१० मंसिर, २०८१ सोमबार
06:13:27 AM
२० असार, २०७९
काठमाण्डौं । सांसदहरुले रासायनिक मलको चरम अभाव हुँदा पनि सरकारको ध्यान जान नसकेको भन्दै आपत्ती जनाएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा उनीहरुले किसानले भोग्दै आएको मलखादको समस्या समाधानका गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले किसानका लागि अभाव भएको मलको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । समयमा नै मल नपाएको किसानहरु चिन्तित हुँदा सरकार मौन बसेको उहाँको भनाई छ ।
उहाँले यसअघि भारतसँग गरिएको जिटुजी सम्झौतामार्फत पनि मल ल्याउन सरकार असफल भएको जिकिर गर्नुभयो ।
यस्तै सांसद भैरवसुन्दर श्रेष्ठले जतिसक्दो चाँडो मल व्यवस्थापनमा लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रासायनिक मल बाहेक अन्य कुनै मलले नेपालको कृषि उत्पादन बढ्न नसक्ने भन्दै उहाँले आगामी हप्तासम्म किसानलाई प्रयाप्त मल दिने प्रत्याभूति सरकारले गराउनुपर्ने बताउनुभयो ।
बैठकमा अन्य सांसदहरुले वर्षा र बाढीका कारण भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै बैठकले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते बिहीबार ११ बजे बोलाइएको छ ।