७ मंसिर, २०८१ शुक्रबार

07:46:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नागरिकता सम्बन्धी नयाँ विधेयक प्रतिनिधिसभा पेश

Nepal Business

२९ असार, २०७९

नागरिकता सम्बन्धी नयाँ विधेयक प्रतिनिधिसभा पेश

काठमाण्डौं । सरकारले नागरिकता सम्बन्धी नयाँ विधेयक प्रतिनिधिसभा बैठकमा पेश गरेको छ । बुधबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पेश गर्नुभएको हो ।

त्यसअघि बैठकमा उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि एमालेका सांसद भीम बहादुर रावल, शेर बहादुर तामाङ र नेमकिपाका सांसद प्रेम सुवालले विरोधका सूचना प्रस्तुत गर्नुभएको थियो । सो क्रममा रावलले नागरिकता सम्बन्धि पछिल्लो विधेयकले विदेशीलाई ढोका खोल्न लागेको भन्दै आपत्ति जनाउनुभयो 

यसअघिको विधेयकमाथि लामो समय छलफल भइसकेको अवस्थामा पहिलेको विधयेक फिर्ता लिएर नागरिकता सम्बन्धी नयाँ विधेयक ल्याउनु उचित नभएको उहाँले बताउनुभयो । 
यस्तै एमालेकै अर्का सांसद तामाङले नयाँ विधेयकमा भएको कतिपय विषयहरु प्रति आपती जनाउनुभयो ।

यस्तै सांसद सुवालले राष्ट्रिय हित विपरित नागरिकता विधेयकलाई अघि बढाउन नहुने बताउनुभएको थियो ।

बैठकले तीनै जना सांसदको विरोधको सूचना अस्वीकृत गरेको थियो । बैठकमा विधेयकमाथि जानकारी दिदै गृहमन्त्री खाँणले संविधानको प्रावधान अनुसार नै नागरिकता ऐन संशोधन विधेयक आएको दावी गर्नुभयो ।

यसअघिको विधेयकमाथि सहमति जुटेका विषयलाई समावेश गर्दै नागरिकताबिहीनहरुको समस्या समाधान गर्न विधेयक ल्याइएको उहाँको भनाई छ । उहाँले यसअघिको बिधेयकलाई नै सहमति गर्ने प्रयास भएपनि त्यसो हुन नसकेकाले फिर्ता गर्नुपरेको स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभा बैठकमा पेश भएसंगै थप प्रक्रियाका लागि नयाँ नागरिकता विधेयक अघि बढेको छ ।