१९ माघ, २०८१ शनिबार
02:42:27 PM
२७ असार, २०७९
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा समग्र मूल्यवृद्धि ८.५६ प्रतिशत पुगेको छ । सोमबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थितिबारे तथ्यांक सार्वजनिक गर्दै चालु आर्थिक वर्षको ११ महिनामा समग्र उपभोक्ता मुद्रास्फीति ४.३७ प्रतिशतले वृद्धि भएको जानकारी दिएको हो। गत आर्थिक बर्षको ११ महिनामा यस्तो मूल्य वृद्धि ४.१९ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको २०७८ जेठ महिनाको तुलनामा चालु आर्थिक वर्षको जेठमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यु तेलको मूल्य २२.६० प्रतिशतले बढेको छ ।
यस्तै दुग्ध पदार्थ तथा अण्डाको मूल्य ११. २२ प्रतिशतले वृद्धि भएको छ । सुर्तीजन्य पदार्थको मूल्य ९.७० प्रतिशत छ भने मदिराजन्य पेय पदार्थमा ९.६८ प्रतिशत र दाल तथा गेडागुडीमा ९.१३ प्रतिशतले वृद्धि भएको छ ।
गैर खाद्य तथा सेवा उपसमूह अन्र्तगत यातायातमा २५.७९ प्रतिशत, शिक्षामा ११.६४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरण ८.२१ प्रतिशत पुगेको छ । यस्तै मनोरञ्जन तथा संस्कृतिमा ८.२१ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको उपसमूहको मुद्रास्फीति ७.८४ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा काठमाडौंमा मूल्यवृद्धि झण्डै तीन गुणाले बढेको छ । चालु आवको ११ महिनामा काठमाडौं उपत्यकामा मुद्रास्फीति ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत र पहाडमा ९.२८ प्रतिशत छ । यस्तै हिमाली क्षेत्रमा मुद्रास्फीति ८.९२ प्रतिशत पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो मुद्रास्फीति उपत्यकामा ३.८७ प्रतिशत, तराईमा ४.४७ प्रतिशत, पहाडमा ४.३२ प्रतिशत र हिमाली क्षेत्रमा १.७३ प्रतिशत रहेको थियो ।