१९ माघ, २०८१ शनिबार

12:27:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख आर्थिक समाचारः सेयर बजारमा हरियालीदेखि श्रीलंकामा संकटकाल घोषणासम्म

Nepal Business

२ साउन, २०७९

प्रमुख आर्थिक समाचारः सेयर बजारमा हरियालीदेखि श्रीलंकामा संकटकाल घोषणासम्म

१) सेयर बजारमा हरियाली, १८.०३ अंकले बढ्यो

चालु आर्थिक वर्षको दोस्रो दिन सोमबार पनि सेयर बजार बढेको छ । पहिलो दिन आइतबार छिनो अंकले बढेको सेयर बजाबर आज १८.०३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १८.०३ अंकले बढेर नेप्से परिसूचक २ हजार २९.४३ विन्दुमा पुगेर बन्द भएको नेप्सेले जनाएको छ । चालु आर्थिक वर्षको सुरुवात हुँदा सेयर बजार सकरात्मक देखिएको छ । 

सेयर बजार बढ्दा कारोबार भने बढेको छैन । आज १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९६० रुपैयाँको कारोबार भएको छ भने ३१ लख ४२ हजार ४०२ कित्ता सेयर किनबेच भएको छन् । 

यस्तै उपसमुहहरुमा टे«डिङ र म्युचल फण्ड बाहेक सबै बढेका छन् । कम्पनीतर्फ वरुण हाइड्रोपावर ९.९८ प्रतिशत, इमर्जिङ नेपाल ९.६२ प्रतिशत, र चन्द्रागिरी हिल्स ६.०९६ प्रतिशतले बढेको छ । 

२) सबैभन्दा बढी कर तिर्ने १० कम्पनीमध्ये ५ वाणिज्य बैंक

आर्थिक वर्ष २०७८।०७९ मा सबैभन्दा बढी कर तिर्ने टप १० कम्पनीहरको लिस्टमा ५ वटा वाणिज्य बैंकहरु रहेका छन् । २०७९ असार ३२ गतेसम्ममा धेरै कर तिर्ने बैंकहरुको पहिलो नम्बरमा एनआइसी एशिया बैंक रहेको छ । एनआईसी एसिया समग्र सबैभन्दा बढि कर तिर्ने कम्पनीहरुको सुचिमा छैठौ नम्बरमा रहेको छ ।  

गत आर्थिक बर्षमा बैंकले ३ अर्ब ४१ करोड कर रकम दाखिला गरेको छ ।आर्थिक वर्ष २०७८।७९ मा सबैभन्दा धेरै कर तिर्ने १ नम्बरमा सूर्य नेपाल प्रा.लि रहेको छ। कम्पनीले १० अर्ब ७२ करोड कर दाखिला गरेको छ ।

यसैगरी धेरै कर तिर्ने दोस्रो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) रहेको छ। यो कम्पनीले ९ अर्ब ७२ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेमा दोस्रो नम्बरमा परेको हो। तेस्रो नम्बरमा आजियाटा (एनसेल) परेको छ ।

कम्पनीले गत आवमा ७ अर्ब ५९ करोड राजस्व तिर्दै तेस्रो स्थान रहन सफल भएको हो । यसैगरी धेरै कर तिर्ने चौथो नम्बरमा गोर्खा ब्रुअरी रहेको छ।  कम्पनीले ५ अर्ब ६९ करोड कर तिरेको छ। पाँचौ नम्बरमा नेपाल विद्युत प्राधिकरण रहेको छ । प्राधिकरणले गत आर्थिक बर्षमा ३ अर्ब ९५ करोड कर दाखिला गरेको हो । यसैगरी नबिल बैंकले ३ अर्ब ३२ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेको सातौं नम्बरमा परेको छ।

आठौं नम्बरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ । बैंकले गत आर्थिक बर्षमा ३ अर्ब १७ करोड कर दाखिला गरेको छ । सिद्धार्थ बैंक पनि धेरै कर तिर्नेको नवौं नम्बरमा परेको छ। बैंकले २ अर्ब ७७ करोड कर तिरेको छ । १० औँ नम्बरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ। बैंकले गत आर्थिक बर्षमा २ अर्ब ६५ करोड कर दाखिला गरेको छ ।

३) झुत्रा नोट धुल्याउँदा ९० दिनको सीसीटीभी फुटेज अनिवार्य राख्नुपर्ने

चलन चल्तिका लागि अयोग्य झुत्रा नोट धुल्याउँदा ९० दिनको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले नोट धुल्याउन नियमावली २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

झुत्रा नोट धुल्याउने मेसिन वा फर्नेस रहेको स्थानको पर्याप्त कभरेज हुने गरी कम्तीमा ९० दिनको दृष्यको अभिलेख सुरक्षित राख्ने सीसीटीभी क्यामेराको व्यवस्था अनिवार्य गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।

राष्ट्र बैंकले नियामवलीमा नोट अदालती कारबाही चलेको हकमा अन्तिम किनारा लागेको दुई वर्षपछि र कारबाही नचलेको हकमा बैंकले प्राप्त गरेको तीन वर्षपछि धुल्याउनु पर्ने उल्लेख छ ।

