१९ माघ, २०८१ शनिबार

09:55:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख आर्थिक समाचारः सेयर बजारमा गिरावटदेखि विश्वका धनीहरूको सूचीमा भारतका अडानी चौथोमासम्म

Nepal Business

५ साउन, २०७९

प्रमुख आर्थिक समाचारः सेयर बजारमा गिरावटदेखि विश्वका धनीहरूको सूचीमा भारतका अडानी चौथोमासम्म

१) सेयर बजारमा ५.८७ अंकको गिरावट

चालु आर्थिक वर्ष सुरु भएदेखि लगातार बढेको सेयर बजार बिहीबार घटेको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)का अनुसार सेयर बजार ५.८७ अंकले घटेको छ । नेप्सेका अनुसार सेयर बजार झिनो अंकले घट्दा नेप्से परिसूचक २ हजार ४४.७२ मा बन्द भएको छ । 

आज सेयर बजार घट्दा १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ रुपैयाँको कारोबार भएको छ भने ३९ लाख ८ हजार ३ सय ९५ कित्ता सेयर किनबेच भएका छन् । यस्तै उपसमुहतर्फ बैंकिङ ०.१७ प्रतिशत र अन्य १.०९ प्रतिशतले बढेका छन् भने बाँकी सबै घटेका छन् । 

कम्पनीहरुमा सेन्ट्रल फाइनान्स कम्पनी ३.१६ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था २.७४ प्रतिशत र १०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक डिभेञ्चर २.७२ प्रतिशतले बढेका छन्।

२) बजेट तयारीका बेला अनाधिकृत रुपमा कसैलाई प्रवेश गराएको छैनः पूर्व अर्थमन्त्री शर्मा

पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट तयारीका क्रममा कुनै पनि अनाधिकृत व्यक्तिलाई प्रवेश नगराएको तथा कुनै पनि अनाधिकृत काम नगरेको बताउनुभएको छ । संसदीय समितिको बैठकमा आफ्नो धारणा राखेर बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अर्थमन्त्रीको हैसियतमा आफैँले करको दर हेरफेर गरेको र त्यसमा अनाधिकृत व्यक्तिको संलग्नता नगराएको बताउनुभएको हो । 

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने सन्दर्भमा प्रतिनिधिसभाले गठन गरेको संसदीय छानबिन विशेष समितिले आज शर्मासंग सोधपुछ गरेको थियो । 

उहाँले आफूमाथि लागेको आरोप निराधार रहेको समेत बताउनुभयो । पूर्वअर्थमन्त्री शर्माले विधि, नियम र कार्यविधिमा रहेर नै आफूले बजेट तय गरेको दाबी गर्नुभयो । 

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै शर्माको चौतर्फीरुपमा आलोचना भएपछि प्रतिनिधिसभाले गत असार २२ गते ११ सदस्यीय संसदीय समिति गठन गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिलाई १० दिनको समयावधि दिएका छन् ।  

३) त्रिभुवन विमानस्थल भन्सारद्धारा १०२.६ प्रतिशत राजस्व संकलन

गत आर्थिक वर्ष २०७८÷७९ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १०२.६ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार यो लक्ष्यभन्दा बढि हो । गत आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य २३ अर्ब १५ करोड रुपैयाँ तोकिदिएको थियो । तर, कार्यालयले यस अवधिमा २३ अर्ब ७५ करोड रुपैयाँ कूल राजस्व असुली गरेको हो । 

त्रिवि भन्सार कार्यालयले गएको चार वर्ष पश्चात पहिलो पटक आफ्नो लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७÷७८ को तुलनामा यस आर्थिक वर्षको राजस्व असुली ३६.१२ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाको छ । जुन समग्र राष्ट्रिय राजस्व वृद्धिको तुलनामा समेत बढी रहेको छ ।

