१९ माघ, २०८१ शनिबार
08:43:52 PM
१२ असार, २०७९
काठमाण्डौं । नेपालमा वैदेशिक लगानी बढ्न थालेको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म १७ वटा मुलुक मार्फत् नेपाली उद्योग क्षेत्रमा ५१ अर्ब ५६ करोड ३७ लाख लगानी भित्रिएको छ ।
सो लगानी प्रतिवद्धता २५६ वटा उद्योग स्थापना तथा १४ हजार ७११ जनालाई रोजगारी सहितको प्रतिवद्धता रहेको विभागले जनाएको छ ।
वैदेशिक लगानी भारतपछि चीनको धेरै छ । चीनको ३० अर्ब ९७ करोड लगानी रहेको छ । यो नेपालमा रहेको कुल वैदेशिक लगानीको १५.६ प्रतिशत हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०७७ असार मसान्तसम्मा भारतबाट सर्वाधिक ६२ अर्ब ४५ करोड प्रत्यक्ष लगानी भित्रिएको थियो। जुन नेपालमा रहेको कुल वैदेशिक लागनीको ३१.५ प्रतिशत रहेको थियो ।
विभागका अनुसार चालु आर्थिक वर्षको असार ६ गतेसम्ममा ३६ अर्ब ४९ करोड लगानी गर्ने प्रतिवद्धता चिनियाँ लगानीकर्ताहरुले व्यक्त गरेका छन् । २ सय वटा उद्योग स्थापना तथा ११ हजार सात सय ९८ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाएका छन् ।
चीन पछि स्पेन, संयुक्त राज्य अमेरिकी, भारत, सिगापुर, अष्ट्रेलिया, इटाली, बेलायत, ताइवान, नेदरल्याण्डसका लगानीकर्ताहरुले सबैभन्दा बढी लगानी प्रतिवद्धता जनाएका छन् ।
स्पेनले चार अर्ब ८५ करोड, अमेरिकाले तीन अर्ब ६९ करोड ८९ लाख, भारतले तीन अर्ब १४ करोड ३८ लाख,सिगापुरले एक अर्ब, अष्ट्रेलियाले ५० करोड ६६ लाख ,इटलीले ३६ करोड ,बेलायतले २६ करोड २५ लाख, ताइवान १२ करोड, नेदरल्याण्डसले १० करोड ६२ लाख उद्योग क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।
भारतले १२ वटा, अष्ट्रेलियाले चार वटा, इटलीलले पाँच वटा, स्पेनले एक वटा, अमेरिकाले १२ वटा, सिंगापुरले एक वटा, बेलायतले पाँच वटा, ताइवान, नदेरल्याण्डसले क्रमशः एक वटा उद्योगका लागि सो लगानी प्रतिवद्धता जनाएका हुन् ।
उद्योग स्थापना सँगै रोजगारीको प्रतिवद्धता गरेका ती मुलुकहरु मध्ये भारतले छ सय ६३ जना, अमेरिकाले छ सय २६ जना, सिंगापुरले एक सय ५७ जना, इटलीले दुई सय ५४ जना, अष्ट्रेलियाले एक सय ८८ जना, बेलायतले एक सय ९३ जना, ताइवानले ७७ जना, नेदरल्याण्डसले ५३ जना र स्पेनले २९ जनालाई रोजगारी दिने बताएका छन् ।
गत आर्थिक वर्षको सोहि अवधिमा पनि चीन, सिंगापुर, अमेरिका, भारत, बेलायत लगायतका मुलुकबाट उद्योग स्थापनाका लागि लागानी प्रतिवद्धता आएका थिए ।
कोभिड–१९ कारण अवस्था सामान्य बन्न नसक्दा उक्त अवधिमा कम लगानी आएको बताइएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उनीहरुले ३८ अर्ब ५८ करोड ६५ लाख लगानी प्रतिवद्धता जनाएका थिए । सो लगानी प्रतिवद्धता एक सय ७३ वटा उद्योग तथा पाँच हजार तीन सय ३० जनालाई रोजगारी दिने उद्देश्य सहतिको प्रतिवद्धता हो ।
गत आर्थिक वर्षको सोहि अवधिमा क्रमशः चीन २१ अर्ब चार करोड ५० लाख, सिंगापुर १० अर्ब ४३ करोड ७४ लाख, अमेरिका एक अर्ब ८८ करोड, भारत ८२ करोड ,बेलायत २५ करोड ५५ लाख र ताइवानका लागानीकर्ताहरुले पनि २५ करोड उद्योग क्षेत्रमा लगानी प्रतिवद्धता व्यक्त गरेका थिए ।