१९ माघ, २०८१ शनिबार
11:35:12 PM
८ असार, २०७९
काठमाण्डौं । कोरोना महामारीको संक्रमणमा कमि आएसँगै वैदेशिक रोजगारीका लागि नेपाल छाड्नेको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठ महिनामा वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिनेको संख्या ३०.३३ प्रतिशतले बढेको छ ।
जेठ महिनामा ५७ हजार ७८३ जनाले वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका छन् । गत बैशाख महिनामा ४४ हजार ३३३ जनाले पहिलो श्रम स्वीकृति लिएका थिए ।
विभागका अनुसार श्रम स्विकृति लिएकाहरुमध्ये ५० हजार २६९ जना पुरुष र ७ हजार ५१४ जना महिलाले युरोप र खाडी मुलुकमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका हुन् । यस अवधिमा मलेसियाका लागि पहिलो श्रम स्वीकृृति लिनेहरुको संख्या सबैभन्दा बढी रहेको छ ।
विभिन्न मेनपावरबाट मलेसिया जानका लागि १९ हजार २३८ जनाले पहिलो श्रम स्विृकृति लिएको विभागले जनाएको छ ।
वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिने दोस्रो देशमा साउदी अरेबिया रहेको छ । यस अवधिमा साउदी जानका लागि ६ हजार १५८ जनाले पहिलो श्रम स्विकृति लिएका छन् ।
यस्तै विभागका अनुसार कुवेत जानका लागि श्रम स्वीकृति लिनेहरुको संख्या ८ हजार ४९३ रहेका छन् ।ओमानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ४०६ जना, कतारका लागि ५ हजार २३६ जना, मौरिससका लागि १५० जना, रोमानियाका लागि २ हजार २३२ जना रहेका छन्।
युएई जानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ८ हजार ५८१ जना रहेका छन्।
यस्तै साइप्रसका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ४ सय रहेको छ भने बु्रनाइका लागि २१५ जना रहेका छन् ।
यसैगरी पहिलो स्वीकृति लिइ अल्बानिया जानेहरुमा ८५५ जना रहेका छन् । जापान जान पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ६९, जोर्डनका लागि ८ जना र बहराइन जानेमा १ हजार २६२ जनाले पहिलो श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ।
यसैगरी वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति लिएकाहरुमा २९ हजार ३८२ जना रहेका छन् । जसमा पुरुष २६ हजार ३९ जना र महिला ३ हजार ३४३ जनाले अन्तिम स्वीकृति लिएका हुन् ।
अन्तिम श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेशागत, सिप भएका र सिप नभएका कामदारहरुको संख्या ६२ हजार ३४९ रहेको छ । जसमा ५६ हजार ५७७ जना पुरुष र ५ हजार ७७२ जना महिला रहेका छन् ।
विभागका अनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकाहरुमा दक्ष कामदारको संख्या १०, पेशागत कामदारको संख्या ४५, अर्धदक्ष कामदारको संख्या ४ हजार ७ सय सिप युक्त कामदारको संख्या ३२ हजार ६३१ र सिप नभएका कामदारहरुको संख्या १९ हजार १९३ रहेको छन् ।