१९ माघ, २०८१ शनिबार

10:39:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख आर्थिक समाचारः सेयर बजारमा सुधारदेखि भारत सरकारले पेट्रोलियम पदार्थको निर्यातमा लगाएको कर हटायोसम्म

Nepal Business

४ साउन, २०७९

प्रमुख आर्थिक समाचारः सेयर बजारमा सुधारदेखि भारत सरकारले पेट्रोलियम पदार्थको निर्यातमा लगाएको कर हटायोसम्म

१) सेयर बजार ४.८९ अंकले बढ्यो

लगातार सेयर बजार उकालो लाग्ने क्रम जारी छ । चालु आर्थिक वर्ष सुरु भएदेखि नै सेयर बजार उकालो लागिरहेको छ । उकालो लाग्ने क्रममा बुधबार सेयर बजार ४.८९ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)का अनुसार सेयर बजार ४.८९ अंकले बढ्ुदा नेप्से परिसूचक २ हजार ५०.५९ विन्दुमा पुगेर बन्द भएको छ। 

सेयर बजार बढ्दा कारोबार भने घटेको छ । मंगलबार कारोबारमा केहि सुधारदेखिए पनि आज भने घघटेको छ । आज १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयााको कारोबार भएको छ भने ४१ लख ३३ हजार ७०९ कित्ता सेयर किनबेच भएका छन् । 

सेयर बजार बढ्दा बैंकिङ, टे«डिङ, होटल एण्ड टुरिजम, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स घटेका छन् भने बाँकी बढेका छन् । कम्पनीतर्फ मल्टिप्रपोज फाइनान्स कम्पनी ५.६९ प्रतिशत, कर्णाली विकास बैंक ४.३५ प्रतिशत, शिवम् सिमेन्ट ३.८७ प्रतिशतले बढेका छन् । 

२) एक वर्षमा ३ खर्ब १० अर्बभन्दा बढिको इन्धन आयात

गत आर्थिक वर्ष २०७८÷७९ मा ३ खर्बभन्दा बढिको इन्धन आयात भएको छ । एक वर्षको अवधिमा नेपालले ३ खर्ब १० अर्ब १८ करोड १६ लाख ७६ हजार रुपैयाँ बराबरको इन्धन आयात गरेको हो । 

नेपाल आयल निगका अनुसार यस अवधिमा सो मूल्य बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टितेल र ग्यास) आयात भएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा एक खर्ब ५८ अर्ब रुपैयाँ बराबरको २८ लाख ६६ हजार किलोलिटर आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले पेट्रोलियम पदार्थको आयात बढेको हो ।
निगमका अनुसार एक वर्षको अवधिमा सबैभन्दा धेरै १७ लाख ४० हजार ९८६ किलोलिटर डिजेल आयात भएको छ । 

३) राष्ट्र बैंकले डलर सटही सुविधा घटायो

नेपाल राष्ट्र बैंकले नेपालीलाई डलर साट्न पाउने सुविधा घटाएको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले विदेश घुम्न जाने नेपालीले पाउने सुविधामा कटौती गरेको हो । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने व्यक्तिले एअरपोर्टको मनी चेन्जरबाट २ सय डलरभन्दा बढी साट्न नपाइने व्यवस्था लागू गरेको छ ।

यस्तै वाणिज्य बैंकबाट भने १५ सय डलरको सटही सुविधा पाउने व्यवस्था छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ८३ अर्ब रुपैयाँ नेपालीहरुले विदेश भ्रमणको क्रममा खर्च गरेका छन्।

४) ३ विद्यार्थी संगठनद्धारा गभर्नरको राजीनामा माग 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बुधबार पनि विरोधका कार्यक्रम गरिएको छ । आज राष्ट्र बैंकको अगाडि नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्बद्ध विद्यार्थी संगठनहरुले बालुवाटारस्थित राष्ट्र बैंक कार्यालय अगाडि कालो ब्यानर टाँगेर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘अवैध गभर्नर राजीनामा दे’ भन्दै विरोध प्रदर्शन गरेका छन् । 

गभर्नरले राजीनामा नदिएसम्म विरोध कार्यक्रम जारी रहने विद्यार्थीहरुले जनाएका छन् ।  विद्यार्थी संगठनहरुले गभर्नरको शैक्षिक योग्यतामा पनि प्रश्न उठाएका छन् । साथै, गभर्नरको गलत नीतिका कारण अर्थ व्यवस्था संकटपूर्ण अवस्थामा पुगेको उनीहरुको दाबी छ । विशेषगरी, एम अधिकारीको नाममा नेकपा एमालेको अर्थ विभाग सदस्य बनेको भन्दै चर्को आलोचना भइरहेको छ

५) दुई दिनमै वाणिज्य बैंकहरुको निक्षेप ५९ अर्बले घट्यो

वाणिज्य बैंकहरुको निक्षेप दुई दिनमै ५९ अर्ब रुपैयाँ घटेको छ । असार मसान्तसम्ममा वाणिज्य बैंकहरुमा ५१ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप थियो । तर चालु आर्थिक वर्षको २ दिनमा बैंक तथा वित्तीय संस्थामा ५० खर्ब ९० अर्ब रुपैयाँ निक्षेप छ ।

