१९ माघ, २०८१ शनिबार

01:44:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख आर्थिक समाचारः सेयर बजारमा सुधारदेखि ट्रेड सेटलमेन्टका लागि रुपैयाँ चलाउने भारतको घोषणासम्म

Nepal Business

२८ असार, २०७९

प्रमुख आर्थिक समाचारः सेयर बजारमा सुधारदेखि ट्रेड सेटलमेन्टका लागि रुपैयाँ चलाउने भारतको घोषणासम्म

१) सेयर बजार ११.६८ अंकले बढ्यो, कारोबार घट्यो 

कारोबारको पहिलो दिन भारी अंकले घटेको सेयर बजारमा मंगलबार केहि सुधार देखिएको छ । आज सेयर बजार ११.६८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ११.६८ अंकले बढेर नेप्से परिसूचक १९ सय २७.२८ विन्दुमा बन्द भएको छ । 

सेयर बजार बढ्दा भने कारोबार घटेको छ । सोमाबार २ अर्बभन्दा बढिको कारोबार भएकोमा आज १ अर्बमा झरेको छ । नेप्सेका अनुसार मंगलबार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९ सय ७८ रुपैयाँको कारोबार भएको छ भने ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै उपसमुहरुमा सबै बढेका छन् । कम्पनीतर्फ सप्तकोशी विकास बैंक ९.३५ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर विकास लिमिटेड ८.२२ प्रतिशत र युनाईटेड इन्स्योरेन्स ६.९६ प्रतिशतले बढेका छन् । 
२) औद्योगिक प्रयोजनका लागि ग्यास २३ सय ७२ रूपैयाँमा बेच्न सिफारिस

खाना पकाउने ग्यासको मूल्यबारे अध्ययन गर्न गठन गरिएको उपसमितिले औद्योगिक प्रयोजनका लागि लागत मूल्यमै ग्यास बिक्री गर्न सिफारिस गरेको छ । हाल नेपाल आय निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यास प्रतिसिलन्डर २ हजार ३७१.७८ रुपैयाँमा खरिद गर्दै आएको छ।

निगमले सहुलियत दिएर प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँमा बिक्री गर्दै आएको छ। उक्त उपसमितिले गरेको सिफारिस कार्यान्वयनमा आएमा होटल रेष्टुराँ तथा औद्योगिक क्षेत्रमा प्रयोग गर्न उद्योगी व्यापारीले अब प्रतिसिलिण्डर २३ सय ७१ रूपैयाँ ७८ पैसा तिर्नुपर्ने हुन्छ ।

अहिले घरायसी र औद्योगिक दुवै प्रयोजना एकै मूल्य कायम गर्दा निगमले प्रतिसिलिण्डर ५ सय ७१ रूपैयाँ ७८ पैसा घाटा बेहोर्दै आएको छ। निगमको पेट्रोलियम पदार्थको कुल घाटामध्ये ५० प्रतिशतभन्दा बढी खाना पकाउने एलपी ग्यासले ओगटेको निगमले जनाएको छ ।

३)  सार्वजनिक यातायातको भाडादर बढ्यो

सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवस्था विभागले देश भरका सार्वजनिक यातायातको भाडा बढाएको हो । विभागले सोमबार सूचना जारी गर्दै यात्रुवाहक गाडीमा १.७९ ७९ प्रतिशतले भाडा बढेको जानकारी दिएको छ । 

यस्तै पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.६ प्रतिशतले भाडादर वृद्धि गरेको विभागले जनाएको छ ।

४) आगामी आर्थिक वर्षको मौद्रिक नीति साउनको पहिलो साता ल्याउने तयारी 

आगामी आर्थिक वर्षको सुरुवात हुने केहि दिन मात्र बाँकी छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९÷८० को साउन पहिलो साताभित्र मौद्रिक नीति ल्याउने तयारी गरेको छ । 
यसका लागि राष्ट्र बैंक विभिन्न सर्वसाधरणदेखि विज्ञहरुसंगको छलफल तथा सुझावका कार्यक्रम तिव्र रुपमा लागिरहेको छ । 

