१९ माघ, २०८१ शनिबार
02:43:32 PM
२७ असार, २०७९
१) सेयर बजारमा ७७.०१ अंकको गिरावट
कारोबारको पहिलो दिन सोमबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार दोहोरो अंक ७७.०१ प्रतिशतले घटेर नेप्सेपरिसूचक १९१५.६१ विन्दुमा बन्द भएको छ ।
सेयर बजार घट्दा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको कारोबार भएको छ भने ६३ लाख १३ हजार ६ सय ४१ कित्ता सेयर किनबेच भएका छन् ।
२) ४/१२ करोड नीतिमा बोल्न मिल्दैनः गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ४÷१२ करोड नीतिका विषयमा आफू बोल्न नमिल्ने बताउनुभएको छ । सोमबार अर्थ समितिमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमाथि छलफलका क्रममा उहाँले सेयर बजारको नियामक निकाय छुट्टै भएकाले यस विषयमा आफू बोल्न नमिल्ने बताउनुभएको हो ।
उहाँलाई यस विषयमा समिति सभापति कृष्णप्रसाद दाहालले सेयर बजार ओरालो लागेको र यसलाई सम्बोधन गर्न मौद्रिक नीतिले के व्यवस्था गर्न लागेको छ भन्दै प्रश्न गर्नुभएको थियो।
३) राष्ट्र बैंकले ७ वाणिज्य बैंकलाई लगायो ‘क्यापिटल चार्ज’
नेपाल राष्ट्र बैंकले निक्षेप तरलता अनुपात नपुग्ने ७ वटा वाणिज्य बैंकलाई ‘क्यापिटल चार्ज’ लगाएको छ । राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा ७ वटा वाणिज्य बैंकले तरलता अनुपात (लिक्विडिटी टू डिपोजिट रेसियो ‘एलडी’) कायम गर्न सकेका छैनन् ।
चैत मसान्तको विवरण अनुसार बैंकहरुको औसतमा तरलता अनुपात २१.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तमा बैंकहरुको तरलता अनुपात २७.१७ प्रतिशतले थियो । बैंकहरुले आफूसँग भएको निक्षेपमा २० प्रतिशत रकम तरल रुपमा राख्नुपर्छ ।
बैंकहरुसँग भएको निक्षेप २० प्रतिशतसम्मको रकम जुनसुकै बेला फिर्ता गर्नुपर्ने सम्भावनालाई ध्यान दिएर २० प्रतिशत बराबरको रकम तरल रुपमा राख्नुपर्ने व्यवस्था छ । चैत मसान्तमा सबैभन्दा कम तरलता अनुपात १५.९१ प्रतिशत प्राइम बैंकको रहेको छ । राष्ट्र बैंकले प्राइमलाई सबैभन्दा बढि चार्ज लगाएको छ ।
यस्तै एसबीआई बैंकको १८.१४ प्रतिशत, कुमारी बैंकको १८.२३ प्रतिशत, लक्ष्मीको १८.८७ प्रतिशत सिद्धार्थ बैंकको १९.०२ प्रतिशत रहेको छ । यस्तै सेञ्चुरी बैंक १८.०८ प्रतिशत तरलता अनुपात रहेको छ भने सनराइज बैंकको १९.०४ प्रतिशत रहेको छ ।
४) नेपालमा विदेशी लगानीका लागि वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक संकट देखा परेकाले यसबाट जोगाउन विदेशी लगानीका लागि आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आइतबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरुले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको बताउनुभयो ।
यस्तै उहाँले नेपाललाई आर्थिक संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाउन संसारभरका नेपालीहरुले नेपालमा पुँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी ल्याउनुपर्ने बताउनुभयो ।
५) जनताको लगानीलाई जोखिममा पारेको भन्दै ब्रोकर एसोसिएसनले बोर्डमा बुझायो ज्ञापन पत्र
नेपाल स्टक ब्रोकर एसोसिएसनले नेपाल धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएको छ । एसोसिएसनले धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता)
नियमावली, २०६४ संसोधन गर्ने निर्णय गरी संशोधनका लागि अर्थ मन्त्रालयमा पठाउँदा ब्रोकरसँग समन्वय नगरेको भन्दै त्यसको विरोध गर्दै धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएको हो ।
एसोसिएसनले सोमबार बोर्डमा ज्ञापनपत्र बुझाउँदै अर्थमन्त्रालयमा बिचाराधिन रहेको मस्यौदामा व्यवसायीहरुको पनि राय सुझाव समेटिनेगरी पुनः छलफल चलाउन आवश्यक रहेको जनाएका छन् ।
