५ जेठ, २०८१ शनिबार

03:10:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

५२ लाख ९९ हजार पेस्की रकम लिइएपनि १० प्रतिशत पनि काम भएको छैन

३० पुस, २०७८

तीन वर्षदेखि झोलुङ्गे पुल निर्माण अलपत्र

५२ लाख ९९ हजार पेस्की रकम लिइएपनि १० प्रतिशत पनि काम भएको छैन

पर्सा
पर्साको धोबिनी गाउँपालिका–१ घोरदाउरा टोलस्थित ओरिया खोलामा निर्माणाधीन झोलुङ्गे पुल लामो समयदेखि बन्न सकिरहेको छैन् । 

पुल निर्माणका लागि उपभोक्ता समितिको नाउँमा हालसम्म करिब ५२ लाख ९९ हजार पेस्की रकम लिइए पनि कार्यस्थलमा खासै काम नभएको गाउँपालिकाले जनाएको छ । निर्माण कार्य हुन नसकेपछि सो पुल विगत तीन वर्षदेखि अलपत्र परेको हो । 

उपभोक्ता समितिले पुल निर्माणका लागि तीन वर्षअगाडि नै गाउँपालिकाबाट पटकपटक गरी  ५२ लाख ९९ हजार पेस्की लिएको भए पनि निर्माणस्थलमा बढीमा १० प्रतिशत पनि काम हुन नसकेको गाउँपालिकाले बताएको छ । हालसम्म दुईवटा अधुरा पिलर निर्माण गरेर पुल निर्माण कार्य रोकिएको थियो । “पुल निर्माणका लागि उपभोक्ता समितिले ठूलो रकम पेस्कीस्वरुप लिइएको भए पनि सो रकम त्यस कार्यमा खर्च गरिएको छैन”, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहले भन्नुभयो, “अब अनुसन्धान गरी नियमानुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।” कार्यालयबाट लिइएको पेस्की रकम ब्याजसहित दाखिला गर्न यस अगावै गाउँपालिकाले उपभोक्ता समितिलाई पत्राचारसमेत गरिसकेको  छ ।

गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा तीन महिनाभित्र पुल बनाउन गाउँपालिका र समितिबीच सम्झौता भएको थियो । गाउँपालिकाका अनुसार कूल बजेट ९५ लाख ९७ हजारमध्येबाट हालसम्म ५२ लाख ९९ हजार पेस्की उपभोक्ता समितिले लिएको भएपनि करिब ५÷७ प्रतिशत मात्र खर्च भएको छ ।

गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा तीन महिनाभित्र पुल बनाउन गाउँपालिका र समितिबीच सम्झौता भएको थियो । गाउँपालिकाका अनुसार कूल बजेट ९५ लाख ९७ हजारमध्येबाट हालसम्म ५२ लाख ९९ हजार पेस्की उपभोक्ता समितिले लिएको भएपनि करिब ५÷७ प्रतिशत मात्र खर्च भएको छ ।
महालेखा परीक्षकको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदनले सम्झौता अवधिसम्म काम नसकिएकाले ब्याजसमेत लगाई असुल गर्न गाउँपालिकालाई निर्देशन दिएको छ । सम्झौतानुसार आठ महिनामा पुल निर्माण गर्नुपर्नेमा हालसम्म १० प्रतिशत पनि काम नभएको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक खरिद नियमावली २०६४ अनुसार उपभोक्ता समिति तथा लाभग्राही समुदायबाट काम गराउँदा सम्झौता रकमको बढीमा एक तिहाइ रकमसम्मको अग्रिमरूपमा पेस्की दिन सक्ने व्यवस्था छ । घोरदाउरामा नियमानुसार सम्झौता रकमको एकतिहाइ ३२ लाख पेस्की दिन मिल्नेमा बढी रकम दिइएकाले नियमसम्मत नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

ओरिया खोलामा पुल नहुँदा घोरदाउराका बासिन्दा बर्सातको समयमा भारतको बाटो प्रयोग गरी नेपालीबजार पुग्नुपर्ने बाध्यता रहँदै आएको छ । पुल निर्माण सुरु भएपश्चात् स्थानीयवासीमा आशा पलाए पनि अलपत्र हुँदा उहाँहरुमा निरासपन छाएको छ ।