९ मंसिर, २०८१ आइतबार

06:36:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपसभामुख पदका लागि निर्वाचन हुँदै, कांग्रेसका प्रमुख सचेतक पुष्पा र एमालेका विद्याबीच प्रतिस्पर्धा हुने

Nepal Business

३१ असार, २०७९

उपसभामुख पदका लागि निर्वाचन हुँदै, कांग्रेसका प्रमुख सचेतक पुष्पा र एमालेका विद्याबीच प्रतिस्पर्धा हुने

काठमाण्डौं । करिब तीन वर्षपछि उपसभामुख पदको निर्वाचन प्रक्रिया अघि बढेको छ । उपसभामुख पदका लागि प्रतिनिधिसभामा आज (शुक्रबार) निर्वाचन हुँदैछ । पदावधि सकिन ६ महिनाभन्दा कम अवधि रहेका बेला उपसभामुख चयन हुन लागेको हो ।

प्रतिनिधिसभाले दिउँसो ३ बजे उपसभामुख चयन गर्नेछ । उपसभामुख पदका लागि दुई जनाको मनोनयन परेको छ ।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका प्रमुख सचेतक पुष्पा भुषालले बिहीबार मनोनयन दर्ता गराउनुभएको हो । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरी हुनुहुन्छ । 

यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । उहाँको  प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल हुनुहुन्छ । 

आज ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ‘उपसभामुख पदमा निर्वाचित गरियोस’ भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

२०७६ माघ ६ मा तत्कालीन उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।