६ जेठ, २०८१ आइतबार

11:51:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अन्यौलमा बाहिरी चक्रपथ, निर्माणको जिम्मा पाएको प्राधिकरणनै अनविज्ञ

२६ पुस, २०७८

कूल लागत ४३ अर्ब १५ करोड ६० लाख लाग्ने अनुमान

अन्यौलमा बाहिरी चक्रपथ, निर्माणको जिम्मा पाएको प्राधिकरणनै अनविज्ञ

काठमाण्डौं
तेह् वर्ष पहिले विस्तृत  परियोजना प्रतिवेदन तयार पारिएको बाहिरी चक्रपथ निर्माण कार्य अन्यौल बनेको छ । आयोजनाको निर्माण गर्ने जिम्मेवारी पाएको काठमाडौं उपत्यका विकास प्राधिकरण नै अब आयोजना के हुन्छ भन्ने अन्यौलमा छ ।
यस अवस्थामा विकास प्राधिकरणले विभिन्न अवरोधका कारण निर्माण कार्य अघि बढ्न नसकेको जनाएको छ । बाहिरी चक्रपथको ७५ प्रतिशत भागको डिपिआर तयार भएपनि पहिलो चरणकै निर्माण कार्य शुरु हुन सकेको छैन । तीन वर्ष अगाडि नै बाहिरी चक्रपथ निर्माणको पहिलो चरणका रूपमा चोभार, गाम्चा र सतुंगल खण्डको ६.६ किलोमिटरमा काम सुरु गर्ने भनिएको थियो । कृषि योग्य भुमि र बस्ती मास्न स्थानीयले नदिएकाले काम अघि बढ्न नसकेको प्राधिकरणले बताउँदै आएको छ ।

बाहिरी चक्रपथ आयोजना प्रमुख दिनेश कृष्ण पोतेले बाहिरी चक्रपथको विषयमा थप छलफल गरेर केही निर्णय लिइने बताउनु भयो । चक्रपथ निर्माण सुरु नहुँदा आयोजना वरपर धमाधम घर निर्माण हुन थालेको पनि उहाँले जानकारी दिनुभयो । चोभार, गाम्चा र सतुंगल खण्डमा  मात्र १ सय १४ घर बनेका छन् ।

प्राधिकरणको अध्ययन अनुसार आयोजना वरपर हालसम्म करिब २३ सय घर निर्माण भइसकेका छन् । आयोजना प्रमुख पोतेका अनुसार काठमाडौकै जस्तो चक्रपथ बनाउँने हो भने प्रतिकिलोमिटर ६० करोड र कूल लागत ४३ अर्ब १५ करोड ६० लाख लाग्नेछ ।

कुल ७१.९३ किलोमिटर प्रस्ताव गरिएको बाहिरी चक्रपथको कुल लम्बाइमध्ये काठमाडौंमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० किलोमिटर र भक्तपुरमा २१.०५ किलोमिटर हुनेछ । बाहिरी चक्रपथको अवधारणा काठमाडौं उपत्यकाका तीनवटै सहर र अन्य नगरपालिकालाई एउटै सडक सञ्जालको माध्यमबाट व्यवस्थित सहरीकरण गर्ने दीर्घकालीन सोच अनुरुप तयार भएको थियो । चक्रपथ आयोजना निर्माण कार्य सुरु भए जग्गा विकास ल्यान्ड पुलिङ प्रविधि र प्रक्रिया अपनाएर निर्माण गर्न लागिएको नेपालकै पहिलो सडक हुनेछ ।

चक्रपथ निर्माणका लागि आर्थिक वर्ष २०५६÷५७ मा नै नेपिकोन भन्ने संस्थाले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो भने आर्थिक वर्ष २०६१÷६२ को बजेट वक्तव्यमा व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौँ उपत्यकामा बाहिरी चक्रपथको निर्माण कार्य आर्थिक वर्ष २०६१÷६२ देखि नै प्रारम्भ गरिने छ, भनी बजेट भाषणमार्फत घोषणा भएपछि यस सम्बन्धी कार्य प्रारम्भ भएको हो ।  उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न २०५० सालमा सरकारद्वारा गरिएको अध्ययनले बाहिरी चक्रपथको आवश्यकता औँल्याएको थियो ।

०७५ चैतमा आयोजना गरिएको लगानी सम्मेलनमा बाहिरी चक्रपथका लागि लगानीकर्तासँग प्रस्ताव माग गरिएको थियो । उक्त सम्मेलनमार्फत् ४ वटा चिनियाँ कम्पनीले निर्माणमा चासो देखाएका थिए । मन्त्रिपरिषदको बैठकले २०७६ असोज ६ गते चाइना कम्युनिकेसन कन्ट्रक्सन (सीसीसी)सँग प्रस्ताव आह्वान गरी निर्माण प्रक्रिया शुरु गर्न स्वकृति दिइको थियो । तर लगानीको मोडालीटी, निर्माण ढाँचा र रेखांकनको टुंगो लाग्न नसकेकोले निर्माण  प्रक्रिया अझै अगाडी बढ्न सकेको छैन् ।