२१ फागुन, २०८१ बुधबार

05:00:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राजस्व असुली ९५.३२ प्रतिशतले बढ्यो, वार्षिक र एकीकृत आर्थिक विवरणमा कतिको फरक ?

Nepal Business

३० असार, २०७९

राजस्व असुली ९५.३२ प्रतिशतले बढ्यो, वार्षिक र एकीकृत आर्थिक विवरणमा कतिको फरक ?

काठमाण्डौं । आन्तरिक राजस्व विभागले ९५.३२ प्रतिशत राजस्व असुली गरेको छ । महालेखापरीक्षकको कार्यालयको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार राजस्व विभागले ४ खर्ब २९ अर्ब २७ करोड रुपैयाँ राजस्व असुली गरेको छ ।

राजस्व विभागले २०७७/७८ मा ४ खर्ब ५० अर्ब ३४ करोड राजस्व असुली गर्ने लक्ष्य राखेको थियो । 

कुल आन्तरिक राजस्व संकलनमा आयकरको ४६.७७ प्रतिशत, मूल्य अभिवृद्धि करको २७.१२ प्रतिशत, अन्तःशुल्कको १८.९९ प्रतिशत र अन्य करको ७.१२ प्रतिशत योगदान रहेको छ । 

गत वर्ष कुल राजस्व संकलनमा आयकरको ५०.२० प्रतिशत, मूल्य अभिवृद्धि करको २५.५० प्रतिशत र अन्तःशुल्कको १६.८४ प्रतिशत र अन्य करको ७.४६ प्रतिशत योगदान रहेको थियो । विभागको राजस्व असुली गत वर्षको तुलनामा यो वर्ष ११.६४ प्रतिशतले बढि हो । 

कर उठ्न र तिर्न सक्ने क्षमताको विश्लेषण तथा कर दायरा विस्तार गरी करदाताको सहभागिता र कर कानून परिपालनाको प्रभावकारी व्यवस्थापनबाट राजस्व असुली बढाउनुपर्ने कार्यालयले जनाएको छ । 

बक्यौता र लागत कट्टा 

आयकर ऐन, २०५८ को दफा १०३ देखि ११२ सम्म, मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ र अन्तःशुल्क ऐन, २०५८ को दफा १० मा कर बक्यौता असुल गर्ने व्यवस्था छ । 

आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदन अनुसार कुल राजस्व बक्यौता १ अर्ब ७१ ऋर्ब ३९ करोड ४६ लाख रुपैयाँ रहेकोमा एकीकृत वित्तीय विवरणमा १ खर्ब ५० अर्ब ४९ करोड ३५ लाख उल्लेख छ । 

उल्लेखित स्थितिले वार्षिक र एकीकृत आर्थिक विवरणमा २० अर्ब ९० करोड ११ लाख रुपैयाँ बक्यौता फरक परेको कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार विभागले फरक रकममा खुलासा गरेको छैन ।