१७ बैशाख, २०८१ सोमबार

08:46:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धार्मिक रामायण कालीन सर्किट जोेड्ने रेल बिहीबार जनकपुरमा

Nepal Business

९ असार, २०७९

भारत गौरव पर्यटक रेल ५०० जनाको हाराहारीमा पर्यटक बोकी बिहीबार जनकपुरधाम पुगेको छ ।

धार्मिक रामायण कालीन सर्किट जोेड्ने रेल बिहीबार जनकपुरमा

धनुषा । भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले मंगलबार दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई उद्घाटन गरेको भारत र नेपाल जोड्ने पहिलो भारत गौरव पर्यटक रेल  ५०० जनाको हाराहारीमा पर्यटक बोकी बिहीबार जनकपुरधाम पुगेको छ ।

उक्त पर्यटक रेलको उद्घाटनसँगै आईआरसीटीसी भारत गौरव पर्यटक रेल अन्तर्राष्ट्रिय सीमा पार गरी समग्र रुपमा पर्यटनको प्रवद्र्धन गर्ने पहिलो रेल सेवा हुने जनाइएको छ । 

रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी (नासिक), हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई पनि पहिलो पटक जोड्दैछ ।

उक्त रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदा लगायतका बहुरुपी झल्को देख्न सकिने काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदा स्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भूत रचनालाई प्रवद्र्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगल कालिन प्राचीन संरचना लगायत गुजरातमा अवस्थित स्टयाच्यू अफ यूनिटी, दिल्लीमा रहेको नेसनल वार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्बिरले सजाइएका छन् । 

यस रेलको दुईवटा डिब्बालाई हालका वर्षहरुमा विश्वभर प्रचलित विशेष रुपमा योग सम्बन्धी तस्बिर तथा सामग्रीले सजाइएको पनि दूतावासले जनाएको छ ।

उक्त रेलमा १४ वटा डिब्बा छन् । जसमध्ये केही डिब्बाका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवर्धन गर्ने किसिमका सामग्री देख्न सकिन्छ । यस नयाँ रेलको सञ्चालनले भारत र नेपालको पर्यटनमा टेवा पु¥याउने अपेक्षा गर्दै भारतीय दूतावासले यसबाट रामायण सर्किटको प्रवद्र्धनमा पनि विकास हुने जनाएको छ ।

लामो समयदेखि प्रतिक्षारत यस रेलको शुभारम्भमा नेपाल–भारत उद्योग वाणिज्य संघले खुसी व्यक्त गरेको छ । नयाँदिल्ली–जनकपुरधाम जोड्ने ‘भारत गौरव पर्यटक रेल सेवाको सुरुवात भएको अवसरमा स्वागत गर्दै नेपाल–भारत उद्योग वाणिज्य संघले रामायणसँग सम्बन्धित भारतीय क्षेत्रमा रहेका विभिन्न क्षेत्रहरु भएर नयाँदिल्लीको सफदरजंगबाट सीतामाताको जन्मस्थल नेपालको जनकपुरधामसम्म जोडेर शुरु गरिएको उक्त धार्मिक पर्यटकीय रेलसेवाको शुरुवातले नेपाल–भारत धार्मिक सांस्कृतिक सम्बन्धलाई मजबूत बनाउन अझ थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

दुई देशबीच धार्मिक पर्यटन प्रवद्र्धन गर्न संघले सन् २०१८ को जुलाई ८ मा काठमाडौंमा सम्पन्न नेपाल–भारत पर्यटन प्रवद्र्धन संयुक्त कार्यदलको बैठकमा पनि यस रेलको प्रवद्र्धन गर्ने विषयमा दुबै पक्षबीच सहमति भए बमोजिम हाल नेपाल–भारत धार्मिक–आध्यात्मिक सर्किटको विकास गर्दै सो विषयमा कफीटेबल पुस्तक तथा वेबसाइट निर्माणको अन्तिम चरणको काम भइरहेको पनि संघको भनाइ छ ।