१९ माघ, २०८१ शनिबार
02:31:53 PM
२६ असार, २०७९
१) एफएनसीसीआईले दियो मौद्रिक नीतिका लागि सुझाव
नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले बैंकको नाफामा कडाइ गर्नुपर्ने र आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नु पर्ने निर्णय हटाउनु पर्ने माग गर्नुभएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका बिषयमा सुझाव दिन आयोजित कार्यक्रममा बोल्दै उहाँले एलसी मार्जिनका विषयमा राष्ट्र बैंकले नभएर बाणिज्य बैंकले निर्णय गर्नु पर्ने तथा देशको क्रेडिट रेटिङ गर्नु पर्ने गोल्छाको सुझाव दिनुभयो।
यस्तै उहाँले राष्ट्र बैंकले समयमै नीतिगत हस्तक्षेप गरेको भए पछिल्लो ६ महिनामा ब्याजदर दोब्बर बिन्दुमा पुग्ने पनि बताउनुभयो । अब बजारमा देखिएको तरलता समस्या समाधान गर्न तरलता रेसियो २० प्रतिशतबाट १५ प्रतिशत बनाउनु पर्ने पनि उहाँको सुझाव छ ।
बैंकले कर्जा प्रवाहमा कडाइ गर्दा सरकारको राजस्व लक्ष्य प्रभावित हुने उहाँले बताउनुभयो । पछिल्लो समय साना र मझौला उद्योगीको स्थिति कमजोर भएको पनि उहाँले बताउनुभयो ।
यस्तै सोही कार्यक्रममा नेपाल बैकर्स संघका उपाध्यक्ष सुनिल केसीले विदेशी मुद्राको सञ्चिति बढाउन ब्याजदर बढाउनुपर्ने बताउनुभयो ।
यस्तै उहाँले पहिले प्रणालीलाई स्थिर राखे मात्र त्यसमा सबैको हित अटाउने बताउदै स्थरता नहेरी आफ्नो फाइदा मात्र हेरियो भने समस्या अझ बढ्ने बतानुभयो ।
२) समग्र अर्थतन्त्रलाई जोगाउनु पहिलो प्राथमिकताः गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रलाई जोगाउनु पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आइतबार आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नरले अहिले समग्र विश्व अर्थतन्त्र कसरी अगाडि बढिरहेको छ त्यो हेर्नुपर्ने बेला भएको बताउनुभएको हो ।
३) बजेट सकाउने चटारोले बैंक तथा वित्तीय संस्थाको निक्षेप बढ्यो
सरकारी खर्च बढ्दा बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ ।आर्थिक वर्ष सकिनै लाग्दा बजेट सकाउने चटारोले एक सातामै बैंकहरुको निक्षेप ५२ अर्बभन्दा बढीले बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुसँग असार १५ सम्ममा ४४ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप थियो भने असार २२ गतेसम्म ४४ खर्ब ७० अर्बमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप ५० खर्ब ६१ अर्ब छ । अहिले विकास बैंक र फाइनान्स कम्पनीसँग ५ खर्ब ९२ अर्ब निक्षेप रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार असार महिनाको २५ गतेसम्म १ खर्ब ८ अर्बले विकास खर्च बढेको छ ।
४) मधेश प्रदेशसभाले पारित गर्यो कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
मधेश प्रदेशसभाले पारित गर्यो कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आइतबा बसेको बैठकमा प्रस्तुत विधेयक सर्वसम्मतिले पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गर्नुभएको हो । बैठकमा अर्थमन्त्री साहले आर्थिक विधेयक २०७९ प्रस्तुत गर्नुभएको थियो ।
५) सोमबारदेखि नबिल र एनबि बैंकको एकीकृत कारोबार नहुने
नबिल बैंक लिमिटेड र नेपाल बैंगलादेश (एनबी) बैंक लिमिटेडको एकीकृत कारोबार सोमबारदेखि नहुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सोमबारदेखि यी दुई बैंकको एकीकृत कारोबार नहुने जानकारी गराएको हो ।
