२१ फागुन, २०८१ बुधबार
05:04:35 AM
३० असार, २०७९
१) एम अधिकारी गभर्नर नरहेको भन्दै एमाको स्पष्टिकरण
नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको छ । एमाले कार्यालय सचिव भीष्म अधिकारीले (असार २९ गते बुधबार) गभर्नर
अधिकारीलाई स्पष्ट पारिएको व्यहोराको पत्र पठाउँदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख गर्नुभएको छ । एम अधिकारी नै गभर्नर भएको दावी गर्दै उहाँको राजिनामाको चौतर्फी माग गरिएको बेला एमालेले एम अधिकारी गभर्नर नरहेको जनाएको छ ।
यता, गभर्नर अधिकारीले आफ्नो नाम जोडर बिभिन्न सोसियल मेडिया तथा अन्य सञ्चार माध्यममा प्रचार भइरहेको भन्दै उहाँले आफू कुनै पनि पार्टीमा नरहेको र त्यस्तो पदमा बस्ने कल्पना पनि नगरेको उल्लेख गर्दै आफूलाई जोडेर भ्रम सिर्जना गरिएकोले यसबारे स्पष्ट पारिदिनुहुन भन्दै एमाले केन्द्रीय कार्यालयलाई पत्र पठाउनुभएको थियो ।
२) सेयर बजार १४.७१ अंकले बढ्यो
सेयर बजार बिहीबार पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १४.७१ अंकले बढेर नेप्से परिसूचक २ हजार १.५३ विन्दुमा पुगेर बन्द भएको छ । सेयर बजार बढ्दा २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँको कारोबार भएको छ भने ६२ लाख १० हजार ९०८ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै सबै उपसमुहहरु पनि बढेका छन् । सबैभन्दा धेरै हाइड्रोपावार २.०४ प्रतिशतले बढेको छ । कम्पनीहरुमा एनआईबील प्रगति फण्ड ९.९८ प्रतिशत, प्रभु सेलेक्ट फण्ड ७.९७ प्रतिशत, अपर
तामाकोशी हाइड्रोपावर ७.१४ प्रतिशत, नबिल ब्यालेन्स फण्ड–२ ६.९० प्रतिशत र रिर्भर फल्स ६.३९ प्रतिशतले बढेका छन् ।
३) राजस्व असुली ९५.३२ प्रतिशतले बढ्यो
आन्तरिक राजस्व विभागले ९५.३२ प्रतिशत राजस्व असुली गरेको छ । महालेखापरीक्षकको कार्यालयको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार राजस्व विभागले ४ खर्ब २९ अर्ब २७ करोड रुपैयाँ राजस्व असुली गरेको छ । राजस्व विभागले २०७७/७८ मा ४ खर्ब ५० अर्ब ३४ करोड राजस्व असुली गर्ने लक्ष्य राखेको थियो ।
कुल आन्तरिक राजस्व संकलनमा आयकरको ४६.७७ प्रतिशत, मूल्य अभिवृद्धि करको २७.१२ प्रतिशत, अन्तःशुल्कको १८.९९ प्रतिशत र अन्य करको ७.१२ प्रतिशत योगदान रहेको छ ।
गत वर्ष कुल राजस्व संकलनमा आयकरको ५०.२० प्रतिशत, मूल्य अभिवृद्धि करको २५.५० प्रतिशत र अन्तःशुल्कको १६.८४ प्रतिशत र अन्य करको ७.४६ प्रतिशत योगदान रहेको थियो । विभागको राजस्व असुली गत वर्षको तुलनामा यो वर्ष ११.६४ प्रतिशतले बढि हो ।
कर उठ्न र तिर्न सक्ने क्षमताको विश्लेषण तथा कर दायरा विस्तार गरी करदाताको सहभागिता र कर कानून परिपालनाको प्रभावकारी व्यवस्थापनबाट राजस्व असुली बढाउनुपर्ने कार्यालयले जनाएको छ ।
४) भृकुटीमण्डपस्थित आगलागीको कारण पत्ता लगाउन छानविन समिति गठन गरिने
सरकारले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदाममा भएको आगलागीको छानविन गर्न भएको छ । बिहीबार आगलागी भएको स्थानको निरिक्षण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आगलागीको कारण पत्ता लगाउन छानविन समिति गठन गर्ने बताउनुभएको हो ।
उहाँले गोदाममा बिद्युतको प्रवाह नै नरहेको अवस्थामा नियोजित तवरले आगो लगाइएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो । आगलागीबाट करौडौको क्षति भएको र आवश्यक कागजपत्र लगाएतका सामाग्री नष्ट भएको उहाँले बताउनुभयो । आगलागीको घटनामा संलग्नलाई कारवाही गर्ने उहाँले बताउनुभयो । बुधबार भएको आगलागीका कारण उक्त गोदाम पूर्णरुपमा जलेर नष्ट भएको थियो ।
५) वाणिज्य बैंकहरुको निक्षेप ६ अर्बले घट्यो
वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार लागेपछि निरन्तर बढिरहेको बाणिज्य बैंकहरुको निक्षेप ६ अर्बले घटेको हो । बैंकहरुमा तरलताको अभाव कायमै रहेको छ ।
सोमबार ४५ खर्ब १५ अर्ब रुपैयाँ रहेको बैंक निक्षेप मंगलबार ४५ खर्ब ९ अर्ब रुपैयाँमा झरेको राष्ट्र बैंकले जनाएको छ । निक्षेपसँगै ऋण पनि घटेको छ । ४१ खर्ब ६१ अर्ब रुपैयाँ रहेको कुल ऋण ४१ खर्ब ५६ अर्ब रुपैयाँमा आएको छ ।
बैंकहरुको निक्षेप घटेका कारण पनि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) स्थिर छ । अहिले सीडी रेसियो ८६.९६ प्रतिशत छ । अन्तर बैंक सापटी दर ७.०५ प्रतिशतमा उक्लिएको छ।
६) जनार्दश शर्मामाथि छानबिन गर्ने संसदीय विशेष समितिको सदस्य हेरफेर
तत्कालिन अर्थमन्त्री जनार्दशन शर्माले करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर भएका छन् ।
समितिमा रहनुभएकी पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले उहाँको ठाउँमा अर्का सांसद मानबहादुर विश्वकर्मालाई पठाएको हो । जसलाई बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले स्वीकार गरेको छ ।
गत असार २२ गते गठित समितिमा सांसदहरू खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहनुभएको छ ।
७) वाणिज्य बैंकहरुको नाफा घट्यो
बैंकहरुको नाफा बढी भएको भन्दै व्यापारिक वृत्तबाट गुनासो बढिरहेका बेला तथ्याङकमा भने बैंकको नाफा घटेको देखिएको छ । पछिल्लो एक वर्षमा वाणिज्य बैंकको नाफा ५ अर्ब रुपैयाँले घटेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङक अनुसार गत आर्थिक वर्षको जेठमा वाणिज्य बैैंकको नाफा ६९ अर्ब ५७ करोड रुपैयाँ थियो ।
तर चालु आवको जेठमा आइपुग्दा बैंकहरुको नाफा करिब ५ अर्बले घटेर ६४ अर्ब ६३ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ । यो २७ वटा वाणिज्य बैंकले जेठ मसान्तसम्म आर्जन गरेको नाफा हो ।
८) कर्मचारीदेखि मन्त्रीसम्मले पाउने इन्धनको सुविधा कटौतीको प्रस्ताव मन्त्रिपरिषदमा पठाइयो
सरकारी कर्मचारीदेखि मन्त्रीसम्मले पाउने इन्धनको सुविधा कटौतीको प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको छ । पेट्रोलियम पदार्थको खपत कम गराउनका लागि कर्मचारीदेखि मन्त्रीसम्मले पाउने इन्धनको सुविधा कटौतीको प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारी सुविधा अन्तर्गतको पेट्रोलियम पदार्थको सुविधा कटौतीसहित अन्य प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको हो ।
९) थप २६० जनामा कोरोना संक्रमण पुष्टि
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गहिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २७ जनामा पीसीआर परीक्षण गर्दा २ सय १४ जना र १८ सय १७ जनामा एन्टिजेन परीक्षण गर्दा ४६ जना गरी थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या ११ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
१०) श्रीलंकाका राष्ट्रपति राजपक्षले माल्दिभ्स पनि छाडे
श्रीलंका छाडेका माल्दिभ्स पुगेका राष्ट्रपति गोटाबय राजपक्ष त्यहाँबाट सिङ्गापुरतिर जानुभएको छ । बीबीसीका अनुसार उहाँ माल्दिभ्सबाट सिङ्गापुर जाने साउदी एअरलाइन्सको एउटा विमानमा चढेको बताइएको छ।
अभूतपूर्व आर्थिक संकटको विरोधमा देशमा विरोधप्रदर्शन भइरहेका बेला उहाँ मंगलबार राति भागेर माल्दिभ्स पुग्नुभएको थियो । उहाँगै पत्नी र दुई अङ्गरक्षक पनि थिए। राजपक्ष सिङ्गापुरमै बस्छन् वा अन्यत्र जान त्यो उनको बिसौनी मात्र हो भन्ने स्पष्ट छैन।
यसअघि उहाँले बुधवारभित्र राजीनामा दिने बताउनुभएको थियो । तर उहाँले अहिलेसम्म औपचारिक रूपमा पदत्याग गर्नुभएको छैन ।