त्यसैगरी, राष्ट्र बैंकले ९३० उपनियम ९२० मा जुनसुकै कुरा लेखिएको भएपनि बैंकको काम कारबाहीमा सहयोगी हुने तथा सुरक्षण विशेषताहरू परिमार्जन गर्ने सन्दर्भमा उपयोगी हुन सक्ने प्रकृतिका जाली वा नक्कली भनी जफत गरेको नोट अभिलेख राखी बैंकको ढुकटीमा नधुल्याई सुरक्षित राख्नुपर्नेछ ।

नोट धुल्याउनु अघि समितिको रोहबरमा पाँच सय र एक हजार दरका नोट बाहेक अन्य दरका नोटको प्रत्येक बण्डलको शत प्रतिशत प्याकेट गन्ती गरी ती बण्डलमध्ये नमूना छनौट (यान्डम स्याम्प्लिङ) गरी कम्तीमा पाँच प्रतिशत बण्डल छट्टयाई उक्त बण्डलमा रहेको प्याकेट तथा थान समेत गन्ती गरी रुजु गरेपश्चात् मात्र धुल्याउनु सकिने व्यवस्था नियमावलीले गरेको छ ।

४) असारमा मात्रै ११ वटा सहकारी कालोसूचीमा, आर्थिक वर्षमा कति परे ?

आर्थिक वर्ष २०७८/७९ को असार महिनामा मात्रै एघार वटा सहकारीहरु कालोसूचीमा परेका छन् । केन्द्रले एउटा बहुउदेश्यीय, कृषि र बचत तथा ऋण सहकारीलाई कालोसूचीमा राखेको हो।

कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को असार महिनामा मात्रै एघार वटा सहकारीहरु कालोसूचीमा परेका छन् । केन्द्रले एउटा बहुउदेश्यीय, कृषि र बचत तथा ऋण सहकारीलाई कालोसूचीमा राखेको हो । आर्थिक वर्ष २०७८/७९ कोे असार मसान्तसम्म २८ वटा सहकारीहरु कालोसूचीमा परेको छन् ।

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा कर्जा सूचना केन्द्रले कालोसूचीमा पर्ने गरेका छन । गत आवमा ऋण तिर्न नसकेका २८ वटा सहकारी संस्थाहरुलाई केन्द्रले कालोसूचीमा राखेको हो ।

५) चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढाउन असोजभित्रै बोलकबोल तथा ठेक्का सम्झैता गरेर १५ दिनमै काम शुरु गर्नुपर्ने

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढाउन असोजभित्रै बोलकबोल तथा ठेक्का सम्झैता गरेर १५ दिनमै काम शुरु गर्नुपर्ने निर्देशन दिएको छ । अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्दै गत आर्थिक वर्षमा पुँजीगत खर्च अपेक्षाकृत नभएपछि उक्त कार्यदेश दिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

सो मागर्ददर्शनमा पुँजीगत खर्च गर्ने कार्ययोजना र असोज मसान्तभित्र तयार गरी÷गर्न लगाइ सोको मासिक प्रगति अनुगमन गर्ने व्यवस्था मिलाउनु भनिएको छ ।

यस्तै राष्ट्रिय सतर्कता केन्द्रबाट १० करोड रुपैयाँभन्दा माथिका आयोजनाको निर्माण गुणस्तरको प्राविधिक परीक्षण गराउनुपर्नेछ । मार्गदर्शन अनुसार आयोजनाका लागि पहिलो भुक्तानीका लागि भौतिक प्रगति आवश्यक पर्ने छैन भने दोस्रो त्रैमासको भुक्तानीका लागि ३० प्रतिशत र तेस्रो त्रैमासको भुक्तानीका लागि सो अवधिसम्मको भौतिक प्रगति न्यूनतम ५० प्रतिशत पुग्नुपर्नेछ ।

६) गत आर्थिक वर्षमा स्वास्थ्य बीमा बोर्डद्धारा ९ अर्ब ५३ करोड ४८ लाख रूपैयाँ भुक्तानी

गत आर्थिक वर्ष २०७८/७९ मा स्वास्थ्य बीमा बोर्डले साढे ९ अर्ब रूपैयाँभन्दा धेरै भुक्तानी गरेको छ । बोर्डले गत आर्थिक वर्षको असार मसान्तसम्ममा साढे ९ अर्ब ५३ करोड ४८ लाख रूपैयाँ भुक्तानी गरेको हो । हाल बोर्डसँग ४४९ वटा सेवा प्रदायक संस्थाहरू सूचीकृत छन् ।

ती सेवा प्रदायक संस्थाहरूलाई बोर्डले अघिल्लो आर्थिक वर्षमा बाँकी रहेको ३ अर्ब ४६ करोड रूपैयाँ सहित सो बराबरको रकम भुक्तानी गरेको हो । बोर्डकाअनुसार असार ३१ गतेसम्म सो रकम भुक्तानी भएको हो ।