दुवै बैंकको ग्राहक कारोबारको तथ्यांक सफ्टवेयरमार्फत एकीकृत गर्नको लागि डाटा माइग्रेशनको कार्य जारी रहेको हुँदा सोमबार पनि बैंकका सम्पूर्ण सेवा तथा कारोबार बन्द रहने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
६) आगामी आर्थिक वर्षदेखि विद्युतीय बिजक लागू हुने
आगामी आर्थिक वर्ष २०७९–८० बाट १० करोडभन्दा बढी कारोबार गर्ने सम्पूर्ण करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्नेे भएको छ।
आन्तरिक राजस्व विभागले आव २०७७–७८ वा २०७८–७९ को मूल्य अभिवृद्धि र तथा आय विवरण मध्ये कुनै एक आवको कारोबार रकम १० करोडभन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने व्यवस्था गरेको हो । सो व्यवस्था साउन १ गतेदेखि लागू हुनेछ ।
तर, कारोबारको प्रकृतिअनुसार उपभोक्ता वा ग्राहकलाई प्रत्यक्ष रुपमा बिजक जारी नगर्ने बैंक तथा वित्तीय संस्थाजस्ता निकायको कारोबारका हकमा यो व्यवस्था लागू नहुने विभागको सूचनामा उल्लेख छ ।
७) नेप्सेमा २० कम्पनीको सेयर कारोबार रोक्का
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २० वटा सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का भएको छ । हाल मर्जर र एक्विजिसन (प्राप्ति) प्रयोजनका लागि नेप्सेले २० वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।
मर्जर र प्राप्ति प्रयोजनका लागि नेप्सेमा सेयर कारोबार रोक्का हुनेमा ७ वटा बीमा कम्पनी, ५ वटा वाणिज्य बैंक, ५ वटा लघुवित्त कम्पनी, २ वटा जलविद्युत कम्पनी र एउटा फाइनान्स कम्पनी रहेका छन् ।
नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली २०७३ मा मर्जर तथा एक्विजिसन प्रक्रियामा रहेका कम्पनीहरुको सेयर रोक्का राख्ने व्यवस्था छ। मर्जर तथा एक्विजिसनका कारण सेयर कारोबार रोक्का भएका कम्पनीहरुमा बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट रहेका छन् ।
८) थप १२१ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गहिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जना गरी १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
९) विदेशी पुनर्बीमा कम्पनीहरू घाटामा
निर्जीवन बीमक संघको छाता संगठन बीमक संघले नेपालको व्यवसायसँग विदेशी पुनर्बीमा कम्पनीहरूले व्यापारमा अत्यधिक घाटा बेहोर्नु परेको जनाएको छ । बीमक संघले गरेको अध्ययन अनुसार जोखिम अनुपात अत्यधिक भएकाले विदेशी कम्पनीहरूले घाटा बेहोर्नु परेको हो ।
जोखिम अनुपात अत्यधिक भएकाले पुनर्बीमाबाट प्राप्त दाबीको औषत प्रतिशत ६० प्रतिशत र कम्पनीहरूले कमिशन वापत प्राप्त गरेको कमिशन ३५ प्रतिशत गरी कुल ९५ प्रतिशत रकम स्वदेश मै रहेको संघको अध्ययनले देखाएको छ ।
संघका अनुसार २०७८÷७९ को क्षति तथा पुनर्बीमा सम्झौता समेत समावेश गर्दा तथ्यांकमा दाबी औषत प्रतिशत ७० प्रतिशत र कमिसन औसत २५ प्रतिशत रहेको देखिन्छ ।
१०) युक्रेनले विश्वका विभिन्न दाताहरुबाट १ अर्ब ७ करोड रुपैयाँ सहयोग प्राप्त गर्ने
रुसको आक्रमणबाट आक्रान्त रहेको युक्रेनले विश्वका दाताहरुबाट सहयोग रकम प्राप्त गरिरहेको छ । युक्रेनका प्रधानमन्त्री डेनिस सिमहलले पछिल्लो समयमा युक्रेनले विभिन्न दाताहरुबाट १ अर्ब ७ करोड (१.७ बिलियन) अमेरिकी डलर बराबरको सहयोग प्राप्त गर्ने जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री डेनिसले शनिबार सो रकम विश्वका विभिन्न दाता राष्ट्रहरुबाट प्राप्त हुन लागेको र विकास र पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय बैंकमार्फत प्राप्त हुने जानकारी दिनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।