१९ माघ, २०८१ शनिबार
06:58:53 AM
१३ साउन, २०७९
१) जनार्दन शर्माले पाए ‘क्लिन चिट’
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको सन्दर्भमा लागेको आरोपमा ‘क्लिन चिट’ पाउनुभएको छ । संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर गरेको अनुसन्धानका क्रममा शर्माविरुद्ध कुनै प्रमाण भेटिएको छैन।
शुक्रबार प्रतिनिधिसभामा छानबिन समितिको प्रतिवेदन पेश गर्दै सभापति लक्ष्मणलाल कर्णले प्राप्त तथ्य, प्रमाण र कागजातको विश्लेषण गर्दा शर्मामाथि आरोप पुष्टि हुने प्रमाण फेला नपरेको बताउनुभएको हो ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको आरोप लागेपछि उहाँमाथि छानबिन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो । शर्मामाथि लागेको आरोप झुटो साबित भएसँगै यतिबेला सबैमा फेरि अर्थमन्त्रीमा उहाँको नै आगमन हुने त हैन भन्ने जिज्ञाशा जागेको छ ।
शर्माले गत असार २२ गते नै पदबाट राजीनामा दिए पनि अहिलेसम्म कोही पनि अर्थमन्त्री नबन्नुले पनि उहाँ नै पुनः मन्त्रालय फर्किने देखिएको छ । यसै बिच माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्ने बताउनुभएको छ ।
२) सेयर बजार १२.९२ अंकले बढ्यो
कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १२.९२ अंकले बढेर नेप्से परिसूचक २ हजार १ सय ४०.३९ विन्दुमा पुगेर बन्द भएको छ ।
मौद्रिक नीति सार्वजनिक भइपछि एक दिन मात्र सेयर बजार घटेको हो । सेयर बजार बढ्दा २ अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ रुपैयाँको कारोबार भएको छ भने ५१ लख ११ हजार ३१० कित्ता सयेर किनबेच भएका छन् ।
यस्तै आज नन्लाईफ इन्स्योरेन्स, हाइड्रोपावर र म्युचल फण्ड उपसमुह घटेका छन् भने बाँकी बढेका छन् । कारोबार रोक्का भएको कम्पनी रिलाइन्स लाईफ इन्स्योरेन्समा सर्किट ब्रेक लागेको छ भने सकरात्मक सर्किट ब्रेक लाग्नेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था रहेको छ । लुम्बिनी विकाश बैंक ८.८४ प्रतिशत र एक्सेल विकास बैंक ६.७९ प्रतिशतले बढेका छन् ।
३) साढे २ करोड बीमा रकम लिने ६ जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बीमा वापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।
व्युरोले शुक्रबार काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको हो । पक्राउ परेका बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटालाई प्रहरीले सार्वजनिक पनि गरेको छ ।
उनीहरुले २०७८ बैशाख २ गते बाँकेको कोहलपुर नगरपालिकामा २१ वर्षीय सर्जन बिकको योजनाबद्ध दुर्घटना गराई साढे २ करोड बराबरको बीमा रकम लिएको अनुसन्धानबाट खुलेको व्युरोका प्रहरी अतिरिक्त महानिरिक्षक उत्तम राज सुवेदीले जानकारी दिनुभयो । उनीहरुले सवारी दुर्घटना गराएर बीमा रकम दावी गर्ने उद्देश्यले सपना मल्लसँग सर्जनको विवाह दर्ता गराएका थिए ।
४) एसपीपी अघि नबढाउने पत्र अमेरिका पुगिसक्योः परराष्ट्रमन्त्री खड्का
परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने नेपालको पत्र अमेरिका पुगिसकेको बताउनुभएको छ । प्रतिनिधिसभामा शुक्रबार खड्काले एसपीपीमा सहभागी नहुने भनेर अमेरिका सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरिएको जानकारी दिनुभएको हो।
उहाँले साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी पठाएको बताउनुभयो ।
५) शुद्धीकरण विभागमा सम्पत्तीको स्रोत नखुलेका १३६ वटा उजुरी
गत आर्थिक वर्ष २०७८÷७९ मा शुद्धीकरण विभागमा सम्पत्तीको स्रोत नखुलेका १३६ वटा उजुरी परेका छन् । विभागका अनुसार नेपाल राष्ट्र बैंकको वित्तिय सूचना इकाइबाट प्राप्त भएका मुद्दाहरु २० वटा, अन्य व्यक्ति तथा निकायबाट प्राप्त भएका सूचनाहरु १०७ वटा, सम्वद्ध कसुरमा कारवाही चली प्राप्त सूचनाहरु ९ वटा, प्रारम्भिक अनुसन्धान तोकिएका मुद्दाहरु १३६ वटा, अन्य निकायमा पठाइएको १८ वटा रहेका छन् ।
सो अवधिमा तीन वटा मुद्दाहरु विशेष अदालतमा दायर भएको विभागले जनाएको छ । जसका प्रतिवादी १४ जना रहेका छन् । उनीहरु विरुद्ध २६ करोड ४५ लाख ६४ हजार रुपैयाँ कुल विगोको रकम दावी गरेको छ । विभागले प्रतिवादी १४ जना विरुद्ध ५१ करोड १५ लाख ४७ हजार रुपैयाँ जरिवाना माग दावी सहित मुद्दा दायर गरेको छ ।
६) एक वर्षमा १ खर्ब १३ अर्बभन्दा बढिको तेल आयात, ९३ अर्ब ७० करोडको निर्यात
आर्थिक वर्ष २०७८÷७९ मा नेपालले १ खर्ब १३ अर्ब ६२ करोड २४ लाख ५५ हजार रुपैयाँको कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल आयात गरेको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट ७१ करोड ८२ लाख ४३ हजार ८७७ लिटर कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल आयात गरेको छ ।
विभागको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा ५६ अर्ब १८ करोड ३६ लाख ५५ हजार रुपैयाँको ३३ करोड २९ लाख ८३ हजार ५४६ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ। सोही अवधिमा ३९ अर्ब ३१ करोड ६ लाख ६६ हजार रुपैयाँको २७ करोड ६६ लाख २२ हजार १४१ लिटर कच्चा पाम तेल, १८ अर्ब १० करोड ७६ लाख ३४ हजार रुपैयाँको १० करोड ८५ लाख ३५ हजार ४०९ लिटर कच्चा सनफ्लावर तेल र २ करोड ५ लाखको १ लाख २ हजार ७८१ केजी कच्चा नरिवल तेल नेपालले आयात गरेको छ ।
यस्तै एक वर्षको अवधिमा नेपालले प्रशोधन गरिएको ९३ अर्ब ७० करोड ८५ लाख ९० हजार रुपैयाँको भटमास, पाम र सनफ्लावर तेल भारतमा निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षमा नेपालले विभिन्न देशबाट ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको थियो ।
सो वर्ष नेपालले विभिन्न देशबाट ल्याएको कच्चा भटमास, पाम र सनफ्लावर तेल प्रशोधन गरी भारतमा ५५ अर्ब ९० करोड ३८ लाख १५ हजार रुपैयाँको निर्यात गरेको थियो ।
७) नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचनको तयारी तीव्र बन्दै
नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचनको तयारी क्रमशः तीव्र बन्दै गएको छ । वरिष्ठ उपाध्यक्ष र ३ उपाध्यक्षका आकांक्षीहरु प्रस्तुत भईरहेका छन् । वरिष्ठ उपाध्यक्षमा हालसम्म ४ जना दाबेदार देखिएका छन् ।
पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ र एसोसियट उपाध्यक्ष रामचन्द्र सांघाईले बरिष्ठ उपाध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।
वरिष्ठ उपाध्यक्षका आकांक्षीहरुले दशैँ अगाडी नै आफ्नो समूह घोषणा गरेर ७ महिना (कार्तिकदेखि चैत्रसम्म) देश दौडाहामा निस्कने देखिएको छ । महासंघको साधारणसभा चैत्र २८ गते हुँदैछ । निर्वाचन भने चैत्र २९ गते हुनेछ ।
८) यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण
यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि उडेको ६ मिनेटमै पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो ।
पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो।
९) २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जना गरी थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि हो ।
योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ । पछिल्लो २४ घण्टामा २६९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
१०) बढ्दै गएको डलरका कारण मेटाको आम्दानी घट्यो
लगातार बढ्दै गएको डलरका कारण मेटाको आम्दानी घटेको छ । हालै सार्वजनिक त्रैमासिक नतिजा अनुसार फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम लगायतका लोकप्रिय एप्सको मूल कम्पनी मेटाको आम्दानी पहिलो घटेको हो ।
डलर बलियो बन्दै गएकाले अन्य देशको आम्दानी घट्दै गएको छ । किनकि त्यहाँको मुद्रा डलरको तुलनामा कमजोर हुँदै गइरहेको छ। मन्दी र बढ्दो प्रतिस्पर्धाको डरले कम्पनीको डिजिटल विज्ञापन बिक्री प्रभावित भएको छ ।
नतिजापछि कम्पनीको सेयरभाउ ४.६ प्रतिशतले घटेको छ । मेटाको अनुमान अनुसार तेस्रो त्रैमासिकमा आम्दानी २६ अर्ब डलर पुग्न सक्छ । यो त्रैमासिकमा आम्दानी १ प्रतिशतले घटेर २८.८ अर्ब डलर पुगेको छ । टिकटकजस्ता प्रतिस्पर्धी बजारमा आएका कारण कम्पनीको आम्दानीमा असर पर्न थालेको कम्पनीले जनाएको छ ।