१९ माघ, २०८१ शनिबार

07:57:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख आर्थिक समाचारः सेयर बजारमा दोहोरो अंकको गिरावटदेखि भारतीय स्टेट बैंकले सुरु गर्यो ह्वाट्सएप बैंकिङ सेवासम्म

Nepal Business

१० साउन, २०७९

प्रमुख आर्थिक समाचारः सेयर बजारमा दोहोरो अंकको गिरावटदेखि भारतीय स्टेट बैंकले सुरु गर्यो ह्वाट्सएप बैंकिङ सेवासम्म

१) सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो 

मौद्रिक नीतिपछि दुई दिन बढेको सेयर बजार तेस्रो दिन मंगलबार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)का अनुसार सेयर बजार ४४.८० प्रतिशतले घटेर नेप्से परिसूचक २ हजार ८८.१६ मा बन्द भएको छ । 

सेयर बजार घट्दा कारोबार पनि घटेको छ । आज ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँको कारोबार भएको छ भने ८७ लाख ४० हजार ५५१ कित्ता सेयर किनबेच भएका छन् । सोमबार सेयर कारोबार ४ अर्ब नाघेको थियो । 

यस्तै उपसमुहहरुमा सबै घटेका छन् भने कम्पनीहरुमा पल्टिप्रपज फाइनान्स कम्पनी ९.३२ प्रतिशत, सुर्यादय वामी लघुवित्त वित्तीय संस्था ६.७२ प्रतिशत र युनाईटेड मोदी हाइड्रोपावर कम्पनी ६.१९ प्रतिशतले बढेका छन् । 

२) स्थानीय तहको चुनावमा पाँच अर्ब खर्च

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा पाँच अर्ब खर्च भएको निर्वाचन आयोगले जनाएको छ । मंगलबार आयोगले खर्च सार्वजनिक गर्दै शालिग्राम पौडेलले तीन अर्ब ६ करोड ८६ लाख रुपैयाँ सरकारलाई फिर्ता गरेको जानकारी दिनुभएको हो । 

आयोगका अनुसार विगतका चुनाव भन्दा यसपटक मितव्ययी भएको दाबी गर्दै आयोगले चुनावमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको छ । 
चुनावका लागि सरकारले आयोगलाई ८ अर्ब ११ करोड रुपैयाँ दिएको थियो।

३) नेपाल सम्पत्ति शुद्धिकरणको कालोसूचीमा पर्न सक्ने जोखिम बढेको छः महामन्त्री थापा 

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाल सम्पत्ति शुद्धिकरणको कालोसूचीमा पर्न सक्ने जोखिम बढेको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको पनि शसपटक अवस्था गम्भीर रहेको बताउनुभएको हो । 

उहाँले वर्तमान अवस्थाबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग गर्नुभएको छ । फाइनान्सियल एक्सन टाक्स फोर्स अन्तर्गतको एशिया प्यासिफिक ग्रुप अफ मनी लन्डिरिङले आगामी अक्टोबर र नोभेम्बरमा मूल्यांकन गर्ने भदै उहाँले विगतमा नेपाल कालोसूचीमा पर्नबाट जोगिएको पनि यसपटक कालोसूचीमा पर्ने जोखिम बढेको बताउनुभयो । 

उहाँका अनुसार सम्पत्ति शुद्धिकरण सम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसदमा जानकारी गराउनु पर्छ । नेपाल कालोसूचीमा पर्यो भने विप्रेषण र आयातमा निर्भर नेपालको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने र एलसी खोल्न नपाइने उहाँले बताउनुभयो । 

