथि जाँचबुझ वा छानविन गर्नुपर्ने भए निलम्बन नगरी नै गर्न सकिने भएको भन्दै सरकारले गरेको निलम्बन फिर्ता गरेको थियो । त्यसपछि उहाँ काममा फर्किनुभएको थियो ।
१०) सुडानमा खाद्य संकट हुनेः राष्ट्र संघ
सुडानमा खाद्य संकट हुने देखिएको छ । यसका लागि संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको हो । राष्ट संघको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो । सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा छिमेकी देशहरु दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरु आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरु नरहेकाले पनि निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो ।
खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै नै खाद्यान्नको अभाव पर्ने राष्ट्र संघले जनाएको छ । राष्ट्र संघले यसअघि पनि कैयौँ पटकसम्म खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ । खाद्यान्न उत्पादन हुन छोडेको र विदेशी दाताहरुबाट प्राप्त सहयोगले मात्र दैनिक रुपमा चल्ने गरेकोले अवस्था नाजुक बन्दै गएकोले नागरिकहरुमा आन्तरिक रुपमा विस्थापित हुने संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ ।
जुनदेखि सेप्टेम्बरसम्म यहाँको करिब एक चौथाई जनसङ्ख्या खाद्यान्नको सङ्कटमा पर्ने देखिएको र अब त्यो भन्दा पनि बढी हुनसक्ने सो संस्थाले जनाएको छ । हाल सुडानमा आन्तरिक रुपमा विस्थापित भएका बाहेक पनि पाँच लाख ५० हजार जना शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ ।