१९ माघ, २०८१ शनिबार

07:45:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख आर्थिक समाचारः मौद्रिक नीतिपछि सेयर बजारमा उछालदेखि एलन मस्कको प्रस्तावित सम्झौतामा ट्वीटरको ३३ मिलियन डलर खर्चसम्म

Nepal Business

८ साउन, २०७९

प्रमुख आर्थिक समाचारः मौद्रिक नीतिपछि सेयर बजारमा उछालदेखि एलन मस्कको प्रस्तावित सम्झौतामा ट्वीटरको ३३ मिलियन डलर खर्चसम्म

१) मौद्रिक नीतिपछि सेयर बजारमा उछाल

मौद्रिक नीतिपछि सेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन आइतबार सेयर बजार ६१.०५ प्रतिशतले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा ६१.०५ अंकले बढ्दा नेप्से परिसूचक २ हजार ७८.५१ विन्दुमा पुगेर बन्द भएको छ । 

आज सेयर कारोबारमा पनि सुधार आएको छ । आइतबार सेयर बजार बढ्दा २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँको कारोबार भएको छ भने ६४ लाख २३ हजार १४६ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै आज सबै उपसमुहमा हरियाली छाएको छ । कम्पनीहरुमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टीप्रपज फाइनान्समा सकरात्मक सर्किट ब्रेक लागेको छ । 

२) हालसम्म ८ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक

आर्थिक वर्ष २०७८÷७९ को विभिन्न वाणिज्य बैंकहरुले चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सो अवधिको हालसम्म अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नेमा एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक,  प्रभु बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक र सानिमा बैंक रहेका छन् ।

८ मध्ये ७ वटा बैंकको नाफा बढेको छ भने एउटा बैंकको नाफा घटेको छ । यस अवधिमा  सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले असार समान्तसम्म ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ रहेको छ । त्यसपछि एनआइसी एसिया रहेको छ । बैंकले असार मसान्तसम्ममा ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ ।

नेपाल राष्ट्र बैंकले बिहिबार एकीकृत निर्देशिकामा संसोधन गर्दै साउन २१ भित्र गतवर्षको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने निर्देशन दिएको थियो । 

३) छानबिन समितिले माग्यो सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले सिंहदरबारको पश्चिम र दक्षिण गेटका सीसीटीभी फुटेज माग गर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको छानबिन समिति बैठकले बजेट निर्माणको अघिल्लो रात १४ र १५ गते सिंहदरबारमा को आएका हुन् भन्ने प्रमाण जुटाउनका लागि दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज माग गरेको हो ।

छानबिन समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले समितिका सदस्यहरूले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय भएको बताउनुभयो । बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरेको विषय बाहिरिएपछि त्यस विषयमा संसदीय समितिले छानबिन गरिरहेको छ ।

४) सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ ।  मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, नेपाल पर्यटन बोर्ड तथा अन्य सम्बन्धित मन्त्रालयको सहयोगमा ३ महिनाभित्र आवश्यक तयारी अघि बढाइने मन्त्रालयको भनाइ छ ।  मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने भएको छ । कोरोना महामारीका कारण सन् २०२० को नेपाल भ्रमण वर्ष स्थगित गरिएको थियो । सन् २०२० मा नेपालमा २० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको थियो ।

५) एक वर्षमा हवाईमार्गबाट करिब दुई खर्बको वस्तु आयात

गत आर्थिक वर्ष २०७८÷७९ मा हवाईमार्गबाट करिब दुई खर्बको वस्तु तथा सामान आयात भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको तथ्यांक अनुसार यस अवधिमा एक खर्ब ९४ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबरको विभिन्न वस्तुहरु आयात भएको हो । यसरी आयात भएको विभिन्न वस्तुहरुबाट २१ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।    

हवाईमागबाट सबैभन्दा धेरै सुन आयात भएको छ । जसमा ४३ अर्ब ४० करोड ९६ लाख रुपैयाँ बराबरको ५६ लाख २६ हजार ७९९ ग्राम काँचो र व्यवसायिक प्रयोजनका लागि सुन आयात भएको त्रिवि भन्सार कार्यालये जनाएको छ । सुन आयातबाट ४ अर्ब ८३ करोड २३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।    

यस्तै दोस्रो बढि आयात हुने वस्तुमा मोबाइल फोनहरु रहेका छन् । गत आवमा १८ अर्ब ९१ करोड ५९ लाख रुपैयाँ बराबरको १३ लाख ४७ हजार ५१४ वटा मोबाइल फोनका सेटहरु आयात भएका छन् भने यसबाट २ अर्ब ९८ करोड २१ लाख राजस्व संकलन भएको छ ।

यस्तै, तेस्रामा १६ हर्ब ८९ करोड ३१ लाख रुपैयाँ बराबरको चाँदी तथा चाँदीका गहनाहरु आयात भएका छन् । जुन गत आवमा १७ करोड ७४ लाख ३० हजार १६२ ग्राम चाँदी नेपाल भित्रिएको छ । जसबाट एक अर्ब ५९ करोड ७६ लाख राजस्व संकलन भएको छ ।

६) तत्कालीन अध्यक्ष काफ्ले, कार्यालय प्रमुख थापा र प्रोपाइटरहरुसमेत ४ जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा तत्कालीन अध्यक्ष करूणा काफ्ले, कार्यालय प्रमुख तारा बहादुर थापा र प्रोपाइटरहरुसमेत ४ जना विरुद्ध मुद्दा दायर गरेको छ । 

