७ मंसिर, २०८१ शुक्रबार
02:07:34 PM
१३ असार, २०७९
काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटप्रति आफू जिम्मेवार रहेको र वर्तमान सरकारले यसको पूर्ण अपनत्व लिने बताउनुभएको छ ।
राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी बजेटमाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिने क्रममा एमाले सांसदहरुले बैठक बहिष्कार गरेपछि मन्त्री शर्माले देश र जनताको हितका लागि बजेट ल्याउँदा कोही कसैले विरोध जनाउन नपर्ने बताउनुभएको हो
बैठकमा अर्थमन्त्रीलाई जवाफ दिन रोष्टममा बोलाउनेबित्तिकै एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका थिए ।
एमाले सांसदको बहिस्कारकै बीचमा अर्थमन्त्री शर्माले जवाफ दिनुभएको थियो । अर्थमन्त्री शर्माले स्रोत तथा साधन, पुुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताउनुभयो ।
उहाँले उत्पादनमा आधारित अर्थतन्त्रको विकास, रोजगारी सिर्जना र गरिबी निवारण, कृषि क्षेत्रको उत्पादन वृद्धि, बाँझो उपभोगविहीन जमिनको पूर्णरुपमा प्रयोग, मल बीउ, तालिम उपलब्ध गराउने र उत्पादित वस्तु सरकारले खरिद गर्ने व्यवस्था गरिएको बताउनुभयो ।
बजेटमा आयात प्रतिस्थापन गर्न निर्यात बढाउने लक्ष्यका साथ प्रोत्साहनको नीति अगाडि सारिएको उल्लेख गर्दै उहाँले उद्यमशीलताको विकास, ग्रामीण अर्थतन्त्रको विकासका लागि उद्यमशीलताको विकासमा जोड दिइएको बताउनुभयो ।