१९ माघ, २०८१ शनिबार

09:51:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख आर्थिक समाचारः चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिकदेखि श्रीलंकाको प्रधानमन्त्रीको शपथसम्म

Nepal Business

६ साउन, २०७९

प्रमुख आर्थिक समाचारः चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिकदेखि श्रीलंकाको प्रधानमन्त्रीको शपथसम्म

 

१) चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक सार्वजनिक गर्दै सेयर बजारमा लगाएको ४÷१२ को नीतिमा हेरफेर गरिएको बताउनुभएको छ । 

उहाँले एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताउनुभयो ।

यस्तै उहाँले बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा सेयर कारोबार रोक्का नहुने, कोभिडका बेला दिइएको सहुलियत कर्जा कटौती हुने, बैंकदरलाई बढाएर साढे ८ प्रतिशत वृद्धि र कर्जा केन्द्रिकरण घटाउने लगायतका निर्णय मौद्रिक नीतिमा समावेश गरिएको बताउनुभयो । 

२) सेयर बजारमा दोहोरो अंकको गिरावट

बिहीबार झिनो अंकले ओरालो लागेको सेयर बजार आज शुक्रबार भने दोहोरो अंकले घटेको छ ।लगानीकर्ताका अनुसार सेयर बजारमा लगाएको ४÷१२ नीति नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत नहटाउने भएपछि सेयर बजार घटेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज सेयर बजार २७.२६ अकंले घटेर २ हजार १७.४६ विन्दुमा झरेर बन्द भएको छ । सेयर बजार घट्दा १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँको कारोबार भएको छ भने ३३ लाख २० हजार ५१२ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै सबै उपसमुहरु घटेका छन् भने कम्पनीहरुमा किसान लघुवित्त वित्तीय संस्था ८.४१ प्रतिशत, गणपति लघुवित्त वित्तीय संस्था ६.०७ प्रतिशत र नयाँ सारथी लघुवित्त वित्तीय संस्था ४.०१ प्रतिशतले बढेका छन् ।

३) विभिन्न सहकारी संस्थाहरुलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम 

राष्ट्रिय सहकारी बैंकले ऋणी संस्थाहरुका लागि ३५ दिने सूचना जारी गरेको छ । शुक्रबार बैंकले सूचना जारी गर्दै बैंकबाट ऋण लिएका विभिन्न सहकारी संस्थाहरुलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम दिएको हो । 

राष्ट्रिय सहकारी बैंकले उक्त सूचना मार्फत चार वटा सहकारी संस्थाहरुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकलाई ऋण चुक्ता गर्नुपर्ने जनाएको छ ।  बैंकबाट ऋण लिएका सहकारीहरुमा इटहरी रहेको निर्धन ग्रामिण बचत तथा ऋण सहकारी संस्था, प्रकृति महिला बचत तथा ऋण सहकारी संस्था, पूर्णिमा बचत तथा ऋण सहकारी संस्था र धरानमा रहेको नमो बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

४) काठमाण्डौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर बढ्यो

काठमाण्डौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर बढेको छ । बागमति प्रदेश सरकारले बिहीबारदेखि नै लागु हुनेगरी काठमाण्डौंमा चल्ने सार्वजनिक सवारीसाधन चढ्ने वित्तीकै ५ किलोमिटरको दूरीसम्म २० रुपैयाँ लाग्ने भएको छ । 

यस्तै क्रमशः १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडा लाग्नेछ । यसअघि चढ्नेवित्तीकै ५ किलोमिटरसम्म २० रुपैयाँ नै थियो भने १० किलोमिटरसम्म २५, १५ किलोमिटरसम्म ३०, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ थियो ।

यस्तै बागमति सरकारले काठमाण्डौं उपत्यकाबाहिर बागमति प्रदेशभित्रै चल्ने सवारीसाधनको भाडादरमा यसअघिको तुलनामा ८ प्रतिशतले वृद्धि गरेको छ ।

५) बैंक तथा वित्तीय संस्थाले अपरिस्कृत वित्तीय विवरण साउनको तेस्रो साता भित्र सार्वजनिक गर्नुपर्ने

बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण साउनको साउन २१ गतेभित्र सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार एकीकृत निर्देशिकामा संसोधन गर्दै साउन २१ भित्र गतवर्षको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने जानकारी दिएको हो । बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय स्तरको पत्रिकामा वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ ।

बैंकहरुले त्रैमासिक विवरण एकसाताभित्र प्रकाशित गर्नुपर्छ । वाणिज्य बैंकहरुमा एनआईसी एशिया बैंकले भने वित्तीय विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले गत वर्षे आर्थिक वर्ष सकिएको एक महिनाभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको थियो ।

६) बजेट निर्माण प्रकरणः विशेष छानविन समितिको समयसिमा भित्र काम सक्ने तयारी 

बजेट निर्माणका क्रममा अनाधिकृत ब्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिले थप गरिएको समयसिमा भित्रै काम सक्ने तयारी गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा थप गरिएको समयसिमा भित्रै छानविनका बाँकी काम सक्ने गरि तयारी गर्न छलफल भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

पूर्व अर्थमन्त्री जनार्दन शर्मा र समाचार लेख्ने पत्रकारहरुको भनाईका बारेमा पनि बैठकमा छलफल भएको थियो । समितिको अर्को बैठक आइतबार बस्ने र छानविनका थप प्रक्रिया सुरु गरिने सचिव अर्यालले बताउनुभयो।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो भने समितिको म्याद सात दिन थप गरिएको थियो ।

७) सहज ढंगले स्वास्थ्य बीमा भुक्तानी पाउने व्यवस्था मिलाउन स्वास्थ्य समितिद्धारा सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले जनताले सहज र सरल ढंगले स्वास्थ्य बीमा भुक्तानी पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले स्वास्थ्य बीमाका बिषयमा धेरै समस्या देखिएमो भन्दै स्वास्थ्य बीमा भुक्तानीका देखिएका समस्याहरु समाधान गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार गर्न जादा धेरै समस्या झेल्नुपरेको भन्दै यस्ता समाधानहरु पनि दिर्घकालिन रुपमा नै समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिनुभयो । बैठकले सरकारी भन्दा पनि नीजि अस्प्तालमा बीमा भुक्तानीको समस्या भएको गुनासो आएको भन्दै ऐन कानूनको व्यवस्था अनुसार समस्या हल गर्न पनि निर्देशन दिएको छ ।

८) नगद मौज्दात ४ प्रतिशत कायम

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर)को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गरेका हुन् । यसको अर्थ अब बैंकहरुले निक्षेपको ४ प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ ।

९)  थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि

दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गहिरहेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय ६८ जनामा पीसीआर परीक्षण गर्दा ३ सय ८४ जना र १६ सय ७० जनामा एन्टिजेन परीक्षण गर्दा ७२ जनामा गरी थप ४ सय ५६  जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या २८ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ८० जना संक्रमणमुक्त भएका छन् ।

१०) श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त

सत्तारुढ दल श्रीलंका पोदुजना पेरामुना(एसएलपीपी) का सांसद दिनेश गुणावर्धने श्रीलंकाको प्रधानमन्त्रीमा नियुक्त   हुनुभएको छ। शुक्रबार राष्ट्रपति रनिल विक्रमासिंघेले गुणावर्धनेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । गुणावर्धनेले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

६ पटकसम्म प्रधानमन्त्री बन्नुभएका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बन्नुभएको हो । ७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बन्नुभएको थियो । गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको थियो।