२२ माघ, २०८१ मंगलबार
11:36:44 AM
२५ पुस, २०७८
काठमाण्डौं
नेपालमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब १७ करोड रुपैयाँभन्दा धेरैको काजु र बदाम आयात भएको छ । भन्सार विभागले प्रकाशित गरेको आर्थिक वर्ष २०७८÷७९ को पहिलो चार महिनाको तथ्याङ्कमा अनुसार १ अर्ब १७ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको काजु र बदाम आयात गरिएको छ ।
विभिन्न जातका काजु ६१ करोड ८४ लाख ३३ हजार रुपैयाँ र ५५ करोड ९५ लाख २१ हजार रुपैयाँ बराबरको मधेसी बदाम आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
दशैँ र तिहारलाई लक्षित गरी व्यापारीले काजु ६ देश र मधेसी बदाम तीन देशबाट आयात गर्दै आएका छन् । काजु भारत, चीन, मोजाम्बिक, नाइजेरिया, सिङ्गापुर, भियतनाम तथा मधेसी बदाम भारत, अमेरिका र अफगानस्तानबाट आयात हुँदै आएको छ ।
नेपालमा भारतबाट सबैभन्दा धेरै काजु आयात हुने गरेको छ । भारतबाट चालु आर्थिक वर्षको चार महिनामा ३६ करोड ५० लाख १३ हजार रुपैयाँमा चार लाख १७ हजार ४ सय ८४ केजी काजु आयात भएको छ । सबैभन्दा धेरै मधेसी बदाम अमेरिकाबाट आयात हुँदै आएको विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको चार महिनामा अमेरिकाबाट ५५ करोड ७६ लाख २९ हजार रुपैयाँमा ९ लाख ९ हजार ५ सय ६० केजी बदाम आयात भएको छ ।
रासस