४) एकै दिनमा ७ अर्बले घट्यो बैंकहरूको निक्षेप

एकै दिनमा बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप संकलन ७ अर्बले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन ७ गतेसम्म बैंकहरूको निक्षेप ५० खर्ब ८१ अर्ब रूपैयाँ रहेको थियो । एकै दिनमा बैंक तथा वित्तिय संस्थाहरूको कुल निक्षेप ७ अर्बले घटेर साउन ८ गतेसम्म कुल निक्षेप ५० खर्ब ७४ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंक जनाएको छ ।  यो अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ६ अर्बले घटेर ४४ खर्ब ७० अर्बमा पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी १ अर्बले घटेर ४६ खर्ब ८७ अर्ब रूपैयाँमा झरेको छ । वाणिज्य बैंकहरूको कर्जा प्रवाह भने ४१ खर्ब ५८ अर्ब रूपैयाँमा स्थिर छ । बैंकहरूको औसत कर्जा( निक्षेप अनुपात (सीडी रेसियो) ८७.४४ प्रतिशतबाट बढेर ८७.६२ प्रतिशत पुगेको छ ।

५) समयमा काम सम्पन्न नगरेका ९ कम्पनी कालोसूचीमा

विभिन आयोजनाको निर्माण कार्य अलपत्र पार्ने ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक कार्यालयबाट आएको सिफारिसको आधारमा समयमा निर्माण कार्य नगर्ने बालाजु–त्रिशुली र छहरे–विदुर सडक विस्तार आयोजनाको काम गरिरहेको दिनेशचन्द्र आर÷नागर्जुन÷कोशी एन्ड न्यौपाने जेभीलाई तीन वर्षको लागि कालोसूचीमा राखिएको छ ।

पटक–पटक म्याद थप्दा समेत समयमा काम नगरेपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

यस्तै दाङमा खानेपानी आयोजनाको काम अलपत्र पार्ने शिवराम कन्स्ट्रक्सन कम्पनी÷सिद्धगढी इन्जिनियररिङ एन्ड बिल्डर्स जेभीलाई पनि तीन वर्षको लागि कालोसूचीमा राखिएको छ । सो कम्पनीले ५ वटा खानेपानी आयोजनाहरु अलपत्र पारेका छन् ।

यस्तै अर्को खानेपानी आयोजना अलपत्र पार्ने बिटी/शिवराम जेभीलाई पनि तीन वर्षको लागि कालोसूचीमा राखिएको छ। अनुगमन कार्यालयका अनुसार सुर्खेतमा गाउँ कार्यपालिकाको भवन निर्माण गर्ने अमन एन्ड इसा कन्स्ट्रक्सन, कञ्चनपुरमा नगर कार्यपालिकाको कार्यालय भवन निर्माण गरिरहेको आकाश एन्ड पवन कन्स्ट्रक्सनलाई सहरी विकास तथा भवन निर्माण विभागको सिफारिसमा एक वर्षको लागि कालोसूचीमा राखिएको छ ।

यस्तै आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौंको सिफारिसमा ड्रप सप्लाई एन्ड सर्भिसेज प्रालि, मन्डनदेउपुर काभ्रेपलान्चोकको सिफारिसमा थोकर÷निभा÷लयुल जेभीलाई र खोटाङमा नगरको कार्यालय भवन निर्माण गरिरहेको रुजन÷जगदम्बा÷भुवनेश्वरी एन्ड भैभव जेभीलाई अनुगमन कार्यालयले एक वर्षको लागि कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएको समयावधिमा कम्पनीले सार्वजनिक खरिदमा सहभागी हुन पाउने छैन ।

६) बैंकहरुलाई ब्याजदर बढाउन दबाब

मौद्रिक नीतिपछि बैक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर बढाउन दबाब परेको छ । यसअघिको ब्याजदर करिडोरमा राष्ट्र बैंकले समान १.५ प्रतिशतले वृद्धि गरेसँगै बैंकहरुमा ब्याजदर वृद्धिको तीव्र दबाब परेको हो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन ७ गतेसम्म अन्तरबैंक ब्याजदर ७ प्रतिशत थियो। साउन ८ गते अन्तरबैंक ब्याजदर बढेर ८.४५ पुगेको छ। राष्ट्र बैंकले मौद्रिक नीति मार्फत अनिवार्य नगद अनुपात (सीआरआर) ४ प्रतिशत र वैधानिक तरलता सुविधा (एसएलएफ) को दर वृद्धि गर्दै वाणिज्य बैंकहरुका लागि १२ प्रतिशत र विकास बैंकहरु तथा अन्य वित्तीय कम्पनीहरूका लागि १० प्रतिशत पुर्याएपछि बैंकहरु अप्ठेरोमा परेका हुन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकदर बढाउने निर्णय गरेको थियो ।

