१९ माघ, २०८१ शनिबार

04:35:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख आर्थिक समाचारः सेयर बजारमा झिनो अंकको सुधारदेखि बेलायती प्रिन्सले बिन लादेनको परिवारबाट १ मिलियन पाउन्ड दान लिएको खुलासासम्म

Nepal Business

१६ साउन, २०७९

प्रमुख आर्थिक समाचारः सेयर बजारमा झिनो अंकको सुधारदेखि बेलायती प्रिन्सले बिन लादेनको परिवारबाट १ मिलियन पाउन्ड दान लिएको खुलासासम्म

१) सेयर बजार झिनो अंकले बढ्दा ४ अर्बको कारोबार

साताको दोस्रो दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १.१५ अंकले बढेर नेप्से परिसूचक २१ सय ९६.२५ विन्दुमा बन्द भएको छ । 
प्रि–ओपनिङमा सेयर बजार १०.६६ अंकले बढेर नेप्से परिसूचक २२ सय ५ विन्दुमा पुगेको थियो । 

सेयर बजार झिना अंकले बढ्दा कारोबार भने उच्च भएको छ । आज ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँको कारोबार भएको छ । भने १ करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयर किनबेच भएका छन् । 

आज ८ वटा उपसमुहहरु घटेका छन् भने बाँकी बढेका छन् कम्पनीहरुमा बुलवल पावर कम्पनी ६.९५ प्रतिशत, सिटिजन्स म्युचल फण्ड ६.४५ प्रतिशत र गुडवील फाइनान्स कम्पनी ६.२३ प्रतिशतले बढेका छन् । 

२) फेरी भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतले इन्धनको मूल्य पुनः घटाएर पठाएको छ । सोमबार भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटाएर पठाएको हो । 
यसभन्दा अघि पनि भारतले इन्धनको मूल्य घटाएर पठाएको थियो ।

अघिल्लो पटक भारतले पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएको थियो । तर नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको मूल्य घटाएन । 

निगम अझै घाटामा गइरहेको कारण देखाउदै निगमले मूल्य घटाएको थिएन । मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ । योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ । अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ । यो भाउ अझै घट्ने अनुमान छ ।

३) प्रभु र सेञ्चुरी बैंकबीच मर्ज हुने सहमति 

प्रभु बैंकमा सेञ्चुरी बैंक गाभिने भएको छ । प्रभुले उक्त बैंकलाई एक्वायर (प्राप्ती) गर्ने गरी आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । गाभिएपछि पनि बैंकको नाम  ‘प्रभु’नै रहने छ । 
दुवै बैंकले १ः१ स्वाप रेसियो कायम गर्ने सहमझदारी गरेका छन् । अन्तिम निर्णय भने डीडीए गरेपछि तय हुने प्रभु बैंक श्रोतले जनाएको छ । 

सञ्चालक समितिमा ४ जना प्रभुबाट र तीन जना सेन्चुरीबैंकबाट रहने छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन रहने जनाइएको छ । सेन्चुरीको मनोज न्यौपाने डेपुटी सीईओ बन्ने समझदारी भएको छ । स्रोतका अनुसार पुसभित्र एकीकृत कारोबार सुरु गर्ने योजनाका साथ मर्जर प्रक्रिया अघि बढाइएको छ ।

४) चालु आर्थिक वर्षको १५ दिनमा ९२७ जना व्यक्ति तथा कम्पनी कालोसूचीमा

चालु आर्थिक वर्षमा ९२७ जना व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार साउन १५ गतेसम्म मात्रै ९२७ जना व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका हुन्।
गत आर्थिक वर्षमा १५ हजार ९९९ जना कालोसूचीमा परेको केन्द्रले जनाएको छ। 

कुनै पनि कम्पनी वा व्यक्तिले बैङ्कबाट लिएको ऋण तिर्ने अवधि ९० दिनभन्दा बढी भएमा त्यस्तो ऋणी कालोसूचीमा पर्ने गर्दछ । साथै कुनै व्यक्तिले कसैलाई चेक दियो र चेकमा पर्याप्त रकम छैन भने सो पनि कालोसूचीमा पर्छ ।

केन्द्रका अनुसार बैंकले भाका नाघेको ऋणको सम्पूर्ण विवरण प्रत्येक आर्थिक वर्षको त्रैमास सकिएको मितिले १५ दिनसम्म पनि ऋण चुक्ता नभए कर्जा सूचना केन्द्रमा पठाउनु पर्ने हुन्छ। बैंकले नयाँ कर्जा प्रवाह गर्न, पुरानो कर्जा नवीकरण गर्न, पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नु अगावै ग्राहकको बारेमा कर्जा सूचना केन्द्रबाट अनिवार्य रुपमा कर्जा सूचना लिनुपर्ने छ ।

५) एमालेद्धारा महंगी र भ्रष्टाचार विरुद्ध प्रदर्शन

सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाण्डौंमा प्रदर्शन गरेको छ । सरकारका कारण महंगी, भ्रष्टाचार र बेथिति बढेको भन्दै एमालेले खबरदारीका लागि प्रदर्शन गरेको जनाएको छ । 

प्रदर्शनमा एमालेका नेता कार्यकर्तासहित अनेरास्ववियू,  प्रदेश सम्पर्क कमिटी, खेलकुद महासंघ, किसान महासंघ, रिटर्नी फेडेरेशन, इन्जिनियरिङ एसोसियसन, अपाङ्ग संघ, ट्रेड युनियन महासंघलगायतका भ्रातृ र शुभेच्छुक संघसंगठनका प्रतिनिधि पनि प्रदर्शनमा सहभागी भएका छन् ।

६) निजामती ऐनमा आफ्ना माग सम्बोदन नभएको भन्दै कर्मचारीहरुद्धारा सिंहदरबारमा प्रदर्शन

प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफुहरुको माग सम्बोधन नभएको भन्दै कर्मचारीहरुले मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी प्रदर्शन गरेका छन् । प्रस्तावित ऐनमा नायब सुब्बाहरुको माग सम्बोधन नभएको भन्दै उनीहरुले सोमबार सामान्य प्रशासन मन्त्रालय अगाडी प्रदर्शन गरेका हुन् ।

कर्मचारीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० प्रतिशत तथा बढुवा ३० प्रतिशत, आन्तरिक/अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन्। उनीहरुले नासु मारा ऐन चाहिदैन, नासुलाई बढुवामा हेप्न पाईदै, कुनै एक पदमा कार्यरत कमृचारी अधिकतम १० बर्षमा माथिल्लो पदमाा बढुवा हुने व्यवस्था गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

कर्मचारीको पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिएकोले आन्दोलनको सुरुवात गर्नुपरेको कर्मचारीहरुले जनाएका छन् ।

७) एक वर्षमा २४ क्यासिनोबाट ९१ करोड ६० लाख रुपैयाँ रोयल्टी संकलन

एक वर्षको अवधिमा क्यासिनोबाट ९१ करोड ६० लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । विभागले गत आर्थिक वर्ष २०७८÷७९ मा विभिन्न २४ वटा क्यासिनोबाट ९१ करोड ६० लाख रुपैयाँ रोयल्टी संकलन गरेको हो । 

हाल नेपालमा क्यासिनो र मिनी क्यासिनो गरी २४ वटा क्यासिनो सञ्चालनमा रहेका छन् । जसमध्ये २२ वटा क्यासिनोले नविकरण गरेका छन् भने दुई वटा क्यासिनोहरुले नविकरण गरेका छैनन् ।नविकरण नगर्ने क्यासिनोमा दरबारमार्गको याक एण्ड यतिमा रहेको क्यासिनो रोयल र होटल स्वीटड्रीम महेन्द्र नगरमा सञ्चालनमा रहेको ह्याप्पी आवर प्रालि रहेका छन् ।

८) तत्कालीन कार्यकारी अधिकृतविरुद्ध भ्रष्टचार मुद्दा दायर 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृतविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ । आयोगले  सोमबार अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीविरुद्ध विशेष अदालत काठमाण्डौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

जोशीले छत्रदेव गाउँपालिकामा आर्थिक वर्ष २०७३÷०७४ मा फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको पाइएको छ । साथै बिल अनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सीमित हुने गरी सामानहरु खरिद गरेको भन्ने उजुरी आयोगमा परेको थियो । 

आयोगका अनुसार फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिद गरिएकोमा खरिद भएका सामग्रीहरु मध्ये चार लाख ४७ हजार ५ सय रुपैयाँ बराबरका सामग्रीहरु कार्यालयमा नरहेको देखिएको छ जोशीले भ्रष्टाचार गरेको पुष्टि भएकोले चार लाख ४७ हजार पाँच सय रुपैयाँ कायम गरी विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 

९) सहकारीहरुलाई समस्याग्रस्त बन्न नदिन मन्त्री श्रेष्ठको आग्रह 

आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ । सोमबार मन्त्रालयमा समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउन सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । 

उहाँले सहकारीहरु मूल्य, मान्यता, सिद्धान्तअनुसार चल्नुपर्नेमा जोड दिँद सहकारीहरु समस्याग्रस्त बन्ने अवस्था आउन नदिने गरी काम गर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । 

१०) बेलायती प्रिन्सले बिन लादेनको परिवारबाट १ मिलियन पाउन्ड दान लिएको खुलासा 

बेलायती प्रिन्स चार्ल्सले ओसामा बिन लादेनको परिवारबाट आफ्नो परोपकारी ट्रस्टलाई १ मिलियन पाउन्ड दान लिएको खुलासा भएको छ । द सन्डे टाइम्सका अनुसार साउदी परिवारका सदस्यहरूले कुनै गल्ती नगरेको बताए पनि दान स्वीकार गरेसँगै ७३ वर्षीय राजकुमारको परोपकारी संस्थाले गल्ती गरेको आरोप लागेको छ ।

उहाँका धेरै सल्लाहकारहरूले चार्ल्सलाई बकर बिन लादेन र उनका भाइ साफिकबाट सफिकबाट चन्दा नलिन आग्रह गरेका थिए । ती दुबै जना ओसामा बिन लादेनका सौतेला भाइ हुन् ।