६) एक प्रधानाध्यापक सहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रधानाध्यापक सहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालत काठमाण्डौंमा महोत्तरीको श्री माबि एकडाराका प्रधानाध्यापक राम दिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद पासमान विरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार प्रधानाध्यापक रामदिनेश मण्डल र अध्यक्ष विनोद पासमानले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरेका थिए । जसमा उनीहरुले विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना आयोगमा परेको थियो ।
सोहि आधारमा गत जेठ १९ गते अख्तियारको टोलीले मण्डल र पासमानलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
यसैगरी अख्तियार अदालतमा बयान फेर्ने सरकारी साक्षीविरुद्ध पनि मुद्दा दायर गरेको छ । भ्रष्टाचार मुद्दामा सरकारी साक्षीले विशेष अदालतमा बयान फेरेपछि आयोगले सोमबार अजयकुमार कुशवाहाविरुद्ध ३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
७) कुल व्यापार घाटा २५ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको ११ महिनामा आयात २७.५ प्रतिशतले बढेको छ ।सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय तथ्यांक अनुसार ११ महिनामा १७ खर्ब ६३ अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा २५.७ प्रतिशतले आयात भएको थियो ।
चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो ।
यस्तै यस अवधिमा कुल वस्तु व्यापार घाटा २५ प्रतिशतले बढेर १५७७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
८) वाणिज्य बैंकहरुले लिए ८९ खर्ब ८७ अर्ब एसएलएफ सुविधा
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव चुलिँदै गएपछि वाणिज्य बैंकहरुले ८९ खर्ब ८७ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् । गत चालु आर्थिक वर्षको साउनदेखि असार २४ गतेसम्म वाणिज्य बैंकहरुले ८९ खर्ब ८७ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिएका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले ४ हजार ७ सय ९२ वटा कारोबारबाट सो रकम एसएलएफ सुविधा लिएका हुन् । बैंकहरुले एक साता अवधिका लागि एसएलएफ सुविधा लिने गरेका छन् ।सरकारी ऋणपत्र धितो राखेर यस्तो सुुविधा लिन पाउने व्यवस्था छ ।
बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् । बैंकले ७ दिन अवधिका लागि उक्त रकम लिएका हुन्छन् । असार २४ गते बैंकहरुले २० वटा कारोबारबाट ३३ अर्ब ६७ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका राष्ट्र बैंकले जनाएको छ ।
९) थप १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो केहि दिन यता नेपालमा कारोना भाइरसको संक्रमण दर बढ्दै गइरहेको छ । गत २४ घण्टामा थप १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय ३४ पिसिआर परिक्षणका क्रममा १ सय २९ जना र १ हजार १ सय ८६ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै थप ३७ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ७ सय २४ जना निको भएका छन् । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन ।
हाल नेपालमा ७ सय ७० सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
१०) भारतीय सिमेन्ट उत्पादकहरुले खरिद गरे चिनियाँ मुद्रामा रुसी कोइला
रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा राष्ट्रहरुले रुसमा आर्थिक प्रतिबन्धलाई कडाइको घोषणा गरे पनि भारतले भने रुसबाट कोइला खरिद गरेको छ । भारतीय सिमेन्ट उत्पादकहरुले चिनियाँ मुद्रामा रुसी कोइला खरिद गरेका हुन् ।
जुन ५ को बिलअनुसार एचडीएफसी बैंकले भारतीय सिमेन्ट कम्पनी अल्ट्राटेकलाई वित्तीय सहायता उपलब्ध गराउँदै रुसी कोइला खरिद गर्न उत्पादन तथा ट्रेडर एसयुईकेलाई १७ करोड २७ लाख युआन (३ अर्ब २५ करोड रुपैयाँ) भुक्तानी दिएको छ ।
एचडीएफसी बैंकको अन्धेरी इस्टमा रहेको शाखाले रुसी कोइला किन्न एलसी जारी गरेको थियो। भारतीय कम्पनीहरुले रुसी कच्चा पदार्थ चिनियाँ मुद्रामा खरिद गरेसँगै विश्वभर चर्चा भइरहेको छ।