१९ माघ, २०८१ शनिबार

04:37:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख आर्थिक समाचारः सेयर बजारमा झिनो अंकको गिरावटदेखि एलन मस्क निजी विमानस्थल बनाउने तयारीमासम्म

Nepal Business

१७ साउन, २०७९

प्रमुख आर्थिक समाचारः सेयर बजारमा झिनो अंकको गिरावटदेखि एलन मस्क निजी विमानस्थल बनाउने तयारीमासम्म

१) सेयर बजारमा झिनो अंकको गिरावट

सेयर बजार झिनो अंकले ओरालो लागेको छ । सोमबार झिनो अंकले बढेको सेयर बजार मंगलबार भने झिनो अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार २.८१ अंकले घटेर नेप्से परिसूचक २१ सय ९३.४३ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा कारोबार पनि घटेको छ । आज ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ रुपैयाँको कारोबार भएको छ भने ७८ लाख १३ हजार १०२ कित्ता सेयर किनबेच भएका छन् । 
यस्तै ६ उपसमुहहरुमा बढेका छन् भने बाँकी सबै घटेका छन् । कम्पनीहरुमा बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी ९.९९ प्रतिशत, समलिङ पावर कम्पनी ९.९८ प्रतिशत र हिाल दोलखा हाइड्रोपावर ९.९७ प्रतिशतले बढेका छन् । 

२) अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा बदल्ने उदेश्यका साथ बजेट ल्याइएकोछः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा बदल्ने उदेश्यका साथ बजेट ल्याइएको बताउनुभएको छ । मंगलबार ३० औं किसान सहिद दिवस तथा ६९ औं भिमदत्त पन्त स्मृति दिवसका अवसरमा मंगलबार काठमाण्डौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले आन्तरिक उत्पादन बढाउनकै लागि सहुलियतपूर्ण ऋण, किसान पेन्सन लगाएतका योजनाहरु बजेटमार्फत ल्याइएको समेत बताउनु भएको हो ।

आजको राष्ट्रियता भनेको सवल र आत्मनिर्भर अर्थतन्त्र भएको भन्दै उहाँले उत्पादन क्षेत्रमा लाग्न आह्वान गर्नुभयो । उहाँले आत्मनिर्भर हुनका लागि भूमिहिनहरुलाई जमिन उपलव्ध गराउने, पूँजी नहुनेहरुलाई पूँजी उपलव्ध गराउने, औजार नहुनेलाई औजार उपलव्ध गराउदै र श्रमिहरुलाई दक्षता प्रदान गर्नका लागि सरकार प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।

मन्त्री शर्माले देशको अर्थतन्त्रलाई सवलिकरण गर्न सवै पक्षबीच हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा मन्त्री शर्माले किसान सहिद परिवारलाई सम्मान गर्नुभएको थियो । 

३) एक वर्षमा साढे १७ अर्ब रुपैयाँको फलफूल नेपाल भित्रियो

गत एक वर्षमा नेपालमा साढे १७ अर्ब रुपैयाँको फलफूल भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल नेपाल भित्रिएको हो । 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालले ९३ करोड ६० लाख ३६ हजार रुपैयाँ बढीको फलफूल आयात गरेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा नेपालले विभिन्न देशबाट १६ अर्ब ५२ करोड ६२ लाख २० हजार रुपैयाँको फलफूलहरु आयात गरेको थियो । उक्त मूल्यमा गत आर्थिक वर्ष विभिन्न प्रकारका २९ करोड ७८ लाख ८२ हजार ३७ केजी फलफूल नेपाल भित्रिएको विभागले जनाएको छ । 

४) औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको बढाइएको जग्गा भाडा तत्काल फिर्ता गर्न परिसंको आग्रह

नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको बढाइएको जग्गा भाडा तत्काल फिर्ता गर्न आग्रह गरेको छ । परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको परिसंघ टोलीले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू र उद्योग सचिव अर्जन प्रसाद पोखरेललाई भेट गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा फिर्ता गर्न र दीर्घकालिन रुपमा समस्या समाधान गर्न आग्रह गरेको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ मंसिर ५ को बैठकले सरोकारवालाहरूको असहमति हुँदा हुँदै २०७५ श्रावण १ गते देखि लागु हुने गरि अधिकतम ६८७५ सम्म भाडा बृद्धि गर्ने निर्णय गरेको थियो ।

