९ मंसिर, २०८१ आइतबार

05:43:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजेट तयारीका बेला अनाधिकृत रुपमा कसैलाई प्रवेश गराएको छैनः पूर्व अर्थमन्त्री शर्मा

Nepal Business

५ साउन, २०७९

बजेट तयारीका बेला अनाधिकृत रुपमा कसैलाई प्रवेश गराएको छैनः  पूर्व अर्थमन्त्री शर्मा

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट तयारीका क्रममा कुनै पनि अनाधिकृत व्यक्तिलाई प्रवेश नगराएको तथा कुनै पनि अनाधिकृत काम नगरेको बताउनुभएको छ । 

संसदीय समितिको बैठकमा आफ्नो धारणा राखेर बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अर्थमन्त्रीको हैसियतमा आफैँले करको दर हेरफेर गरेको र त्यसमा अनाधिकृत व्यक्तिको संलग्नता नगराएको बताउनुभएको हो । 

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने सन्दर्भमा प्रतिनिधिसभाले गठन गरेको संसदीय छानबिन विशेष समितिले आज शर्मासंग सोधपुछ गरेको थियो । 

उहाँले आफूमाथि लागेको आरोप निराधार रहेको समेत बताउनुभयो । पूर्वअर्थमन्त्री शर्माले विधि, नियम र कार्यविधिमा रहेर नै आफूले बजेट तय गरेको दाबी गर्नुभयो । 

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै शर्माको चौतर्फीरुपमा आलोचना भएपछि प्रतिनिधिसभाले गत असार २२ गते ११ सदस्यीय संसदीय समिति गठन गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिलाई १० दिनको समयावधि दिएका छन् ।