१९ माघ, २०८१ शनिबार

06:31:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख आर्थिक समाचारः सेयर बजार दोहोरो अंकले बढ्योदेखि अमेरिकाको मुद्रास्फीति उच्च विन्दुमासम्म

१२ साउन, २०७९

प्रमुख आर्थिक समाचारः सेयर बजार दोहोरो अंकले बढ्योदेखि अमेरिकाको मुद्रास्फीति उच्च विन्दुमासम्म

१) दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको पाँचौं कारोबारको दिन आज (बिहिबार) पनि सेयर बजार दोहोरो अंकले बढेको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४४ अकंले बढेर २१२७.४२ बिन्दुमा बन्द भएको छ । त्यस्तै, बिहीबार नेप्से परिसूचकसंगै कारोबार रकममा पनि बढेको छ । यस दिन २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँको कारोबार भएको छ ।

यस दिन कारोबार भएका कम्पनीमध्ये १२५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन पावर पार्टनरको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

यस दिन राधी विद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा बढी घटेको छ । यस कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको हो । त्यस्तै, कारोबारको आधारमा बिहीबार सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यसको आज १७ करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।

२) तरलता व्यवस्थापन गर्न ३० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज (साउन १२ गते बिहीबार) ३० अर्बको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो। आर्थिक वर्षको सुरुवातमै बैंकिङ प्रणालीमा तरलता अभाव देखिन थालेपछि बैंक तथा वित्तीय संस्थाहरू दबाबमा छन्।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत अन्तर बैंंक ब्याजदर नीतिगत दरभन्दा २ प्रतिशत तलमाथि भए मात्रै रिपो र रिभर्स रिपो मार्फत राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने बताएको छ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण नै ’रिपो’ हो। बैंक तथा वित्तीय संस्थाले तरलता अभावमा रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन्।

३) फोहोरमैला व्यवस्थापनका लागि ६५ करोडको उद्योग खोल्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न आधुनिक उद्योग खोल्ने भएको छ । आर्थिक वर्ष २०७९।८० को बजेट अनुसार महानगरले ६५ करोडको लगानीमा आधुनिक उद्योग खोल्ने भएको हो । महानगरले कच्चा पदार्थ खरिद तथा व्यवस्थापनका गर्न २५ करोड खर्च गर्ने भएको छ । चालु आर्थिक वर्षमा महानगरले फोहोरमैला व्यवस्थापनका लागि मात्रै  ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

आन्तरिक स्रोतबाट खर्च गर्ने गरी महानगरले डोजर, लोडर र गाडी भाडाका लागि बजेट विनियोजन गरेको हो । बञ्चरेडाँडामा फोहोर बोकेको गाडी धुनका लागि वासिङ सेन्टर निर्माण गर्न महानगरले १ करोड बजेट छुट्टयाएको छ । महानगरले घर–घरमै कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन सहुलियतमा कम्पोष्ट विन वितरण गर्ने भएको छ । जसका लागि महानगरले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

४) १२ वाणिज्य बैंकहरुको वित्तिय विवरण सार्वजनिक

काठमाडौं । हालसम्म १२ वटा वाणिज्य बैंकले असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । हालसम्म  एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल र सनराइज बैंक, माछापुच्छे बैंक, स्टान्डर्ड च्याटर बैंक र एभरेष्ट बैंकले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

१२ वटा बैंकको नाफा गत आर्थिक बर्षमा ३३ अर्ब ७१ करोड ६२ लाख ८८ हजार रुपैयाँ पुगेको छ । १२ वटामध्ये ११ वटा बैंकको नाफा बढेको छ भने एउटा बैंकको नाफा घटेको छ । वित्तीय विवरण प्रकाशित गरेका बैंकमध्ये सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । यस्तो छ १२ वाणिज्य बैंकहरुको वित्तिय अवस्था

ग्लोबल आइएमई बैंकले एक वर्षमा ५ अर्ब २० करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५ प्रतिशत बढेको हो । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले ४ अर्ब १६ करोडभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको सञ्चालन नाफा करिब २७ प्रतिशत बढेको छ ।

एनआइसी एशिया बैंकले असार मसान्तसम्ममा ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.८६ प्रतिशतले बढी हो ।  नेपाल इन्भेष्टमेन्ट बैंकले असार मसान्तसम्म ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको । बैंकले अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ छ । जुन १४.८३ प्रतिशतले बढी नाफा हो ।

प्रभु बैंकले २ अर्ब ६० करोड ३ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.१० प्रतिशतले बढेको छ ।  सिटिजन्स बैंकले गत आवमा २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.७६ प्रतिशतले बढेको छ । माछापुच्छ्रे बैंकले गत आवमा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३४.४२ प्रतिशतले बढी छ ।

