२६ बैशाख, २०८१ बुधबार

02:05:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा वीरगञ्ज भन्सार नाकाबाट एक खर्ब ७७ अर्ब ८८ करोड मूल्यको इन्धन आयात

Nepal Business

१८ साउन, २०७९

एक वर्षमा वीरगञ्ज भन्सार नाकाबाट एक खर्ब ७७ अर्ब ८८ करोड मूल्यको इन्धन आयात

वीरगञ्ज । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले वीरगञ्ज भन्सार नाकाबाट एक खर्ब ७७ अर्ब ८८ करोड ७७ लाख मूल्यको ३२ लाख ९३ हजार ५३८ किलोलिटर इन्धन आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालले ७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत बढी खाना पकाउने एलपी ग्यास आयात गरेको हो । 

आव २०७७/७८ मा सो नाका प्रयोग गरी नेपालका लागि रु ८६ अर्ब तीन करोड ३६ लाख मूल्यको १५ लाख ९१ हजार १३३ किलोलिटर डिजल पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो । सो समीक्षा अवधिको तुलनामा ९१ अर्ब ८५ करोड ४१ लाख रुपैयाँ बढी मूल्याको १७ लाख दुई हजार ४०५ किलो बढी इन्धन आयात भएको हो । 

गत आवमा डिजलको आयात ११ प्रतिशत, पेट्रोलको आयात २५ प्रतिशत, हवाई इन्धनको आयात दुई हजार ४८० प्रतिशतले बढेको छ, भने मट्टितेलको आयात ३६ प्रतिशतले कम भएको छ । इन्धनसँगै वीरगञ्जबाट खाना पकाउने ग्यासको आयातसमेत बढेको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको हो । 

आर्थिक वर्ष २०७७÷७८ मा वीरगञ्ज नाकाबाट १९ अर्ब ८१ करोड २८ लाख मूल्यको दुई लाख २९ हजार २१६ मेट्रिक टन ग्यास आयात भएको र गत आवमा रु १५ अर्ब ३८ करोड ४६ लाख बढी अर्थात  ३५ अर्ब १९ करोड ७४ लाख मूल्यको दुई लाख ८४ हजार ८२४  मेट्रिक टन ग्यास आयात भएको छ ।

सो अवधिको तुलनामा ७८ प्रतिशत बढी मूल्यको १० प्रतिशत बढी ग्यास आयात भएको हो । इन्धन तथा खाना पकाउने ग्यासको आयातसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ । 

वीरगन्ज नाकाबाट आयात हुने इन्धनबाट समीक्षा अवधिमा ४६ अर्ब १४ करोड ४० लाख रुपैयाँ राजस्व संकलन गरेको तुलनामा गत आर्थिक वर्षमा ४४ अर्ब दुई करोड २८ लाख रुपैयाँ बढी अर्थात ९० अर्ब १६ करोड ६९ लाख राजस्व संकलन भन्सार कार्यालयले जनाएको छ । 

गत आर्थिक वर्षमा इन्धन आयातबाट संकलित राजस्वमा ९५.४० प्रतिशतले वृिद्ध भएको छ भने वीरगञ्ज नाकाबाट ७० प्रतिशत भन्दा बढी इन्धन र ८५ प्रतिशत भन्दा बढी खाना पकाउने एलपी ग्यास आयात हुने गरेको छ ।