राष्ट्र बैंकका सहायक प्रवत्ता तथा सूचना अधिकारी नारायणप्रसाद पोखरेलले साउनको पहिलो साताभित्र आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । 
मुलुकको अर्थतन्त्र नकारात्मक दिशामा रहेका बेला नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउनु पर्ने विज्ञहरुले सुझाव दिइरहेका छन् ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीति निकै कडा ल्याउनु पर्ने सुझाव दिनुभएको छ । 
५) एक वर्षको अवधिमा कर्जा ब्याजदरभन्दा निक्षेपको ब्याजदरमा वृद्धि 

एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर ३६.४ प्रतिशत र निक्षेपको ५६ प्रतिशतले बढेको छ । यो वर्ष कर्जाको ब्याज बढेको अनुपातमा निक्षेपको ब्याजदर झनै उच्चदरमा बृद्धि भएको छ । एक वर्षमा बैंकले बचतमा दिने ब्याज ५६ प्रतिशतले बढेको छ ।

बजारमा तरलता अभाव भएपछि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर ३६.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । एक वर्षको अवधिमा कर्जाको ब्याजदर ३.०८ प्रतिशत विन्दुले बढेको हो ।

गत वर्ष जेठमा बैंक वित्तिय संस्थाको औषत ब्याजदर ८.४६ प्रतिशत थियो । चालु आर्थिक वर्षको जेठमा बैंक वित्तिय संस्थाको औषत ब्याजदर ११.५४ प्रतिशत पुगेको हो ।

यस्तै गत वर्ष चैतमा बैंक वित्तीय संस्थाको निक्षेपमा अबौषतमा ४.७२ प्रतिशत ब्याज दिएकोमा यो वर्ष जेठमा औषत ब्याजदर ७.३४ प्रतिशत पुगेको छ । निक्षेपको ब्याजदरमा समेत बृद्धि हुँदा बैंक वित्तीय संस्थाको आधार दर ४०.९९ प्रतिशतले बढेको छ । 

गत वर्ष जेठमा बैंक वित्तीय संस्थाको आधार दर ६.६६ प्रतिशत रहेकोमा यो वर्षको जेठमा बैंक वित्तीय संस्थाको आधार दर ९.३९ प्रतिशत पुगेको हो ।

६) उपभोग्य वस्तुको मुल्य घटाउन सांसद विश्वकर्माले गराए सरकारको ध्यानाकर्षण

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले महंगीका कारण जनता आक्रान्त भएको बताउनुभएको छ । मंगलबार मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महंगीका कारण जनता आक्रन्त भएकाले उपभोग्य वस्तुको मुल्य घटाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो  ।

दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धिका कारण जनताको जिवनयापनमा समेत असर पर्न थालेकाले मुल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । 

यस्तै उहाँले बढ्दो व्यापारघाटालाई रोक्नुपर्ने र आयातलाई कम गर्दै लानुपर्ने पनि बताउनुभयो । 

७) चार हप्ताको अवधिमा वाणिज्य बैंकहरुमा एक खर्ब निक्षेप थपियो 

असार महिनाको सुरुवातदेखि नै वाणिज्य बैंकहरुको निक्षेपमा सुधार आएको छ । यस महिनाको चार हप्ताको अवधिमा वाणिज्य बैंकहरुमा एक खर्ब निक्षेप थपिएको छ । 
असार ३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ९४ अर्ब रुपैयाँ रहेको थियो ।

उक्त निक्षेप बढेर असार २४ गतेसम्म आइपुग्दा ४४ खर्ब ९४ अर्ब पुगेको हो । यस अवधिमा वाणिज्य बैंकहरुमा एक खर्ब निक्षेप थपिएको हो ।  नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार ३ गतेदेखि १० गतेसम्म चार अर्ब निक्षेप थपिएको थियो । 

यस्तै असार १० गतेदेखि १७ गतेसम्म ३४ अर्ब रुपैयाँ र १७ गतेदेखि २४ गतेसम्मको अवधिमा ६२ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुमा निक्षेप आएको हो ।  

