१९ माघ, २०८१ शनिबार

11:38:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारको व्यवस्था गर्न गगन थापा र विश्वप्रकाश शर्माको माग

७ असार, २०७९

“विदेशमा रहेका ४० लाख नेपालीको नोटमात्र नभएर भोट पनि प्रयोगमा ल्याउनका लागि हामीहरुले पार्टीका तर्फबाट निर्वाचन आयोगको ध्यानाकर्षण गरेका हौँ”

विदेशमा  रहेका नेपालीलाई मतदानको अधिकारको व्यवस्था गर्न  गगन थापा र विश्वप्रकाश शर्माको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था  गर्न माग गर्नुभएको छ ।
    
महामन्त्रीद्वय थापा र शर्माले आज (मंगलबार) प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको बारेमा आदेश दिइसकेकाले सोहीअनुसार निर्णय गर्न आयोगको ध्यानाकर्षण गराउनुभएको हो ।

कांग्रेसको केन्द्रीय कार्यसमितिमा समेत विदेशमा बसेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्नेबारे निर्णय भइसकेको भन्दै निर्वाचन आयोगले उक्त कार्यको लागि आवश्यक पर्ने ऐन, कानुन निर्माणमा अग्रसरताका लागि  विभिन्न राजनीतिक दल र सरकारसँग सहयोगमा अगाडि बढ्न आग्रह गरिएको महामन्त्री शर्माले जानकारी दिनुभयो ।

“विदेशमा रहेका ४० लाख नेपालीको नोटमात्र नभएर भोट पनि प्रयोगमा ल्याउनका लागि हामीहरुले पार्टीका तर्फबाट निर्वाचन आयोगको ध्यानाकर्षण गरेका हौँ”, महामन्त्री शर्माले भन्नुभयो ।

निर्वाचन आयोगले असार १ गतेदेखि देशैभरि मतदाता नामावली सङ्कलन कार्य अगाडि बढाएकाले मतदाता सङ्कलनको क्रममा देखिएको भीडलाई कम गरी सबै स्थानीय तहमा मतदाता नामावली सङ्कलन केन्द्र स्थापना गर्न माग गरेको अर्को महामन्त्री थापाले बताउनुभयो ।

“काठमाडौँमा रहेका देशभरका मतदाताको नामावली सङ्कलन काठमाडौँबाट गर्न मिल्ने व्यवस्था भएको छ, यो राम्रो कार्य हो, काठमाडौँमा भएको भीडभाडलाई कम गर्न काठमाडौँको अलग्गै र काठमाडौँ बाहिरका व्यक्तिको अलग्गै नामावली सङ्कलन गर्ने वातावरण निर्माण गर्न हामीले प्रमुख निर्वाचन आयुक्तसमक्ष अनुरोध गरेका छौँ”, महामन्त्री थापाले भन्नुभयो ।

यस्तै, भेटमा निर्वाचनलाई कसरी स्वच्छ, पारदर्शी, मितव्यायी र कम खर्चिलो बनाउने भन्ने बारेमा समेत छलफल भएको महामन्त्रीद्धयले बताउनुभएको छ ।