१५ बैशाख, २०८१ शनिबार

07:40:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लक्ष्य अनुसार पूँजीगत खर्च गर्नमा सरकार असफल, कति गर्यो खर्च ?

Nepal Business

३१ असार, २०७९

लक्ष्य अनुसार पूँजीगत खर्च गर्नमा सरकार असफल, कति गर्यो खर्च ?

काठमाण्डौं । चालु आर्थिक वर्ष २०७८÷७९ सकिन दुई दिन मात्र बाँकी छ । चालु आर्थिक वर्षमा सरकारले पूँजीगत खर्च २ खर्ब रुपैयाँ मात्र खर्च गरेको छ । 

तर सरकारले यस आर्थिक वर्षमा सरकारले करिब ४ खर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य लिएको थियो । 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बिहीबारसम्म २ खर्ब ६ अर्ब ३६ करोड रुपैयाँ बराबरको पूँजीगत खर्च भएको छ । यो कुल लक्ष्यको ५४.५८ प्रतिशत मात्र हो । यस वर्ष सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।

सरकारले यस वर्ष पूँजीगत खर्चका लागि शुक्रबार र शनिबार मात्र भुक्तानी गर्न सक्छ । यस अनुसार पछिल्ला केही वर्षयता कै कम पूँजीगत खर्च हुने संकेत देखिएको छ ।

यस्तै सरकारले असार महिनामा ६५ अर्ब रुपैयाँ पूँजीगत खर्च गरिसकेको छ । जेठ  ३१ सम्म पूँजीगत बजेट खर्च १ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो ।

पूँजीगत बजेट खर्च प्रभावित हुँदा समग्र खर्च समेत ७८.२२ प्रतिशत मात्र भएको छ । शतप्रतिशत बजेट खर्च गर्न सरकारले शुक्रबार र शनिबार मात्र २१.७८ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ ।

अहिलेसम्म सरकारको कुल १२ खर्ब ७७ अर्ब २० करोड बजेट खर्च गरिसकेको छ । जसमा ९ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ चालु खर्च भएको छ । यो लक्ष्यको ९०.२६ प्रतिशत हो । यस आवमा सरकारले १६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट खर्च गरिरहेको छ ।

आवको अन्तिम दुई दिन बाँकी रहँदा वित्तीय व्यवस्थामा १ खर्ब ९ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । जुन लक्ष्यको ५७.७२ प्रतिशत हो ।