१९ माघ, २०८१ शनिबार

03:36:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंगलबारका प्रमुख आर्थिक समाचारः सेयर बजारमा दोहोरो अंकको गिरावटदेखि अर्थमन्त्रीको राजिनामा मागसम्म

Nepal Business

२१ असार, २०७९

मंगलबारका प्रमुख आर्थिक समाचारः सेयर बजारमा दोहोरो अंकको गिरावटदेखि अर्थमन्त्रीको राजिनामा मागसम्म

१) सेयर बजारमा ४६.०८ अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ४६.०८ अंकले घटेर नेप्से परिसूचक २ हजार ३०.५९ विन्दुमा बन्द भएको छ । मंगलबार सेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । सेयर बजार घट्दा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २४ रुपैयाँको कारोबार भएको  छ भने ८६ लाख १३ हजार ४८९ कित्ता सेयर किनबेच भएका छन् । हिजो मंगलबार भने सेयर बजार घटे पनि कारोबार रकम भने बढेको थियो । 

२) फेरि बढाइयो इन्धनको मूल्य

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । सोमबार राती १२ बजेदेखि लागु हुने गरी  पेट्रोलमा २, मट्टितेल र डिजेलमा ९÷९ र हवाई इन्धनमा ५ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ ।

३) दिनहुँ बढ्दै बैंकहरूको निक्षेप संकलन

बैंकहरूको निक्षेप संकलन एकै दिनमा ९ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार १९ गते, आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब २९ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
निक्षेप संकलन बढिरहँदा बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि दैनिकजसो नै घट्न थालेको छ ।

४) मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको तलब–भत्ता तथा सेवा–सुविधा नघटाउन बीमा समितिको निर्देशन

मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको तलब भत्ता तथा सेवा सुविधा नघट्ने भएको छ । बीमा समितिले सूचना जारी गर्दै समितिले गाभ्ने–गाभिने बीमा कम्पनीका कर्मचारीहरूलाई गाभिएर कायम हुने बीमा कम्पनीहरूमा निजहरूको साविकमा रहेको पद अनुसारको तह वा श्रेणी भन्दा कम नहुने गरी पद मिलान गर्न निर्देशन दिएको हो ।

५) ८ करोड २३ लाख माग दाबीसहित एक जना विरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा मुद्दा दायर गरेको छ। विभागले प्रेस विज्ञप्ती जारी गर्दै पुर्वको कुश्मा घर भई हाल काठमाण्डौंको सामाखुशी बस्ने गणेश पौडेल विरुद्ध जिल्ला अदालत काठमाण्डौंमा मुद्दा दायर गरेकोे जानकारी दिएको हो ।

विभागका अनुसार पौडेललाई विदेशी विनिमय ऐन विपरितको कसूरमा  ८ करोड २३ लाख २६ हजार आठ सय छ रुपैयाँ कायम गरी मागदावी लिई अभियोगपत्र दायर गरिएको हो ।

६) लघुवित्तहरुको खुद नाफा १४६ प्रतिशतले बढ्यो

लुघवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा १४६.७१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्थाहरुको निरिक्षण र सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार २०७८ असार मसान्तसम्ममा लुवित्तहरुको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १४६.७१ प्रतिशतले वृद्धि भई रु ११ अर्व ८७ करोड पुगेको छ । सो अवधिसम्म लघुवित्तहरुको ब्याज आम्दानी ४५ अर्ब २४ करोड रुपैयाँ, ब्याज खर्च १८ अर्ब १५ करोड रुपैयाँ र संचालन आम्दानी ४१ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

७) ३ लाख मेट्रिक टन चामल उत्पादन क्षमतासहित ८ वटा उद्योग दर्ता

चालु आर्थिक वर्षमा देशभर ३ लाख मेट्रिक टन चामल उत्पादन क्षमतासहित ८ वटा उद्योग दर्ता भएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको जेठसम्ममा धान प्रशोधन गरी चामल उत्पादन गर्ने ८ वटा उद्योग दर्ता भएको हो ।

८) युवा संघद्धारा अर्थमन्त्रीको राजिनामा माग 

अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गर्दै युवा संघले प्रदर्शन गरेको छ । मंगलबार दिउँसो नेकपा एमालेको भ्रातृ संगठन युवा संघले अर्थमन्त्री शर्माले बिचौलियाको सहयोगमा बजेट निर्माण गरेको भन्दै उहाँको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।

‘सीसीटीभी फुटेज खै, राजीनामा कहिले’ जस्ता नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका थिए । 

९) विकास बैंकहरुमा पनि सरकारी निक्षेपहरु राख्ने व्यवस्था मिलाउन माग

विकास बैंकहरुले सरकारी निक्षेपहरु विकास बैंकहरुमा पनि राख्ने व्यवस्था मिलाउन माग गरेका छन् ।  विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकमा पठाएको आफ्नो ४४ बँुदे सुझावमा यस्तो माग गरिएको हो ।

१०) भारतमा क्रिप्टोकरेन्सीको कारोबार घट्यो 

भारत सरकारले जुलाईदेखि क्रिप्टोकरेन्सी कारोबारमा १ प्रतिशत टीडीएस लगाउन थालेपछि कारोबार ह्वात्तै घटेको छ । इन्डियन एक्सचेन्जहरु वजिरएक्स, कोइनडीसीएक्स, बिटबीएनएस र जेबपेबाट हुने क्रिप्टोकरेन्सी कारोबार केही दिनयता दैनिक औसत ५६ लाख अमेरिकी डलरमा झरेको छ ।