९ मंसिर, २०८१ आइतबार

06:33:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

को हुन् नवनिर्वाचित उपसभामुख भुसाल....

Nepal Business

३१ असार, २०७९

निरङ्कुश जहानियाँ राणा शासनको विरुद्धमा सङ्घर्ष गर्नुभएका पिता काशीनाथ गौतम र माता शारदा गौतमको कान्छी छोरीका रूपमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा विसं २०१७ फागुन १ गते जन्मनुभएकी उहाँ सानैदेखि राजनीतिमा अभिरुचि राख्नुहुन्थ्यो ।

को हुन् नवनिर्वाचित उपसभामुख भुसाल....

 
काठमाडौँ, 
नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले संसद्लाई जनमुखी बनाउन भूमिका निर्वाह गर्ने बताउनुभएको छ । 

उपसभामुख पदमा आज शुक्रबार निर्वाचित भएपछि उहाँले  संसदीय परम्परा र मूल्य–मान्यतालाई कायम राखेर अगाडि बढने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

उपसभामुख पदमा आज शुक्रबार निर्वाचित भएपछि उहाँले  संसदीय परम्परा र मूल्य–मान्यतालाई कायम राखेर अगाडि बढने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

“मुलुकमा कानूनको शासन बलियो भए मात्र लोकतान्त्रिक विधि र नागरिक अधिकार स्थापित हुन्छ”, उहाँले भन्नुभयो । उहाँले आफू सधैँ जनताप्रति उत्तरदायी र जिम्मेवार हुने बताउनुभयो ।     
     
 निरङ्कुश जहानियाँ राणा शासनको विरुद्धमा सङ्घर्ष गर्नुभएका पिता काशीनाथ गौतम र माता शारदा गौतमको कान्छी छोरीका रूपमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा विसं २०१७ फागुन १ गते जन्मनुभएकी उहाँ सानैदेखि राजनीतिमा अभिरुचि राख्नुहुन्थ्यो ।     
     
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको मन्त्रिपरिषद्मा भुसालका पिता स्वास्थ्य तथा स्थानीय स्वायत्तमन्त्री हुनुहुन्थ्यो । 

तत्कालीन राजा महेन्द्रले बिपी नेतृत्वको जननिर्वाचित सरकारलाई नियन्त्रण गरी व्यवस्था विघटन गरेपछि निर्वासनमा पर्नुभएका पितासँगै गोरखपुर जानुभएकी भुसालले बाल्यकालदेखि नै प्रजातन्त्रका लागि राजनीतिक नेताहरुको जमघटलाई नजिकबाट अध्ययन गर्नुभएको थियो ।     
     
 विसंं २०२५ देखि नै पिताको प्रेरणाबाट राजनीति सुरु गर्नुभएकी भुसालले कांग्रेसका संस्थापक नेताहरु बिपी कोइराला, सुवर्णशम्शेर, कृष्णप्रसाद भट्टराईसँग भेट हुने अवसर प्राप्त गरेपछि मुलुकमा प्रजातन्त्र स्थापना गर्ने सङ्कल्प गर्दै राजनीतिका माध्यमबाट समाजसेवा गर्ने प्रतिज्ञा गर्नुभएको थियो ।     
     
 देश र जनताको समृद्धिका लागि नेपाली कांग्रेसको विचारलाई आदर्श मान्ने राजनीतिक परिवारमा जन्मनुभएकी भुसालको प्रारम्भिक शिक्षा भारतबाट सुरु भएको थियो । 

उहाँले गोरखपुर एडी इन्टर कलेजबाट एसएलसी गर्नुभएको  थियो । नेपाल ल क्याम्पसबाट स्नातक गर्नुभएकी उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।     
     
 उच्च शिक्षा अध्ययनका क्रममा नेविसङ्घमा संलग्न भई विभिन्न राजनीतिक आन्दोलनमा भूमिका निर्वाह गर्नुभएकी नवनिर्वाचित उपसभामुख भुसाल प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासतमा पर्नुभएको थियो । 

उहाँले नेपाल ट्रेड युनियन कांग्रेसको सल्लाहकार र नेपाल महिला सङ्घमा दुई पटक महामन्त्रीको जिम्मेवारी पूरा गर्नुभएको छ । कांग्रेसको महिला विभागमा सक्रिय रहनुभएकी उहाँले विसं २०४६ देखि २०५६ सम्म तत्कालीन रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राध्यापन गर्नुभएको थियो । 

विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट प्रत्यासी उहाँ विसं २०६४ को संविधानसभामा सोही स्थानबाट निर्वाचित हुनुभएको थियो ।     

वरिष्ठ चिकित्सक उहाँका श्रीमान् चोपलाल भुसालको साथ सहयोगका कारण पनि राजनीतिमा निरन्तरता दिनुभएकी उपसभामुख भुसालका एक छोरा पल्लव हुनुहुन्छ । उहाँ विसं २०७४ को आम चुनावपछि सांसद भए लगत्तै भुसाल उपसभामुखको निर्वाचनमा प्रत्याशी बन्नुभएको थियो ।

उहाँ तत्कालीन वामगठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएकी शिवमाया तुम्बाहाम्फेसँग पराजित हुनुभएको थियो । त्यसबेला तुम्बाहाम्फे २०१ मत प्राप्त गरी विजयी हुँदा उहाँले ५८ मत प्राप्त गर्नुभएको थियो ।     
     
 वर्तमान सत्ता गठबन्धनका तर्फबाट  भएको उपसभामुखको निर्वाचनमा भुसाल १४८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रत्याशी नेकपा (एमाले) का तर्फबाट विद्या भट्टराईले ९३ मत प्राप्त गर्नुभएको थियो ।