बोर्डको असार ३० गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की फर्छौट गर्ने निणर्य गरेको थियो । बोर्डले २०७८ असोज १२ गते १ अर्ब ४६ करोड ९ लाख ६४ हजार रूपैयाँ, २०७८ असोज २४ गते ११ करोड ८१ लाख ५ हजार रूपैयाँ र कात्तिक ११ गते २५ करोड ९४ लाख ८७ हजार रूपैयाँ भुक्तानी गरेको थियो ।

७) अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको लागि ७ ट्राभल एजेन्सीले पाए स्वीकृति

नेपाल राष्ट्र बैंकले ७ वटा ट्राभल एजेन्सीहरुलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको लागि स्वीकृत दिएको छ । सोमबार सूचना जारी गर्दै सितारा ट्राभल्स, गोचाली टुर एन्ड ट्राभल्स, रेजेन्सी नेपाल ट्राभल्स, ओर्बिट इन्टरनेसनल ट्राभल्स, सुरुची ट्राभल्स, सीलिंक र सक्सेस ट्राभल्स एन्ड टुर प्रालीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको स्वीकृती दिएको जानकारी दिएको हो । 

राष्ट्र बैंकले गत असार १३ गते सूचना जारी गर्दै अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता कम्पनीहरुलाई दर्ता हुन भनेको थियो ।

दर्ताका लागि आएका ट्राभल एजेन्सीहरु मध्ये रीत पुर्वक पेश भएका निवेदन र तोकिएको योग्यता पुगेका ७ वटा एजेन्सीलाई राष्ट्र बैंकले खरिद विनियमावली, २०७१ को मौजुदा सूचीमा समावेश गरेको हो।

८) आयल निगमले घटाएन इन्धनको मूल्य 

भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा घटेन छैन । नेपाल आयल निगमले भारतबाट मूल्य घटेर आए पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको छैन । भारतीय आयल कर्पोरेसन (आईओसी)ले शनिबार राति आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँ घटाएको छ । 

तर आयल निगमले मूल्य घटाएको छैन । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले मूल्य वृद्धि भएको भन्दै आएको आयल निगमले भारतबाट मूल्य घटेर आए पनि घटाउने नदेखिएको छ ।

मूल्य घटेर आउदा पनि अझै निगमलाई प्रतिलिटर पेट्रोलमा १४ रुपैयाँ १९ पैसा घाटा रहेको निगमले जनाएको छ । आयल निगमका अनुसार प्रतिलिटर डिजेलमा २१ रुपैयाँ ९२ पैसा घाटा, हवाई इनधनमा केहि नाफा तथा एल.पी.ग्यासमा ५८२ रुपैयाँ ४२ पैसा घाटा रहेको छ । 

आयल निगमले हिजो आइतबार जारी गरेको विज्ञप्ती अनुसार अझै मासिक ४ अर्ब ३२ करोडको घाटा हुने देखिएको छ । पेट्रोलियम पदार्थ बापत भुक्तानी गर्नुपर्ने बक्यौता रकमलाई घटाउन सरकारले निगमलाई ७ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । 

९) एकै दिनमा ७ अर्बले बढ्यो बैंकहरूको निक्षेप संकलन

बैंकहरूको निक्षेप संकलन एकै दिनमा ७ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार ३१ गते शुक्रबार बैंक तथा वित्तीय संस्थाहरूमा एकै दिन ७ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । असार ३० गते, बिहीबारसम्म बैंकहरूको निक्षेप ५१ खर्ब २ अर्ब रूपैयाँ रहेको थियो । शुक्रबार एकै दिन ७ अर्ब रुपैयाँ निक्षेप थपिएसँगै बैंक तथा वित्तीय संस्थाहरूमा असार ३१ गतेसम्म कुल ५१ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि एक अर्बले बढेर ४५ खर्ब ४ अर्ब पुगेको छ । बैंकहरूको कर्जा प्रवाह भने २ अर्बले घटेर ४६ खर्ब ७७ अर्ब रूपैयाँमा पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी पनि ३ अर्बले घटेर ४१ खर्ब ४६ अर्ब रूपैयाँ कायम भएको छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.७५ प्रतिशतबाट घटेर ८६.४९ प्रतिशतमा झरेको छ ।

१०) श्रीलंकामा संकटकाल घोषणा

श्रीलंकामा संकटकालको घोषणा गरिएको छ । श्रीलंकाका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघलले आज (सोमबार) बाट लागू हुने गरी संकटकालको घोषणा गरेको समाचारमा जनाइएको छ ।

राष्ट्रपति विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा उक्त ठाउको नागरिकहरुका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि संकटकालको घोषणा गर्न आवश्यक रहेको बताउनुभएको थियो । यही जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ ।

श्रीलंकाली संसदले जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन गर्न लागेको छ । त्यसका लागि मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको सभामुखले जानकारी  दिनुभएको छ । राष्ट्रपति गोटाबाया राजपाक्ष भागेर सिंगापुर गएपछि संसदले नयाँ राष्ट्रपतिको निर्वाचन गर्न लागेको हो ।

श्रीलंका पछिल्लो समयमा आर्थिक संकटमा फसेको छ । देश आर्थिक संकटमा फसेसँगै राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ ।