१९ माघ, २०८१ शनिबार

04:41:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख आर्थिक समाचारः अर्थमन्त्रीमा शर्मा पुनः नियुक्तदेखि श्रीलंकका राष्ट्रपतिद्धारा राजनीतिक दलका नेताहरूलाई ऋण तिर्ने उपाय पहिल्याउन आग्रहसम्म

Nepal Business

१५ साउन, २०७९

प्रमुख आर्थिक समाचारः अर्थमन्त्रीमा शर्मा पुनः नियुक्तदेखि श्रीलंकका राष्ट्रपतिद्धारा राजनीतिक दलका नेताहरूलाई ऋण तिर्ने उपाय पहिल्याउन आग्रहसम्म

१) अर्थमन्त्रीमा शर्मा पुनः नियुक्त

अर्थमन्त्रीमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा नियुक्त हुनुभएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो । 

नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरिएको हो । अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गर्नुभएको थियो । 

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर ११ सदस्यीय संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका दिनुभएको थियो । 

छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको उहाँले ‘क्लिन चिट’ पाउनुभएको थियो । छानबिन सकितिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएको थियो ।

२)  सेयर बजारमा हरियाली, ५ बीमा कम्पनीमा सकरात्मक सर्किट ब्रेक

साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ५४.५८ अंकले बढेर नेप्से परिसूचक ३१ सय ९५.१० विन्दुमा पुगेर बन्द भएको छ । 

सेयर बजार बढ्दा आज ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँको कारोबार भएको छ भने १ करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै उपसमुहतर्फ फाइनान्स बाहेक सबै बढेका छन् फाइनान्स १.६ प्रतिशतले घटेको छ । आज ५ वटा बीमा कम्पनीहरुमा सकरात्मक सर्किट ब्रेक लागेको छ । सकरात्मक सिर्कट ब्रेक लाग्नेमा नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रोडेन्टिएल इन्स्योरेन्स र एनआईजी इन्स्योरेन्स रहेका छन् । 

यसैगरी युनाइटेड आईडीआई आरबी हाइड्रोपावर ९.९९ प्रतिशत, स्वभिमान लघुवित्त वित्तीय संस्था र युनाइटेड इन्स्योरेन्स ९.९८ प्रतिशतले बढेका छन् ।  
३) निगम अझै ५० करोड घाटामा

उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाकाबन्दी हुँदा तत्कालिन सरकारले पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई अनुमति दिएको बताउनुभएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री बडूले नाकाबन्दी हुँदा नियमावलीका आधारमा केहि नीजि क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्ने जिम्मा दिएको बताउनुभएको हो ।

उहाँले कुन सरकारका पालामा कुनै नीजि क्षेत्रले कति पेट्रोलियम पदार्थको आयात गरेको छ भन्ने सार्वजनिक गर्ने बताउनुभयो । अबौंको चलखेलमा आयल निगमलाई निजिकरण गर्ने भनेर नेताहरुले नै निराधार भ्रम फैलाउने काम गरेको उहाँको भनाई छ ।  

मन्त्री बडूले अहिले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने सरकारको कुनै तयारी नरहेको स्पष्ट पार्नुभयो । अहिलको मुख्य विषय भने निगमभित्रको सुधार मात्रै भएको उहाँले बताउनुभयो । उहाँले निगम अहिले पनि ५० करोड घाटामा रहेको र इण्डियन आयल कर्पोरेशनलाई २२ अर्व ४० करोड बुझाउन बाँकी रहेको जानकारी दिनुभयो ।

४) लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गरिने

ऊर्जामन्त्री पम्फा भुसालले लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गरिने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा ऊर्जामन्त्री भुसालले करिब १६ सय मेगावाट बराबरका आयोजनाहरुको विद्युत खरिद सम्झौता (पीपीए) सम्झौता भएर पनि निर्माण हुन नसकेको भन्दै खोला÷नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्ने गरि कदम चालिने बताउनुभएको हो ।

