१९ माघ, २०८१ शनिबार

05:37:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सार्वजनिक आर्थिक कारोबार सञ्चालनमा पारदर्शिता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध छः अर्थमन्त्री शर्मा

१५ असार, २०७९

‘बेरुजु किन बढ्दै गएको छ, कहाँनेर हाम्रो कमी कमजोरी भयो भन्ने कुराको अध्ययन र अनुसन्धान गरेर निराकरण गर्नुपर्ने आवश्यकता छ’

सार्वजनिक आर्थिक कारोबार सञ्चालनमा पारदर्शिता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध छः अर्थमन्त्री शर्मा

काठमाडौं ।  महालेखा परीक्षकको कार्यालयले ६४ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। कार्यालयको नयाँ भवनमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकले गर्ने लेखापरीक्षणले मुलुकको सार्वजनिक प्रशासनको वित्तीय अनुशासन र सदाचारको बारेमा प्रस्ट पार्ने गरेको बताइन्। उहाँले आधुनिक प्रविधिमार्फत लेखापरीक्षण हुन थालेकोमा खुसी व्यक्त गरिन्। 

महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष बेरुजु बढ्दै गएको तथ्य औँल्याउने भएकाले सुधारको खाँचो रहेको भण्डारीले बताउनुभयो । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फर्छ्यौटलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी गराउनुभयो। ‘यस वर्षको नीति तथा कार्यक्रममा समेत बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राखिएको छ’, उहाँले भन्नुभयो, ‘सार्वजनिक आर्थिक कारोबार सञ्चालनमा पारदर्शिता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध रहेको छ।’ 

शर्माले लेखापरीक्षकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयन गर्न तथा बेरुजु फर्छ्यौट गर्न सरकारले निरन्तर प्रयत्न गरिरहेको बताए। बेरुजु फर्छ्यौटका लागि अहिलेसम्म अपनाएका विधि र प्रक्रियाका बारेमा समीक्षा गर्नुपर्ने आवश्यकता देखेको पनि उहाँले बताउनुभयो।

 ‘बेरुजु किन बढ्दै गएको छ, कहाँनेर हाम्रो कमी कमजोरी भयो भन्ने कुराको अध्ययन र अनुसन्धान गरेर निराकरण गर्नुपर्ने आवश्यकता छ’, शर्माले भन्नुभयो। 

संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको लेखापरीक्षण गर्नुपर्ने जिम्मेवारी पूरा गरी वित्तीय व्यवस्थापन चुस्त, दुरुस्त बनाउन पहिलेझैँ यस वर्ष पनि महालेखा परीक्षकबाट सुझाव प्राप्त हुने अर्थमन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो ।  

संविधान र प्रचलित कानुनअनुसार सुशाशन कायम गर्न उल्लेखनीय कार्य गरेको भन्दै शर्माले महालेखापरीक्षक र मातहतका कर्मचारीको प्रशंसा गरेका थिए। ‘सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजस्वतर्फ भएका चुहावट, हिनामिना, न्यूनबिजकीकरण, अनौपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक असर, सार्वजनिक तथा संगठित संस्था सञ्चालनका विषयहरुमा भने थप ध्यान दिनुपर्ने देखेको छु’, उहाँले भन्नुभयो । 

अर्थमन्त्री शर्माले वर्तमान अर्थतन्त्रका बारेमा महालेखापरीक्षकको कार्यालयबाट अध्ययन र विश्लेषण भई सुझाव पाउने अपेक्षा राखेको पनि बताउनुभयो। ‘एकातिर अर्थतन्त्रको आकार दिन प्रतिदिन फराकिलो बन्दै गएको छ भने अर्कोतर्फ आर्थिक परिसूचकहरुमा उचार चढाव आइरहेको छ।

 यसो हुँदा अर्थतन्त्रका समग्र पक्षमा गहन अध्ययन, विश्लेषण र मूल्यांकन गर्नुपर्ने आवश्यकता देखेको छु’, उहाँले भन्नुभयो, ‘यसमा महालेखापरीक्षकको कार्यालयका तर्फबाट सशक्त अध्ययन, विश्लेषण भई सुधारका लागि सुझाव पेस हुने अपेक्षा गरेको छु।’