१९ माघ, २०८१ शनिबार
06:43:28 AM
१३ साउन, २०७९
काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको सन्दर्भमा लागेको आरोपमा ‘क्लिन चिट’ पाउनुभएको छ । संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर गरेको अनुसन्धानका क्रममा शर्माविरुद्ध कुनै प्रमाण भेटिएको छैन ।
शुक्रबार प्रतिनिधिसभामा छानबिन समितिको प्रतिवेदन पेश गर्दै सभापति लक्ष्मणलाल कर्णले प्राप्त तथ्य, प्रमाण र कागजातको विश्लेषण गर्दा शर्मामाथि आरोप पुष्टि हुने प्रमाण फेला नपरेको बताउनुभएको हो ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको आरोप लागेपछि उहाँमाथि छानबिन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो । शर्मामाथि लागेको आरोप झुटो साबित भएसँगै यतिबेला सबैमा फेरि अर्थमन्त्रीमा उहाँको नै आगमन हुने त हैन भन्ने जिज्ञाशा जागेको छ ।
शर्माले गत असार २२ गते नै पदबाट राजीनामा दिए पनि अहिलेसम्म कोही पनि अर्थमन्त्री नबन्नुले पनि उहाँ नै पुनः मन्त्रालय फर्किने देखिएको छ । यसै बिच माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्ने बताउनुभएको छ ।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै नेता पुनले संसदीय छानबिन समितिले निर्दोष ठहर गरेपछि अर्थमन्त्रीका लागि पार्टीमा शर्मा बाहेक अरूको विकल्प नखोजिएको बताउनुभएको हो ।