टेक अर पे प्रावधानमा पीपीए गरिएका आयोजनाहरु सुरु नहुदा बित्तिय जोखिम समेत देखिएकाले यस विषयमा मन्त्रालयले चाडै आवश्यक निर्णय गर्ने उहाँले बताउनुभयो । मन्त्री भुसालले नेपाल विद्युत् प्राधिकरणले पीपीए गरेका करिब ३ हजार २ सय मेगावाटका जलविद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो ।

सरकारले प्रस्ताव गरेको नयाँ विद्युत ऐनले बिधुत व्यापार तथा प्रसारण खुल्ला पहुँचको व्यवस्था गरेको भन्दै उहाँले संसदको चालू अधिवेशनमा पास हुने भए उक्त ऐनलाई अघि बढाउने र पास नहुने देखिए सदनको अधिवेशन अन्त्य हुने बितिकै केहि प्रावधानलाई कार्यान्वयनमा ल्याउने बताउनुभयो ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सवै औधोगिक क्षेत्रलाई प्रयाप्त विद्युत उपलव्ध गराइएको र प्राधिकरणको ध्यान आन्तरिक खपत बढाउनेमा नै केन्द्रीत रहेको बताउनुभयो । 

५) श्रम तथा व्यवसायजन्य सुरक्षा विभागद्धारा ४ करोड ९६ लाखभन्दा बढि राजस्व संकलन

आर्थिक वर्ष २०७८÷७९ मा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले ४ करोड रुपैयाँभन्दा बढि राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को विभागको तथ्यांक अनुसार विभिन्न दस्तुर बापत ४ करोड ९६ लाख ५३ हजार ५९० रुपैयाँ राजस्व संकलन गरेको हो ।

विभागले श्रम कानुनको बर्खिलाप भएकोमा कारवाही स्वरुप जरिवानामा समेत तिराएको छ । जसबाट विभागले एक वर्षको अवधिमा ४६ लाख ४८ हजार २१२ रुपैयाँ जरिवाना शुल्क उठाएको छ । 
यस्तै विभगले यस अवधिमा कल्याणकारी कोषममा १ अर्ब ३० करोड ९९ लाख ६८ हजार ७६० रुपैयाँ जम्मा गरेको छ ।

विभागका अनुसार यस अवधिमा २ हजार भन्दा गैर नेपाली नागरिकलाई श्रम इजाजत जारी गरिएको छ । गत आवको एक वर्षमा विभागले मान्यता प्राप्त २८० प्रतिष्ठानमा २ हजार १८१ गैर नेपाली नागरिकलाई श्रम इजाजत जारी गरेको हो ।

श्रम इजाजत प्राप्त गर्ने गैर नेपालीहरुमा चीनबाट सर्वाधिक रहेका छन् । यस अवधिमा १ हजार ६२९ चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका हुन् । संयुक्त राज्यबाट १०६ जना, संयुक्त राज्य अमेरिकाबाट ८३ जना, जापानबाट ६१ जना र भारतबाट ५७ जनाले श्रम स्वीकृति लिएका हुन् ।

विभागले गत आवमा औद्योगिक दुर्घटनामा परेका २६ जनालाई क्षतिपूर्ति समेत दिएको छ । यसका साथै प्रतिष्ठानका काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए नलिएको अनुगमन गरेको विभागको जनाएको छ । 

६) राहदानी छिटो बनाई दिन्छु भनि ठगी गर्ने ४ जना पक्राउ

राहदानी बनाई दिने भन्दै ठगी तथा कीर्ते गर्ने कसूरमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । राहदानी विभागमा सेवाग्राहीहरूलाई ललाई फकाई विश्वासमा पारी रकम संकलन गरी ठगी गर्नुका साथै कीर्ते गरी अनलाइन फारम भरिदिने कार्य गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाण्डौं महानगरपालिका ७ चावहिल बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ५ घर भएका ३३ वर्षीय राम बहादुर बोगटी, चावहिल बस्ने धनकुटा पाख्रिबास नगरपालिका १० चुन्वाङ घर भएका २८ वर्षीय श्याम कुमार राई, चावहिल बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका  घर भएका २२ वर्षीय राम पौडेल र चाबहिलस्थित रोज बर्ड नामक फोटो स्टुडियो सञ्चालन गरी बस्ने गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजल घर भएका ४१ वर्षीय विबेक गुरूङ रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले सेवाग्राहीहरुलाई एकै दिनमा राहदानी बनाई रकम ठगी गरिरहेका थिए । उनीहरू उपर ठगी सम्बधि कसूर र लिखत सम्बन्धि कसूरमा जिल्ला अदालत काठमाण्डौंबाट ४ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 

७) नागरिक उड्डयन प्राधिकरणद्धारा चालु वर्षको बजेट सार्वजनिक 

चालु वर्षका लागि नागरिक उड्डयन प्राधिकरणले ४१ अर्ब ८५ करोड ९२ लाखको बजेट सार्वजनिक गरेको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिदेखि उपत्यका बाहिर नयाँ विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने योजना बनाएको छ ।

प्राधिकरणका अनुसार यस अन्तर्गत वर्षौंदेखि किचलोमा जेलिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानी ढाँचा तयार गर्ने तयार गरेको छ । 

८) नेपाल राष्ट्र बैंकले १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

नेपाल राष्ट्र बैंकले १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले साउन १७ गते (मंगलबार)९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो । यी ट्रेजरी बिलको भोलि सोमबार बोलकबोल हुनेछ । 

राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो बिल आउँदो कात्तिक १५ गते परिपक्व हुनेछ । यस्तै राष्ट्र बैंकले १८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । जुुन आगामी माघ १७ परिपक्व हुनेछ । 

यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

९) आजसम्म भाडा समायोजन नगरे पुनः आन्दोलित हुन्छौँः ढुवानी व्यवसायी महासंघ 

भाडा समायोजनको माग पुरा नभएपछि पेट्रोलियम ढुवानी व्यवसायी पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  यही साउन ६ गते बसेको महासंघको बैठकले १५ गते (आइतबार) आजसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो । तर व्यवसायीहरुका माग पुरा नभएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ । 

महासंघले व्यवसायीले भाडा समायोजनका लागि आज आइतबारसम्मको समयसीमा दिए पनि सरकारले कुनै चासो नदेखाएको जनाएको छ । आजसम्म पनि भाडा नबढाएमा व्यवसायी पुनः आन्दोलित हुने महासंघले चेतावनी दिएको छ । 

महासंघका अनुसार आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाइ इन्धन ढुवानी गर्ने ट्यांकरले देशभर पीडीओ नलिने र लोड नगर्ने घोषणा गरेका छन् । महासंघले देशभर २० गतेबाट सम्पूर्ण पेट्रोलियम ढुवानी ट्यांकरले पीडीओ नलिने र लोड नगर्ने समेत जनाएका छ । 

१०) श्रीलंकका राष्ट्रपतिद्धारा राजनीतिक दलका नेताहरूलाई ऋण तिर्ने उपाय पहिल्याउन आग्रह 

श्रीलंकका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशलाई आर्थिक संकटबाट जोगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको सम्भावित सम्झौता मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण अघि बढाउन विलम्ब भएको बताउँदै राजनीतिक दलका नेताहरूलाई ऋण तिर्ने उपाय पहिल्याउन आग्रह गर्नुभएको छ । 

देशले झेल्नु परेको वर्तमान चुनौतीलाई स्थायी रूपमा समाधानका निम्ति सबै राजनीतिक दलले सहकार्य गर्नुपर्नेमा जोड दिँदै उहाँले अहिलेको आर्थिक संकटका लागि पूर्वराष्ट्रपति गोटबाया राजापाक्षलाई दोष दिनुको कुनै अर्थ नभएको बताउनुभयो । 

क्याण्डीमा भएको एक कार्यक्रममा उनले देशलाई आर्थिक संकटबाट मुक्त गरी वैदेशिक ऋण चुक्ता गर्न सबै राजनीतिक दललाई एकजुट हुन आग्रह गर्नुभयो । उहाँले त्यस निम्ति उपाय पहिल्याउन पनि गर्नुभयो