आइतबार आयोगले पाल्पा, खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष करूणा काफ्ले, कार्यालय प्रमुख तारा बहादुर थापा र प्रोपाइटरहरुसमेत ४ जनाउपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालत काठमाण्डौमा आरोप–पत्र दायर गरेको हो । 

आयोगका अनुसार उनीहरुले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ मा उल्लेख भएको प्रावधान विपरीत डिपीआर जस्तो गहन तथा सुक्ष्म अध्ययन हुनुपर्नेमा सो नगरी फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स कमपनीसँग अति संक्षिप्त रुपको परामर्श सेवा खरिद सम्झौता गरेको डिपीआर पेश गरेपछि मात्र भुक्तानी दिनुपर्ने ९ लाख ९० हजार रुपैया डिपीआर नै पेश नगरी आइआर रिर्पोटलाई नै डिपीआर रिर्पोट भनि फिशेन इन्जिनियर्स एण्ड बिल्डर्स कम्पनीका प्रोप्राइटरले पेश गरेको झुठा बिल भरपाईका आधारमा विगो ९ लाख ९० हजार रुपैयाँ जरिवाना कायम गरिएको छ । 

७) नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदैँ

नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार दैनिक २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ। 

आर्थिक वर्ष २०७८÷०७९ को ११ महिनामा ९ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ विदेशबाट नेपाल भित्रिएको छ ।सबैभन्दा बढी फागुन, चैत, वैशाख र जेठ महिनामा बढी रेमिट्यान्स आएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी चैत महिनामा ९३ अर्ब ३८ करोड रुपैयाँ नेपाल भित्रिएको छ ।

राष्ट्र बैंकका अनुसार फागुन महिनामा ९१ अर्ब, ७ करोड, वैशाखमा ८७ अर्ब ५ करोड, जेठमा ९३ अर्ब ३९ करोड भित्रिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ र २०७६÷०७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ वैदेशिक रेमिट्यान्स भित्रिएको छ ।

८) डिम्याट खाता खोल्नेको संख्या ५४ लाख नजिक

सेयर बजारको प्रवेश विन्दु नै डिम्याट खाता भएकोले यो लिने मानिसहरुको क्रेज दिनानु दिन बढिरहेको छ । हालसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या  ५३ लाख नाघेको छ । सिडीएस एण्ड क्लियरिङको तथ्यांक अनुसार साउन ८ गतेसम्म डिम्याट खाता खोल्नेको संख्या ५३ लाख ९  सय ३१ पुगेको छ ।

पछिल्लो ५ महिनाको अवधिमा ३ लाख डिम्याट खाता थपिएका हुन्  । गत फागुन २३ गतेसम्म नेपालमा डिम्याट खाताको संख्या ५० लाख २८ हजार १ सय ४० रहेको थियो  । गत असोज २२ गते शुक्रबारसम्म डिम्याट खाताको संख्या ४५ लाख १६ हजार ३६ थियो ।  यस अवधिमा मेरोसेयर खाता खोल्नेको संख्या ४४ लाख १ हजार ५७ रहेको छ ।

९) मुलुकभर ३०९ वटा उद्योगहरु दर्ता

आर्थिक वर्ष २०७८÷७९ मा मुलुकभर ३०९ वटा उद्योगहरु दर्ता भएका छन् । उद्योग विभागका अनुसार यी उद्योगमा कुल ३ खर्ब ४३ अर्ब लगानी गर्ने उद्योगीहरुले प्रतिबद्धता जनाएका छन् । जसमध्ये ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी रहेको उद्योग रहेका छन् । यससँगै मुलुकभर दर्ता भएका उद्योगको कुल संख्या ८ हजार ७६४ पुगेको विभागले जनाएको छ ।

१०) सामाजिक सञ्जाल किन्ने एलन मस्कको प्रस्तावित सम्झौतामा ट्वीटरको ३३ मिलियन डलर खर्च

टेस्ला मालिक सामाजिक सञ्जाल किन्ने एलन मस्कको प्रस्तावित सम्झौतामा ट्वीटरले ३३ मिलियन डलर खर्च गरेको जनाएको छ । ट्वीटरले अप्रिल र जुनको बीचमा सामाजिक सञ्जाल किन्ने एलन मस्कको प्रस्तावित सम्झौतामा ३३ मिलियन डलर खर्च गरेको जनाएको हो । 

मस्कले हालसालै ट्वीटरसँगको सम्झौता परिवर्तन गर्ने इच्छा देखाउनुभएको थियो । तर ट्वीटर पूर्ववत सम्झौताअनुसार अगाडि बढ्न चाहन्छ । तसर्थ, दुई पक्षबीच मतभेद बढ्दा यो विषय अदालतसम्म पुगेको छ ।

सन् २०२२ को अप्रिलदेखि जुनसम्म सक्रीय प्रयोगकर्ताको संख्या २३७ मिलियन पुगेको तर २७० मिलियन नै कुल घाटा भएको कम्पनीले जनाएको छ । मस्क सम्झौताबाटपछि हट्दा १ अर्ब डलर टर्मिनेसन शुल्कको जोखिम रहेको बीबीसीले जनाएको छ ।