उद्योगीहरूको असहमती तथा विरोधपछि सो निर्णय तत्काल कार्यान्वयन नगर्न र त्यस सम्बन्धमा विस्तृत अध्ययन गर्न तत्कालिन उद्योग मन्त्रीले निर्देशन दिनुभएको थियो । तर २०७९ असर २२ गते बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पुनस् २०७५ श्रावण १ गते देखिकै भाडा असुल गर्ने निर्णय गरेको छ । उत्पादन मुलक उद्योगमा हुने लगानी नै प्रभावित हुने तथा निजी क्षेत्रलाई हतोत्साहित गर्ने गरि भएको यस प्रकारको निर्णय फिर्ता लिन परिसंघले आग्रह गरेको छ।

५) एक वर्षमा ऋण असुली पुनरावेदन न्यायाधीकरणमा परे १६ मुद्दा

गत आर्थिक वर्ष २०७८÷७९ मा ऋण असुली पुनरावेदन न्यायाधीकरणमा १६ वटा मुद्दा दर्ता भएका छन् । एक वर्षको अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ मुद्दा परेका हुन् ।
पुनरावेदन न्यायाधीकरणको तथ्यांक अनुसार जसमध्ये नौं वटा मुद्दा अघिल्लो आवमा फैसला हुन नसकेका मुद्दा रहेका छन् । 

यस्तै यस अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाका १४ करोड ६६ लाख ९५ हजार ५८३ रुपैयाँ बराबरको विगो दावी सहित १७ वटा मुद्दा दर्ता भएका छन् । जसमा वाणिज्य बैंकका मात्र १२ वटा र ४ वटा विकास बैंकका रहेको पुनरावेदन न्यायाधीकरणको तथ्यांकमा उल्लेख छ । 

मुद्दा दर्ता भएका बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकका २ वटा, माछापुच्छ्रे बैंकको २७ करोड १७ लाख रुपैयाँ बराबरको एउटा मुद्दा, प्रभु बैंकको १ करोड ८५ लाख रुपैयाँ बराबरको ४ वटा, ग्लोबल आईएमई बैंकको ४ करोड ७८ लाख ९३ हजार ४६१ रुपैयाँ बराबरको दुई वटा र सिभिल र्बैंकको ७ करोड २९ लाख ५८ हजार रुपैयाँ विगो दावी सहित मुद्दापरेको ऋण असुली पुनरावेदन न्यायाधीकरणले जनाएको छ।एभरेष्ट बैंकका एक वटा र नबिल बैंकको एउटा रहेको छ । 

यस्तै विकास बैंक तर्फ लुम्बिनी विकास बैंकको दुई वटा र महालक्ष्मी विकास बैंकका दुई वटा मुद्दा परेको हुन् । यस अवधिमा महालक्ष्मी विकास बैंकका ४४ लाख २० हजार ३६३ रुपैयाँ विगो दावी सहितको मुद्दा परेको छ ।

६) आफ्नो जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्छुः अध्यक्ष गौतम 

गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताउनुभएको छ । मंगलबार ‘गौतम बिजनेस ग्रुप’ नामको इमेलमार्फत अध्यक्ष गौतमले रकम फिर्ता गर्न नसकेर भागेको नभई अन्य व्यावसायिक कार्यको लागि भारत गएको बताउनुभएको हो । 

१,१४५ जना बचतकर्ताले सहकारी विभागमा संस्थाविरुद्ध ठगीको उजुरी गरेको भोलिपल्ट गौतमको विज्ञप्ति सार्वजनिक भएको हो । सोमबार नै भारतबाट नेपाल फर्किसकेको र सहकारीको समस्या समाधानका लागि सक्रिय रहेको विज्ञप्तीमा उल्लेख छ । 

७) सन् २०२२ को सात महिनामा नेपालमा २ लाख ८२ हजारभन्दा बढि पर्यटक भित्रिए

नेपालमा सात महिनाको अवधिमा दुई लाख ८२ हजार भन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । सुन् २०२२ को जनवरीदेखि जुलाईसम्म विभिन्न देशबाट २ लाख ८२ हजार ६४ जना विदेशी पर्यटकले नेपालमा भ्रमणका लागि भित्रिएका हुन् । 

अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२२ को अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका हुन् । जनवरीदेखि अप्रिलसम्मको अवधिमा विदेशी पर्यटन भित्रिनेको संख्या बढ्दै गएको थियो । तर, अप्रिल पछि भने विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको देखिन्छ ।  

