१९ माघ, २०८१ शनिबार

01:32:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख आर्थिक समाचारः गभर्नरको राजीनामा मागदेखि श्रीलंकाका राष्ट्रपतिले देश छाडेसम्म

Nepal Business

२९ असार, २०७९

प्रमुख आर्थिक समाचारः गभर्नरको राजीनामा मागदेखि श्रीलंकाका राष्ट्रपतिले देश छाडेसम्म

१) गभर्नर अधिकारीको राजिनामा माग
नेकपा एमाले अर्थ तथा योजना विभागमा एम अधिकारीलाई विभागको सदस्यको रुपमा राखेको छ । सो नाम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ। सो विषयमा प्रतिनिधि सभाको बैठकमा साँसदहरुले प्रश्न उठाएका छन् । संसदमा बुधबार मिनबहादुर विश्वकर्मा, रेखा शर्मा, अञ्जना विशंखे लगायतले गभर्नरको विषयमा प्रश्न उठाएका हुन्।

कानूनले पनि गभर्नर कुनै पनि पार्टीको सदस्य हुन नहुने भन्ने रहेको भन्दै यो कानून विपरीत भएको भन्दै साँसदहरुले संसदमा प्रश्न उठाएका हुन्। यसैगरी सामाजिक सञ्चालमा पनि गभर्नरले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग उठेको छ ।  सामाजिक सञ्जाल ट्वीटरमा दिनेश नाम (दिनेशकाजी) गरेका प्रयोगकर्ताले गभर्नरलाई नसोधि प्रतिपक्षी पार्टीको विभागिय सदस्यमा नियुक्त गरिएको हो भने गभर्नरले राजिनामा दिनुपर्ने बताउनुभएको छ । 

सोही प्रयोगकर्तालाई जवाफ फर्काउदै गभर्नर अधिकारीले आफू सो व्यक्ति नभएको र कुनै पनि पार्टीमा संलग्न नभएको बताउनुभयो ।

२) सेयर बजार ५९.५४ अंले लाग्यो उकालो

कारोबारको तेस्रो दिन बुधबार पनि सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ५९.५४ अंकले बढेर नेप्से परिसूचक १ हजार ९ सय ८६.८२ विन्दुमा बन्द भएको छ । 
आज कारोबार पनि बढेको छ । मंगलबार सेयर बजार बढे पनि कारोबार भने घटेको थियो । 

सेयर बजार बढ्दा २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँको कारोबार भएको छ भने ५७ लाख ८७ हजार १२६ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै सबै उपसमुहरु बढेका छन् । कम्पनीतर्फ नेपाल फाइनान्स र रिलाइन्स फाइनान्समा सर्किट ब्रेक लागेको छ भने सिईडीबी हाइड्रोपावर विकास कम्पनी ९.९० प्रतिशत र कर्पोरेट विकास बैंक ९.८२ प्रतिशतले बढेका छन् । 

३) साउनमा बैंकको ब्याजदर नबढ्ने 

नेपाल बैंकर्स संघले साउन महिनामा पनि ब्याजदर नबढाउने भएको छ । बैंकर्स संघको बुधबार बसेको बैठकले वाणिज्य बैंकहरुले साउन महिनाका लागि निक्षेपमा ब्याजदर ११.०३ प्रतिशतसम्म नै दिने सहमति भएको जानकारी दिएको हो । 

संघले असारका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको जनाएको छ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगातार ब्याजदर बढ्न सक्ने बताउँदै आउनुभएको थियो। 

बैंकहरुबीच भएको सहमति अनुसार हाल वाणिज्य बैंकहरुले व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् ।

४) ४।१२ को नीति परिवर्तन नभए लाखौं लगानीकर्ताहरु सडकमा आइपुग्छनः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आर्थिक मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्ने सुझाव दिनुभएको छ । बुधबार संसदमा आफ्नो धारणा राख्दै थापाले अर्थतन्त्रलाई चलायमान हुने गरी मौद्रिक नीति आउनुपर्ने बताउनुभएको हो । उहाँले सेयर धितो कर्जामा लागू गरिएको ४।१२ को नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

५) क्रिप्टोमा लगानी गरेको अभियोगमा विशाल सिमेन्टका सञ्चालक श्रेष्ठ पक्राउ

क्रिप्टोमा लगानी गरेको अभियोगमा प्रहरीले विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेको छ । बुधबार काठमाडौंको पानीपोखरीस्थित उनको घरमा प्रहरीले छापा मारेको थियो। 
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर श्रेष्ठलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो । प्रहरीका अनुसार सञ्चालक श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको छ । उनले  क्रिप्टो कारोबारमा कति लगानी गरे भन्ने खुल्न सकेको छैन।

६) एक वषएमा थपियो १ खर्ब १५ अर्बभन्दा बढि बेरुजु 

एक वर्षमा १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ बेरुजु थपिएको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा संघीय सरकार कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र अन्य समिति तथा संस्थातर्फ लेखापरीक्षण गर्दै उक्त बेरुजू देखिएको हो । यसरी कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.४६ प्रतिशतले बढी हो ।

७) पोखरामा पुनः हट एयर बलुन सञ्चालनमा आउँदै 

पर्यटकीय नगरी पोखरामा पुनः हट एयर बलुन सञ्चालनमा आउने भएको छ। कोरोनाका कारण बन्द रहेको हट एयर बलुन बलुन नेपाल प्रालि’ले पुनः सञ्चालनमा ल्याउने भएको हो । 

हट एयर बलुन बलुन यही सेप्टेम्बरदेखि सञ्चालनमा आउदैछ । बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकुल भएको दिन उडान भरिने कम्पनीले जनाएको छ ।

यसका लागि नेपालीलाई प्रतिव्यक्ति ८ हजार रुपैयाँ र विदेशीलाई प्रतिव्यक्ति १२ हजार ६ सय रुपैयाँ (१ डलर) लाग्ने कम्पनीको जानकारी दिएको छ । 

यसअघि सन् २०१८ नोभेम्बर १६ देखि कम्पनीले पोखरामा हट एयर बलुनको उडान शुरु गरेको थियो ।

८) हिमालयन बैंकमा सिभिल बैंक गाभिने 

हिमालयन बैंक र सिभिल बैंकबीच मर्जको प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार याक एण्ड यति होटलमा दुई बैंकबीच मर्जरको सम्झौता पत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हिमालयन बैंकको तर्फबाट प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।

हिमालयन र सिभिल बैंकबीच १००ः८१ को सेयर स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको हो ।अर्थात सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुने छ । एक्विजेशन पछि बन्ने संस्थाको नाम हिमालयन बैंक हुने तथा सञ्चालक समिति हिमालयन बैंकको नै हुने छ । 

९) कोरोना संक्रमितको संख्या २०० नाघ्यो

नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २०० नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२ पीसीआर परीक्षण गर्दा १७७ जना र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

१०) श्रीलंकाका राष्ट्रपतिले छाडे देश

श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन् । श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेको बीबीले जनाएको छ । 

स्थानीय समयअनुसार पत्नी र एक जना गार्ड सहित गोटाबाय बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । उहाँका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य भएको छ । 

राष्ट्रपतिले १३ जुलाई अर्थात आज राजीनामा दिने वाचा गरेका थिए । उहाँ अमेरिका जाँदै गरेको बताइएको छ । राष्ट्रपति भागेपछि केही प्रदर्शनकारीले खुशीयाली मनाएका छन्