सनराइज बैंकको नाफा ४८.६९ प्रतिशतले बढेर २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ । लक्ष्मी बैंकको नाफा भने थोरै अंकले बढेको छ । एक वर्षको अवधिमा बैंकको नाफा १.७६ प्रतिशतले बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ पुगेको छ । एनसीसी बैंकको नाफा एक वर्षको अवधिमा ५१.९७ प्रतिशतले बढेर २ अर्ब २ करोड २२ लाख २२ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा ६२.२६ प्रतिशतले बढेर २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३९ करोड ८८ लाख ५३ हजार रुपैयाँ थियो । बैंकको लाभांश दिन सक्ने क्षमता १६.९० प्रतिशत रहेको छ । यो अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार आएको छ ।

एभरेष्ट बैंकले एक वर्षको अवधिमा बैंकको नाफा ४३.७६ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ थियो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।

सानिमा बैंकको नाफा भने घटेको छ । एक वर्षको अवधिमा बैंकको नाफा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३१ करोड ७८ लाख २१ हजार ५८० रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको १ अर्ब ४६ करोड ९९ लाख ८६ हजार १४५ रुपैयाँ रहेको छ ।

५) मौद्रिक नीति कार्यान्वयनबाट ब्याजदर बढ्ने परिसंघको ठहर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० का लागि सार्वजनिक गरेको मौद्रिक नीतिबारे नेपाल उद्योग परिसंघले आफ्नो धारणा सार्वजनिक गरेको छ । आफ्नो धारणा सार्वजनिक गर्दै परिसंघले मौद्रिक नीति कार्यान्वयनबाट मुद्रा आपूर्ति घट्ने, बाह्य क्षेत्र तथा शोधनान्तर स्थितिमा परेको चाप कम हुने र कर्जाको ब्याजदर बढ्ने ठहर गरेको छ।

केन्द्रिय बैंकले उत्पादन मुलक क्षेत्रका लागि खुकुलो तथा अन्य क्षेत्रका लागि कसिलो मौद्रिक नीति ल्याएको परिसंघको बुझाई छ । नेपाल उद्योग परिसंघले स्ट्यागफ्लेसन तिर बढ्दै गएको अर्थतन्त्रलाई जोगाउन दोहोरो नीति अवलम्बन गर्न सुझाव दिएको थियो ।

उत्पादनमुलक क्षेत्र र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता गर्नुपर्ने परिसंघको माग सम्बोधन गर्नेतर्फ राष्ट्र बैंक अगाडि बढेको परिसंघको भनाई छ । निर्यातजन्य, खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन लगायत निजी क्षेत्रलाई सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिक्तम २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तो सुविधा परिसंघको सुझाव अनुरुप सम्पूर्ण उत्पादन मुलक उद्योगहरूमा दिइनु पर्दछ । मौद्रिक नीतिको प्रथम समिक्षामा थप उत्पादन मुलक क्षेत्र समेत समेटिनेमा परिसंघ विश्वस्त छ । यो सुविधा अधिक्तम २ करोड रुपैयाँको कर्जामा सिमित हुने भनिएकोले यसलाई राष्ट्र बैंकले आगामी दिनहरूमा सच्याई ठुला कर्जामा समेत विस्तार गर्ने परिसंघको अपेक्षा रहेको छ ।

 बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात प्रयोजनका लागि वा पुँजीकोषको रुपमा गणना गर्न सकिने अवधि थप गर्ने व्यवस्था मिलाउने, ग्रिन फाइनान्सिङलाई प्रोत्साहन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय हरित वण्ड निष्काशन गर्नुपर्ने परिसंघका सुझाव समेटिएकोमा स्वागत गरेको छ।

यसैगरी पूर्ण डिजिटल बैंकको स्थापना गर्न राष्ट्र बैंकले आवश्यक ऐनहरु संशोधन गर्ने घोषणा, एफडीआई अटोमेटिक रुटमार्फत स्वीकृत गर्ने र यसलाई सहजीकरण गर्न विदेशी लगानीसँग सम्बन्धित विभिन्न ऐन, नियमावली तथा विनियमावलीलगायत परिसंघले उठाउँदै आएको कानुन संशोधनका विषयमा समेत राष्ट्र बैंक सकारात्मक भएको परिसंघद्वारा जारी विगज्ञप्तिमा उल्लेख छ। बैंक तथा वित्तिय संस्था मर्जर र प्राप्तिको समयमा धितोपत्र कारोबार नरोक्ने व्यवस्थाको परिसंघले स्वागतयोग्य कदम भएको जनाएको छ।

