१९ माघ, २०८१ शनिबार
02:33:54 PM
२६ असार, २०७९
काठमाण्डौं । नेपालमा पहिलो पटक खाना पकाउने कलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ सञ्चालन हुने भएको छ । नेपाली खानाको प्रवद्र्धन र खाना पकाउने कलाको विकासका लागि पाक कलासम्बन्धी रियालिटी शो सञ्चालनमा ल्याउन लागिएको निर्माता धर्मराज पाण्डेले जानकारी दिनुभयो ।
साउनदेखि सञ्चालनमा आउने उक्त शोका लागि करिब चार करोड रुपैयाँ खर्च हुने जनाइएको छ । साउन पहिलो सातादेखि कार्यक्रम उत्पादन गरिने र अन्तिम सातादेखि कार्यक्रम प्रसारण हुने उहाँले बताउनुभयो ।
प्रतियोगिताको अहिले ‘प्रि अडिशन राउण्ड’ चलिरहेको छ । अनलाइनबाट प्रतियोगीले सहभागिता जनाउन सक्नेछन् । औपचारिक घोषणा भइसकेको शो लागि ‘अनप्रोफेस्नल’ले पनि सहभागिता जनाउन पाउँछन् । गृहिणी, खाना पकाउन रुचाउने कला भएका व्यक्ति तथा होटल म्यानेजमेन्ट अध्ययन गरेकाले सहभागिता जनाउन सक्नेछन् ।
अनलाइन आवेदनमध्ये १०० जनालाई छानिने छ । उनीहरुले निर्णायकका अगाडि लाइभ अडिशनमा आफ्नो कला देखाउनुपर्नेछ ।३० जना छनोट भएपछि उनीहरुमध्ये कुकिङ प्रतिस्पर्धाबाट एलमिनेट राउण्डका लागि १५ जना छनोट गरिनेछ । त्यसपछि एलिमिनेट राउण्ड सुरु भएपछि १५ जनाबाट एक÷एक जना एलिमिनेट हुँदै टप तीन छनोट गरी उनीहरुमध्येबाट सेफ नेपाल विजेता घोषणा गरिने आयोजकले जनाएको छ । विजेतालाई २५ लाख पुरस्कार र सेफ नेपालको प्रमाणपत्र दिइनेछ ।
उहाँले भन्नुभयो, ‘नेपाली खानाबारे धेरै अध्ययन र प्रतिस्पर्धा भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बिबीसी मास्टर सेफजस्ता शो भइरहेका छन् । यो मास्टर सेफकै विधि हो, मास्टर सेफ ल्याउँदा बढी खर्चिलो हुने भएकाले हामीले नेपालकै मौलिक ब्राण्ड बनाउन खोजेका हौँ ।’
धर्म पिक्चर्सको प्रस्तुति रहेको सेफ नेपालको निर्देशन सिमोस सुनारले गर्नुहुनेछ । सेफ नेपाल रियालिटी शोमा सेलीब्रेटी जजका रुपमा नायिका प्रियङ्का कार्की रहनु हुनेछ ।
नेपालमौ नौलो शोका रुपमा निर्माण गर्न लागिएको शोमा नेपाली खानाका पारखी र यस क्षेत्रमा रुचि हुनेलाई प्रोत्साहन गर्नुका साथै नेपाली खानाको प्रचार–प्रसारमा सहयोग पुग्ने निर्माण पक्षको विश्वास छ ।
कार्यक्रमको निर्णायकमा प्रियङ्का कार्की, सेफद्वय गणेश ढकाल र लम्मणप्रसाद भण्डारी रहने छन । हरेक ‘एपिसोड’मा तीन निर्णायक बाहेक अन्य दुई जना अतिथि एक सेलिब्रेटी र अर्का एक सेफ रहने छन् । यो कार्यक्रम अवधिभर सेफहरुलाई आफ्नो पाककला देखाउने अवसर पनि पाइनेछ।