यस्तै वाणिज्य बैंकमा ४५ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप थियो । जुन साउन २ गते ४४ खर्ब ८१ अर्बमा झरेको छ । यस्तै असार मसान्तपछि ऋण समेत घटेको छ । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ऋण दिएका थिए । जसमा वाणिज्य बैंकले मात्र ४१ खर्ब ६८ अर्ब ऋण दिएका थिए ।

साउन २ मा आइपुग्दा बैंक तथा वित्तीय संस्थाको ऋण ४६ खर्ब ९६ अर्ब तथा वाणिज्य बैंकको ४१ खर्ब ६५ अर्बमा झरेको छ । निक्षेप घटेको कारण असार मसान्तमा ८६.२२ प्रतिशतमा झरेको कर्जा निक्षेप अनुपात ८७.८० प्रतिशतमा पुगेको छ । वाणिज्य बैंकहरुले असार मसान्तमा स्थानीय तहको कोषमा रहेको ८० प्रतिशतको रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो ।

६) ७ करोड २१ लाख रुपैयाँका काठमाण्डौंमा थप ३ वटा नयाँ दमकल

काठमाण्डौं महानगरमा नयाँ ३ वटा दमकल थपिएका छन् । दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आव्हान गरिएको थियो । त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनौट भएको थियो ।

कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको हो । दमकलको इञ्जिन क्षमता २७० एचपी हो । दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ ।

७) सभिल सेभिङ् एण्ड क्रेडिट सहकारीको ठगी काण्डः  मुख्य आरोपी सिर्जना शाक्य पक्राउ 

काठमाण्डौंको एक सहकारीमा झण्डै ६ अर्ब रकम ठगीसम्बन्धिको बहुचर्चित काण्ठका मुख्य आरोपी इच्छाराज तामाङकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयको खोज तथा अनुसन्धानपछि तामाङकी श्रीमती सर्जना शाक्य तामाङलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनी उक्त ठगी काण्डका आरोपी हुन् । 

काठमाडौँको सोल्टीमोडमा रहेको सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठुलो रकममा मुछिएर फरार रहेकी उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाण्डौंको रामशाहपथबाट पक्राउ गरेको हो

८) श्री स्टिल कम्पनीद्धारा भारतमा स्टिल निर्यात सुरु 

श्री स्टिलले भारतको नौतनहवा तर्फ २५ मेट्रिक टन स्टिल निर्यात गरेको छ । बुधबार श्री स्टिलका सञ्चालक राजेश अग्रवालले सरकारले निर्यात अनुदानको घोषणा गरेपछि भारतमा निर्यात सुरु गरिएको जानकारी दिनुभयो । 

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, स्टिल, पानी तथा जुत्ता निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको थियो । जसको कार्यविधि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाइरहेको छ ।

श्री स्टिलले भारतमा निर्यात गर्नको लागि ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डबाट बिएसआई प्रमाणपत्र लिन एक वर्ष अगाडि प्रक्रिया अगाडि बढाएको थियो । यसअघि पाल्पा सिमेन्टले भारततर्फ सिमेन्ट आयात सुरु गरिससकेको छ ।

९) कोरोना बीमाको ११ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गर्न अझै बाँकी

कोरोना बीमा बापतको भुक्तानी अझै बाँकी छ । सरकारले कोरोना बीमा बापतको भुक्तानी गर्ने आश्वासन मात्रै दिदैँ आएको छ । हालै महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनमा सरकारले कोरोना बीमा बापतको ११ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उल्लेख गरिएको छ । 

कोरोना बीमा मापदण्ड बमोजिम नेपाल सरकारले भुक्तानी गर्न बाँकी दाबी ११ अर्ब ८२ करोड २१ लाख रहेको छ । कोरोना बीमा दाबी समयमै भुक्तानी गराउनुपर्ने कार्यालयले जनाएको छ ।

१०) भारत सरकारले पेट्रोलियम पदार्थको निर्यातमा लगाएको कर हटायो 

भारत सरकारले पेट्रोलियम पदार्थको निर्यातमा हालै लगाइएको कर (विन्डफल ट्याक्स) घटाएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावलाई ध्यानमा राख्दै भारत सरकारले पेट्रोलियम पदार्थको निर्यातमा हालै लगाइएको कर (विन्डफल ट्याक्स) घटाएको हो । 

भारत सरकारले तीन साताअघि मात्रै डिजेल, पेट्रोल र हवाई इन्धन (एटीएफ) निर्यातमा विन्डफल कर लगाएको थियो । कर घटाउने निर्णयबाट पेट्रोलियम पदार्थको सबैभन्दा ठूलो भारतीय निर्यातकर्ता रिलायन्स इन्डस्ट्रिज (आरआईएल) लगायत ओएनजीसी जस्ता सरकारी तेल कम्पनीहरूले पनि सरकारको यो निर्णयबाट लाभान्वित हुने भएका छन। कच्चा तेलको मूल्यवृद्धिलाई मध्यनजर गर्दै भारत सरकारले तीन साताअघि पेट्रोल, डिजेल र हवाई इन्धनमा निर्यात शुल्क बढाउने निर्णय गरेको थियो ।