६) गाउँपालिकाका प्राविधिक शाखा प्रमुख डाँगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर नविन डाँगीविरुद्ध भष्टाचार मुद्दा दायर गरेको छ । मोटरबाटो निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीवरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा इन्जिनियर डाँगीसँग ४ लाख ६ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ ।

डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम मागको भन्ने उजुरी परेपछि अख्यिारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । आयोगको बुटवल र नेपालगन्जबस्थित कार्यालयबाट खटिएको टोलीले डाँगीलाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार २४ गते नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान हुँदा डाँगीले अरु रकम पनि हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।

७) तीन बीमा कम्पनीले सार्वजनिक गरे नयाँ बोनसदर

३ वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७७। ७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात् यी कम्पनीहरूले नयाँ बोनस दर सार्वजनिक गरेका हुन् । हालसम्म एशियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र अमेरिकन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेका हुन् ।

मेट लाइफ इन्स्योरेन्सले न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । मेट लाइफले सावधिक जीवन बीमालेख अन्तर्गत बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रूपैयाँ बोनस दर कायम गरेको छ । यस बीमा योजनामा २० वा सो भन्दा माथि बीमा अवधिका लागि ८० रुपैयाँ बोनस दर कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

१ देखि ५ वर्ष बीमा अवधिका बीमालेखमा कम्पनीले प्रतिहजार ६० रुपैयाँ र १६ देखि २० वर्षे बीमा अवधिका बीमालेखमा प्रतिहजार ७० रुपैयाँ बोनस दर कायम गरेको छ । शिक्षा संरक्षण बीमालेखमा बीतिमले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६० देखि ७० रूपैयाँसम्म बोनस दर पाउने छन् । यस्तै, कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४५ रुपैयाँ रअधिकतम ६५ रूपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा २१ वा सो भन्दा माथिका बीमा अवधिका लागि कम्पनीले ६५ रूपैयाँ बोनस दर निर्धारण गरेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिहजार न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, सावधिक बीमालेख अन्तर्गत न्युनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ  ।

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ५० रूपैयाँसम्म बोनस पाइनेछ । कम्पनीको ज्योती एजी पे जिवन बीमा योजनामा प्रति हजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ३० रूपैयाँसम्म बोनसदर निर्धारण गरेको छ  । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमितहरुले न्यूनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाउने भएका छन् । सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको छ ।

यस्तै, कम्पनीको बालबालिकाको सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउनेछन् । कम्पनीले सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस कायम गरेको छ ।
त्यसैगरी, कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीको नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमा योजनामा प्रति हजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।

८) सेयर लगानीकर्तालाई क्षतिबाट बचाउन कोष सञ्चालन गर्ने धितोपत्र बोर्डको घोषणा

नेपाल धितोपत्र बोर्डले सेयर लगानीकर्ताहरुलाई हुन सक्ने संभावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आज (बिहीबार) चालु आर्थिक वर्षको निती तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्ड अध्यक्ष रमेश हमालले क्षतिपूर्ति कोष सञ्चालनमा ल्याइने घोषणा गर्नुभएको हो ।

धितोपत्र बजारको दायरा बढाउने, बुक बिल्डिङलाई प्रभावकारी बनाउन अटोमेटिक अक्सन सिस्टम लागू गर्ने योजना बोर्डले बनाएको छ । साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीले लगानी गर्न सक्नेगरी सि आश्वाको व्यबस्था गर्ने पनि अध्यक्ष हमालले जनाउनुभएको छ ।

९) कोरोना संक्रमितको संख्या ७ सय नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५ सय ४१ जनाको पीसीआर परिक्षण गर्दा ५२४ जना र २ हजार ४ सय ८४ जनाको एन्टीजेन परिक्षण गर्दा १८६ जना गरी थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ । पछिल्लो २४ घण्टामा २१५ जना कोरोनामुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ३६ जना रहेका छन् ।

१०) अमेरिकाको मुद्रास्फीति उच्च विन्दुमा

काठमाडौं । अमेरिकाको मुद्रास्फीति ४० वर्षकै उच्च विन्दुमा पुगेको छ। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले बढ्दो महँगीलाई नियन्त्रण गर्न फेरि दोस्रोपटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको हो।

अमेरिकामा संघीय कोषको लक्ष्य कर्जा दर अर्थात् केन्द्रीय बैंकबाट स्वदेशी बैंकले लिने दरलाई २.२५ प्रतिशतबाट २.५ प्रतिशतमा पुर्याइएको छ। अमेरिकाको केन्द्रीय बैंकले अर्थतन्त्रमा मागको स्तर र मूल्य घटाउन मार्चदेखि ऋणको लागत बढाउँदै आएको छ। पत्रकार सम्मेलनमा फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अर्थतन्त्रको केही भाग सुस्त भएको बताउनुभयो ।