यात्रुले झिटी गुन्टा आदेश बमोजिम राजस्व छुट पाउने भन्दा बढी परिमाणमा ल्याउने गरेको सुन तथा सुनका गहना र मोबाइल लगायतका अन्य माल वस्तुलाई भन्सार राजस्वको दायरामा ल्याउनका लागि गरिएको विशेष प्रयासबाट समेत समग्र राजस्व संकलनमा महत्त्वपूर्ण योगदान पुगेको कार्यालयले जनाएको छ ।

४) मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी, प्रधानमन्त्रीलाई बिफ्रिङ गरिँदै

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीति ल्याउन सम्पूर्ण तयारी पूरा भइसकेकोले शुक्रबार सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।

राष्ट्र बैंकको अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीतिको ड्राफ्टलाई राष्ट्र बैंकका उच्च अधिकारीले अन्तिम रुप दिएर बिहीबार अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बिफ्रिङ गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री देउवाले मौद्रिक नीतिका विषयमा छलफल गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधु मरासिनीलाई बिहीबार बालुवाटार बोलाउनुभएको छ । राष्ट्र बैंकले तयार गरेको ड्राफ्टलाई प्रधानमन्त्रीले स्वीकृति दिए शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको योजना छ । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । 

५) पूँजी बजार सुधारका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र सेबोनलाई चेम्बरको दियो सुझाव

नेपाल चेम्बर अफ कमर्सले पूँजी बजारको विकासका लागि सरोकारवाला सरकारी निकायमा विभिन्न नीतिगत सुझाव पेश गरेको छ । चेम्बरले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेस गरेको हो।

विभिन्न कारणले पछिल्लो समय पुँजी बजार धरासायी बन्दै गएको एवं लगानीकर्ताहरु निकै समस्यामा परेकाले समाधानका लागि सरोकारवाला तीन वटै निकायमा छुट्टा छुट्टै सुझाव पेश गरिएको हो।

धितोपत्र बजारबाट पुँजी निर्माणलाई प्रोत्साहन हुने गरी अन्तर्राष्ट्रियस्तरमा प्रचलनमा रहेबमोजिम विभिन्न कोषहरु सञ्चालनका लागि कर सम्बन्धमा यथोचित व्यवस्था गर्न चेम्बरले अर्थ मन्त्रालयसँग आग्रह गरेको छ।

धितोपत्रका विभिन्न औजारहरु कारोबारमा ल्याउँदा सोबाट हुने लाभमा कर लाग्ने व्यवस्था गर्दा लावान्धितबाट लिईने व्यवस्था गरि धितोपत्र औजारको विभिधिकरणलाई प्रोत्साहन गर्न पनि चेम्बरले सुझाव दिएको छ ।

मौद्रिक नीति सार्वजनिक गर्नुअघि पूँजी बजारलाई सम्बोधन गर्नुपर्ने विषय समावेश गर्दै चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकलाई पनि छुट्टै तीन बुँदे सुझाव दिएको छ । चेम्बरले धितोपत्र बोर्डलाई छुुट्टै १० बुँदे सुझाव समेत पेश गरेको छ । अन्तराष्ट्रिय प्रचलन बमोजिम धितोपत्र बजारसँग सम्वन्धित सम्पुर्ण नीतिगत, कार्यगत तथा प्रणालीगत सुधार गर्नुपर्ने चेम्बरको सुझावमा उल्लेख छ  ।

६) गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै माइतीघरमा विद्यार्थीको कार्टुन प्रदर्श

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले आज (बिहिबार) काठमाडौंको माइतीघरमा कार्टुन प्रदर्शन गरेका छन् । गभर्नर विरुद्द आन्दोलन गरिरहेका नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिटक अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले माइतीघरमा आज दिउँसो ३ बजेबाट कार्टुन प्रदर्शन गरेको हो।

