९ मंसिर, २०८१ आइतबार

05:43:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

छानविन समितिमा जनार्दन शर्माको बयान : बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता छैन

५ साउन, २०७९

छानविन समितिमा जनार्दन शर्माको बयान : बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता छैन

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थि वर्षको बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको संलग्नता नरहेको बयान दिनुभएको छ ।

संसदीय छानविन विशेष समितिको आज (बिहीबार) बसेको बैठकमा शर्माले बयान दिनुभएको हो । उहाँले संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गर्दै बजेट निर्माण प्रक्रियामा बाहिरी व्यक्तिको संलग्नता नरहेको बयान दिनुभएको हो ।

आर्थिक वर्ष २०७९।८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । सोही दिन प्रतिनिधिसभाले शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो।

समितिले यो प्रकरणमा मुछिएका भनिएका बिभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्ने क्रममा आज निवर्तमान मन्त्री शर्मासँग पनि सोधपुछ गरेको हो । शर्माले बजेट निर्माणमा मन्त्रालयका अधिकारीहरुबाहेक अन्य असम्बन्धित व्यक्ति कोही पनि संलग्न नभएको बताए । स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा बजेट निर्माण गरिएको उनले बताए ।