८) कृषि सहकारी संस्थाका अध्यक्षसहित ११ जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सहकारी संस्था लिमिटेडका अध्यक्षसहित ११ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश कुमार लिम्बुसहित ११ जना विरुद्ध मुद्दा दायर गरेको हो ।  

पशु सेवा विभाग पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयबाट विगत आर्थिक वर्षमा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रम सञ्चालन गरिएको थियो । सो कार्यक्रममा तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. ०५ जिरीखिम्ति माझगाउँमा आम्फुवा पशुहाटबजार निर्माण गर्न अनुदान प्राप्त भएको थियो । उक्त निर्माण कार्य सम्पन्न नगरी अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

सोहि उजुरीको आधारमा अख्तियारले अनुसन्धान हुँदा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा इष्टिमेट बमोजिम कार्य नै नगरी ४७ लाख ३७ हजार ६२९ रुपैयाँ बढी भुक्तानी भएको देखिएको जनाएको छ ।

उक्त रुपैयाँ बराबरको माग दाबीसहित पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालय हरिहरभवनका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बँजगाई र वरिष्ठ पशु चिकित्सक पूजा शर्मा विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । उनीहरु तीनै जनासंग जनही ४७ लाख ३७ हजार ६२९ रुपैयाँ बिगो माग गरिएको छ ।

 ९) वैदेशिक रोजगारमा जानेको संख्या ३ वर्ष यताकै उच्च

चालु आर्थिक वर्षको ११ महिनामा ५ लाख ६७ हजार ८३९ जनाले रोजगारीका लागि विदेश जान अनुमति लिएका छन् । र, यो तीन वर्षयताकै सबैभन्दा उच्च हो । वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि जेठसम्मको अवधिमा उक्त श्रम स्वीकृति लिएका हुन्। यस अवधिमा ३ लाख ९ हजार २६१ जनाले नयाँ श्रम स्वीकृति र २ लाख ५८ हजार ५७८ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

चालु आवको पहिलो महिना साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१ र कात्तिक महिनामा ५४ हजार ९१८ वटा श्रम स्वीकृति जारी भएका छन् ।

यस्तै मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७ र चैतमा ५५ हजार ५२३ वटा श्रम स्वीकृति प्रदान गरिएको छ । त्यसैगरी वैशाखमा ४५ हजार ४ र जेठमा ६२ हजार ३४९ वटा श्रम स्वीकृति जारी भएका छन् ।

१०)  ट्रेड सेटलमेन्टका लागि रुपैयाँ चलाउने भारतको घोषणा 

रिजर्भ बैंकले ट्रेड सेटलमेन्टको मुद्राको रुपमा रुपैयाँ निर्णय गरेको छ । विश्वव्यापी घटनाक्रमका कारण भारतको व्यापार घाटा नियन्त्रण गर्न कठिन बन्दै गएका कारण रिजर्भ बैंकले यस्तो घोषणा गरेको हो । 

लामो समयदेखि यसको माग धेरै अर्थशास्त्रीहरूले गर्दै आएका थिए । अन्ततः केन्द्रीय बैंकले अब अन्तर्राष्ट्रिय पनि रुपैयाँमा हुने निर्णय गरेको छ । रिजर्भ बैंकको यो कदमले एकतर्फ भारतको डलरमाथिको निर्भरता कम हुने विज्ञहरुको भनाइ छ । विज्ञहरुका अनुसार यस निर्णयले व्यापार घाटा कम र्ग सहयोग मिल्नेछ । 

रिजर्भ बैंकले सोमबार साँझ परिपत्र जारी गरेको हो । अब रुपैयामा बीजक बनाउने, भुक्तानी गर्ने र आयात–निर्यातको व्यवस्था मिलाउन थप व्यवस्था मिलाइएको बताइएको छ ।

रिजर्भ बैंकको यो कदमले ट्रेड सेटलमेन्टको मुद्राको रुपमा रुपैयालाई बढावा दिने बताईएको छ । अन्तर्राष्ट्रिय व्यापार सम्झौताका लागि रुपैयाँको प्रयोग लामो समयदेखि चर्चामा छ ।