१९ माघ, २०८१ शनिबार
04:47:28 AM
१८ साउन, २०७९
१) मुम्बई उड्न लागेको जहाजबाट २ जना पक्राउ
मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय कार्यालय अन्तर्गतको विशेष अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा मुम्बई जाने तयारीमा रहेको श्रीमान्– श्रीमतीका रूपमा प्रारम्भिक पहिचान खुलेको उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका सुन व्यवसायी सन्तोष लामिछानेलाई चोरीको आरोप लागेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभयो । प्रहरीको विशेष ब्यूरोले बुधबार दिउँसो विमानस्थलबाट ३८ औं इन्डिया इन्टरनेशनल ज्वेलरी शो २०२२ मा भाग लिनका लागि मुम्बई जान लागेका लामिछानेलाई शंकास्पद भन्दै पक्राउ गरेको थियो ।
बुधबार काठमाडौंबाट १ः१० मा मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो ।
२) सेयर बजारमा ६.७१ अंकको गिरावट
सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ६.७१ अंकले घटेर नेप्सेपरिसूचक २१ सय ८६.७७ विन्दुमा बन्द भएको छ । सेयर बजार घट्दा कारोबार कारोबार भने बढेको छ । आज ४ अर्ब २ करोड ९९ लाख ४ हजार २५१ रुपैयाँको कारोबार भएको छ भने ९५ लाख ४२ हजार ६०७ कित्ता सयेर किनबेच भएका छन् ।
आज ९ वटा उपसूचकहरु घटेका छन् भने ४ वटा बढेका छन् । कम्पनीहरुमा समलिङ पावर कम्पनीमा सकरात्मक सर्किट ब्रेक लागेको छ भने बलेफी हाइड्रोपावर ९.९७ र युनाइटेड आइडीआई आरबी हाइड्रोपावर ८.९६ प्रतिशतले बढेका छन् ।
३) पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न अनेरास्ववियुको माग
पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुले आयल निगममा विरोध प्रदर्शन गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण नेपालमा पनि घटाउनुपर्ने भन्दै अनेरास्ववियु बाग्मती प्रदेश उपत्यका विशेष कमिटीले निगममा प्रदर्शन गरेका हुन् ।
उनीहरुले स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले मूल्य वृद्धि फिर्ता गर्, स्वचालित मूल्य प्रणाली कायम गर लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
अनेरास्ववियु बाग्मती प्रदेश उपत्यका विशेष कमिटीका अध्यक्ष पंकज भण्डारीले पेट्रोलियम पदार्थको मूल्य बढ्दा दैनिक उपभोग्य बस्तु लगाएतको मूल्यबृद्धि भएको हुँदा अहिले पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा पनि घटाउनुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो कमजोरी लुकाउन निगमले सदैव घाटा मात्र देखाउने गरेको आरोप लगाउनुभयो । विद्यार्थीहरुको ध्यानाकर्षण पत्र बुझ्दै निगमका अधिकारीहरुले स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिवद्ध रहेको जनाएका थिए । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य समायोजन नभए कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।
४) राष्ट्र बैंकले खारेज गर्यो लाभांश वितरण सम्बन्धी पुरानो व्यवस्था
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले लाभांश वितरण सम्बन्धी पुरानो व्यवस्था खारेज गरेको छ। मौद्रिक नीतिमा गरिएको ब्यबस्था कार्यन्वयनको लागि राष्ट्र बैंकले आज बुधबार जारी गरेको निर्देशनमा लाभांश वितरण सम्बन्धी पुरानो व्यवस्था खारेज गरेको हो।
इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने तर, यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी नहुने र खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउने व्यबस्था रहेकोमा यसलाई राष्ट्र बैंकले खारेज गरेको छ।
अब बैंक तथा वित्तिय संस्थाहरुले वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश पनि बितरण गर्न सक्ने छन् ।
५) मर्जर गरेर पुस मसान्तसम्म एकीकृत कारोबार गर्ने वाणिज्य बैंकहरुले थप सुविधा पाउने
वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएर पुस मसान्तभित्र एकीकृत कारोवार गरेमा थप सुविधा पाउने भएका छन् । मौद्रिक नीतिमा गरिएको ब्यबस्था कार्यन्वयनको लागि राष्ट्र बैंकले आज बुधबार जारी गरेको निर्देशनमा यस्तो व्यवस्था गरेको हो ।
वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएर पुस मसान्तभित्र एकीकृत कारोबार गरेमा थप एक वर्ष विभिन्न ५ वटा सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।
६) एक वर्षमा वीरगञ्ज भन्सार नाकाबाट एक खर्ब ७७ अर्ब ८८ करोड मूल्यको इन्धन आयात
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले वीरगञ्ज भन्सार नाकाबाट एक खर्ब ७७ अर्ब ८८ करोड ७७ लाख मूल्यको ३२ लाख ९३ हजार ५३८ किलोलिटर इन्धन आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालले ७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत बढी खाना पकाउने एलपी ग्यास आयात गरेको हो ।
आव २०७७/७८ मा सो नाका प्रयोग गरी नेपालका लागि रु ८६ अर्ब तीन करोड ३६ लाख मूल्यको १५ लाख ९१ हजार १३३ किलोलिटर डिजल पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो । सो समीक्षा अवधिको तुलनामा ९१ अर्ब ८५ करोड ४१ लाख रुपैयाँ बढी मूल्याको १७ लाख दुई हजार ४०५ किलो बढी इन्धन आयात भएको हो ।
गत आवमा डिजलको आयात ११ प्रतिशत, पेट्रोलको आयात २५ प्रतिशत, हवाई इन्धनको आयात दुई हजार ४८० प्रतिशतले बढेको छ, भने मट्टितेलको आयात ३६ प्रतिशतले कम भएको छ । इन्धनसँगै वीरगञ्जबाट खाना पकाउने ग्यासको आयातसमेत बढेको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको हो ।
७) जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा लागू
जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा लागू भएको छ । मौद्रिक नीतिमा गरिएको ब्यबस्था कार्यन्वयनको लागि राष्ट्र बैंकले आज बुधबार जारी गरेको निर्देशनमा घरजग्गा धितोबाट पाइने ऋणको सीमा काठमाण्डौं उपत्यकाका लागि ३० प्रतिशत र बाहिरका लागि ४० प्रतिशतको व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
यसअनुसार बैंक तथा वित्तीय संस्थाले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, सेयर धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका व्यक्तिगत प्रयोजनका कर्जाहरु प्रतिग्राहक ५० लाख रुपैयाँसम्म मात्र प्रवाह गर्न सक्नेछन्। यसअघि धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात काठमाण्डौं उपत्यकामा बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशत थियो।
८) दुई सातामै वाणिज्य बैंकबाट बाहिरियो ९१ अर्ब निक्षेप
पछिल्लो दुईसातामा वाणिज्य बैंकबाट ९१ अर्ब निक्षेप बाहिरिएको छ । साउन लागेपछिको दुई सातामै वाणिज्य बैंकबाट ९१ अर्ब निक्षेप बाहिरिएको हो । असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको वाणिज्य बैंकको निक्षेप १३ साउनमा घटेर ४४ खर्ब ५० अर्बमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ ।
निक्षेप लगातार घट्दो ट्रेन्डमा देखिँदा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि घट्दो अवस्थामा देखिएको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहेको कर्जा लगानी १३ साउनमा ४१ खर्ब ६४ अर्बमा झरेको छ ।
साउन लागेपछि कर्जा पनि सामान्य घटेको हो । निक्षेप घटेसँगै बैंकहरुको कर्जा÷निक्षेप अनुपात (सीडी रेसियो) पनि बढेको छ । गत असारमा ८६ प्रतिशतमा झरेको वाणिज्य बैंकहको सीडी रेसियो १३ असारमा ८७.९८ प्रतिशत पुगेको संघले जनाएको छ ।
९) कोरोना संक्रमितको संख्या ९ सय नाघ्यो
पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छ । यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ ।
१०) अमेरिकाले ताइवानको साथ नछोड्ने
अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने बताउनुभएको छ । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति यहाँ आउनुभएकी उहाँले ताइवानी नेताहरूसँग भएको भेटमा ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताउनुभएको हो ।
राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उहाँले विश्वभरि लोकतन्त्रको प्रवद्र्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गर्नुभयो । अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उहाँ उच्च अमेरिकी अधिकारी हुनुहुन्छ ।