उनीहरुले यस अघि हिजो (बुधबार) राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरीका कार्यालयहरूमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गरेका थिए  । उनीहरुले साउन  ६ गते शुक्रबार देशैभरी क्याम्पसहरूमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने बताएका छन् । त्यस्तै  साउन ७ गते संघीय सांसदहरुलाई  गभर्नर बर्खास्तीको माग गर्दै आवाज संसद्मा उठाउन अनुरोध गर्दै प्रदर्शनीमार्ग अगाडि सडकबाट सन्देश पठाउने कार्यक्रम विद्यार्थी संगठनहरूले तय गरेका छन् ।

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेको एम अधिकारी गभर्नर अधिकारी नै रहेको दाबी गर्दै विद्यार्थी संघसंगठन केही दिनअघिदेखि गभर्नरको राजीनाको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेका छन्।  यद्यपि उहाँले आफु एम अधिअकरी नभएको र एमालेको विभागको सदस्य नरहेको बताउँदै आउनुभएको छ भने  एमालेले पनि एम अधिकारी भन्ने व्यक्ति गभर्नर नभएको प्रष्टीकरण दिएको छ।

७) बीमा कम्पनीद्धारा १ खर्ब ३९ अर्ब बीमाशुल्क संकलन 

आर्थिक वर्ष २०७८/७९ मा जीवन बीमा कम्पनीले १ खर्ब ३९ अर्ब रूपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले गत आव २०७८/७९ मा १ खर्ब ३९ अर्ब ८ करोड ९८ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४.९९ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा १९ जीवन बीमा कम्पनीहरूले १ खर्ब २० अर्ब ९५ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

८) जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष समितिको म्याद ७ दिन थप

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ । आर्थिक वर्ष २०७९। ८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो ।  संसद्मा सभामुख अग्निप्रसाद सापकोटाले समितिको म्याद  ७ दिन थप गर्न राखेको प्रस्ताव पारित भएको हो ।सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुनः ७ दिन थप भएको हो ।

९) १ करोड मूल्य बराबरको अवैध सामान बरामद

काठमाडौं महानगरपालिका वडा नम्बर ७ सरस्वतीनगरस्थित एक घरमा रहेको अवैध गोदाममा प्रहरीले छापा मारेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोदाममा छापा मारेको हो । अवैध सामान भण्डारण गरेर राखेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोदाममा छापा मार्दा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबर, अक्सिमिटर र पटका लगायत १ करोड मूल्य बराबरको अवैध सामान बरामद भएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

उहाँले सामान भन्सार छलेर ल्याइएको पाइएको भन्दै गोदामका मालिक पर्साको  प्रसौनी गाउँपालिका १ घर भएर कपन बस्ने छविलाल अगस्तीलाई पक्राउ गरिएको बताउनुभयो । अगस्तीले सिजल एण्ड सु्जता टेण्ड्रिङ प्रालि भनेर दर्ता गरेको फर्मको गोदाममा उक्त परिणामको अवैध सामान बराम गरिएको हो ।

१०) विश्वका धनीहरूको सूचीमा भारतका व्यापारी गौतम अडानी चौथो नम्बरमा

भारतका उद्योगपति गौतम अडानी विश्वका धनीहरूको सूचीमा चौथो नम्बरमा पुग्नुभएको छ। उहाँले नेटवर्थ बढेर ९.२ लाख करोड पुर्याउदै विश्वका चौथो धनीको सूचीमा पुग्नु भएको हो । धनीको सूचीबाट उहाँले माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई तल झारेका छन् । फोर्ब्सको धनी सूचीका अनुसार अडानी ११५.४ बिलियन डलर भएको छ भने गेट्सको कुल सम्पत्ति १०४.२ बिलियन डलर छ । अर्थात् दुवैको नेटवर्थमा करिब ११ अर्ब डलरको अन्तर छ ।

अडानी यसै वर्ष अप्रिल ४ मा १०० अर्ब डलरको क्लबमा सामेल हुनुभएको थियो । उहाँ एसियाकै धनी व्यक्ति पनि हुनुहुन्छ । फोर्ब्सको सूचीमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी १० नम्बरमा हुनुहुन्छ ।