८) एक वर्षमा १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सिफुड आयात 

गत एक वर्षमा नेपालमा १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सिफुड भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार विभिन्न देशबाट १ अर्ब ३४ करोड ६५ लाख ८० हजार रुपैयाँको सिफुड नेपाल भित्रिएको हो । 

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा ४९ लाख ६६ हजार ३३८ केजी सिफुड नेपाल भित्रिएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा नेपालले विभिन्न देशबाट १ अर्ब ६९ करोड ८० लाख ६१ हजार रुपैयाँको सिफुड आयात गरेको थियो । नेपालमा सिफुड भारत, थाइल्याण्ड, डेनमार्क, भियतनाम, ब्रुनाई, चीन, नर्वे, मलेसिया, सिंगापुर, क्यानडा, कतार लगायतका देशबाट आउने गरेको छ ।

९) आयातित तरकारी तथा फलफूलमा जीवनाशक विषादीको प्रयोग

नेपालमा आयातित तरकारी तथा फलफूलमा जीवनाशक विषादीको प्रयोग हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै कार्तिक १ गतेदेखि असार मसान्तसम्म ५६ हजार ३ सय ३८ वटा आयातित फलफूल तथा तरकारीका नमूनाहरुको परिक्षण गर्दा जुनार, केरा, चुकन्दर तथा आलू लगाएतका ५१ वटा नमूनामा खान अयोग्य हुने जीवनाशक विषादीको प्रयोग हुने गरेको पाइएको जनाएको हो ।

कृषि मन्त्रालयको निर्देशनमा कार्तिक १ गतेबाटै बिभागका ७ वटा कार्यालयले द्रुत गतिमा परिक्षणको काम थालेको समेत बिभागले जनाएको छ । आर्थिक बर्ष २०७८÷७९ मा भएका कामहरुको बारेमा जानकारी दिदै बिभागले ४ हजार १ सय २७ खाद्य नमुनाहरुको परिक्षण गर्दा २ सय २४ वटा नमूना खान अयोग्य रहेको पाइएको समेत जनाएको छ।

सोहि अवधिमा दाना, होटल, राजमार्गका रेष्टुरेन्ट लगाएतको ८ हजार ८ सय ६६ पटक अनुगमन गरिएको विभागले जानकारी दिएको छ । सोहि अवधिमा नै १२ वटा अन्तराष्ट्रिय सीममा अवस्थीत खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुमा ५१ हजार ७ सय ६७ वटा खाद्य पदार्थका नमूनाहरु परिक्षण गरिएको बिभागका महानिर्देशक डा.मतिना जोशी वैद्यले जानकारी दिनुभयो।

उहाँले गण्डकी प्रदेशमा खाद्य परिक्षण केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । उहाले फलफूलमा विषादी प्रयोगको गुनासो बढेपछि सवै प्रदेशमा एकै पटक अनुगमन गरिएको र सो क्रममा फलफूल पकाउन प्रयोग हुने रसायन प्रयोग गरेको पाइएको जानकारी दिनुभयो । विभागले संक्रामक रोग नियन्त्रण लक्षित बिशेष अनुगमनलाई पनि तीव्रता दिएको जनाएको छ । 

१०) विश्वका धनी व्यक्ति एलन मस्क निजी विमानस्थल बनाउने तयारीमा

टेस्ला र स्पेस एक्सका संस्थापक एलन मस्कले अस्टिनमा निजी विमानस्थल निर्माण गर्ने योजनामा हुनुहुन्छ । टेक्सासमा विभिन्न सुविधा सम्पन्न पूर्वाधार विस्तार गर्दै आउनुभएका उहाँले पछिल्लो समय विमानस्थल निर्माणको योजना अगाडि बढाउनुभएको हो। 

उहाँले टेक्सासस्थित बास्ट्रोपमा आफ्नै निजी विमानस्थल निर्माण गर्ने योजना बनाउनुभएको हो । उहाँले तयार गर्ने विमानस्थलमा कर्पोरेट जेट प्रयोग गरिने जनाइएको छ । विमानस्थलमा दुईवटा गल्फस्ट्रिम जि –६५० इआर, ड्याजल्ट फाल्कन –९००बी लगायत सिरीजका जहाज उडान अवतरण गर्न सकिनेछ।

विमानस्थल निर्माण सुरु हुनु अगाडि अमेरिकी वातावारण सुरक्षा समिती र उड्डयन प्रशासन संगठनको अनुमति लिन बाँकी नै रहेको जनाइएको छ।