त्यसैको फलस्वरूप ट्रेजरी बिलको ब्याजदर बढेको हो । राष्ट्र बैंकले साउन १० गते जारी गरेको २८ दिने र ९१ दिने कुल १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलमा बैंकहरूले अधिकतम १२.२४ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याजदर माग गरेका छन् ।

यो हिसावले हेर्दा बैंकहरुले राष्ट्र बैंकसँग नै कारोबार गर्न चाहेको देखिन्छ । ट्रेजरी बिलको ब्याजदर बढ्नुले आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर पनि बढ्न सक्ने जानकारहरुले बताएका छन् ।

७) ४ बुँदे मागसहित नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु आन्दोलनमा

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु ४ बुँदे माग राखेर  आन्दोलनमा उत्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यकक्षको व्यवस्थाको माग गर्दै सोमबारदेखि आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनमा उत्रिएका प्राधिकरणका कर्मचारीहरुले श्रम नियमावली, २०७५ को नियम ४४ (ख) बमोजिम कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षको व्यवस्था हुनुपर्ने, युनियनको तर्फबाट गत २ पुसमा बुझाएका मागहरु पूरा हुनुपर्ने, कर्मचारीहरूलाई प्रदान गरिँदै आएको ऋण सापटी सुविधालाई बिमासँग तत्काल आवद्ध गरिनुपर्ने माग गर्दै आएका छन् । साउन १३ गते शुक्रबारसम्म आफ्ना माग सम्बोधन नभए थप आन्दोलन गर्ने उनिहरुले बताएका छन् ।

८) ब्लु स्काई सोलुसन नामक कल सेन्टरका बारेमा सीआईबीले अनुसन्धान थाल्यो 

रुपन्देही तिलोत्तमाको ब्लु स्काई सोलुसन नामक कल सेन्टरले गरेको कारोबार र गतिविधिबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेको छ । सूचना प्रविधिसम्बन्धी विज्ञ सहितको प्रहरी अधिकृतको २ जनाको टोलीले मंगलबारबाट अनुसन्धान थालेको हो । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ब्लु स्काई सोलुसन नामक कल सेन्टरमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको थियो । उक्त कल सेन्टरले भारतीय नागरिकलाई बैंकिङ ऋण प्रवाहका नाममा ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।

सोमबार साँझ बुटवल आइपुगेको सीआईबीको टोलीले मंगलबारदेखि बरामद गरिएका कम्प्यूटर, ल्यापटप र कल सेन्टरमा ऋण प्रवाहका लागि प्रयोग गरिएको एप्सहरुको बारेमा अनुसन्धान थालेको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

९) धितोपत्र बोर्डको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुँदै

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम साउन १२ गते बिहीबार सार्वजनिक गर्ने भएको छ। धितोपत्र बोर्डको  नीति तथा कार्यक्रम बिहीबार दिउँसो ३ बजेदेखि होटेल हिमालयन कुपन्डोलमा सार्वजनिक हुनेछ ।

१०) भारतीय स्टेट बैंकले सुरु गर्यो ह्वाट्सएप बैंकिङ सेवा

भारतीय स्टेट बैंक (एसबीआई)ले आफ्नो बचत बैंक र क्रेडिट कार्ड ग्राहकहरूको लागि व्हाट्सएप बैंकिङ सेवा सुरु गरेको छ । बैंकले आफ्नो ह्वाट्सएप बैंकिङ सेवाको बारेमा ट्विटरमा जानकारी दिएको हो । 

एसबीआई ग्राहकहरूले अब व्हाट्सएपबाट आफ्नो खाता ब्यालेन्स र मिनी स्टेटमेन्ट जाँच गर्न सक्छन । क्रेडिट कार्ड धारकहरूले यसलाई आफ्नो खाता सिंहावलोकन, इनाम अंक, भुक्तान नगरिएको ब्यालेन्स र थपको लागि प्रयोग गर्न सक्छन् ।